काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छन् ।
कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ठ भएर पुरा गर्न निर्देशन दिइन् ।
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्ज समेत रहेका मन्त्री भुसालले कर्मचारीमैत्री सङ्घीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कर्मचारीको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्न र गणतन्त्रको संस्थागत गर्न कर्मचारीहरू आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिइन् । उनले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी जनतालाई गुणस्तरीय सेवा दिन समेत उनले आग्रह गरिन् ।
अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठनबिच गत वैशाखमा एकीकरण भएको हो । सो कार्यक्रमका कर्मचारीका नेताहरूले श्रमजीवी कर्मचारीको श्रमको सम्मान नभएको र सङ्घीय निजामती ऐन कर्मचारीमैत्री ल्याउनुपर्ने माग गरेकी थिइन् ।