मुलुकको विकासमा कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

मुलुकको विकासमा कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

२०७९, भाद्र २२ बुधवार

  • 745
    SHARES

  • मुलुकको विकासमा कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।  

    उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्री देउवाले १९ औँ निजामती सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । 

    उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । “हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उनले भने, “तर कर्मचारी(तपाई)हरू स्थायी सरकार हो । मुलुक बनाउने तपाईँहरूको हातमा रहेको छ ।” उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे । 

    कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताए । उनले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए ।  

    “ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उनले भने, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमार्फत काम हुनुपर्दछ । ” 

    उनले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने बित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ । 

    मुख्य सचिव शङ्करदास वैरागीले विगतका कमीकमजोरी औँल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताए । 

    “निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अलमलिने, ढिलो गर्ने छुट छैन”, उनले भने, “कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।” उनले जनस्तरमा मुलुकको विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको भनाइ राखे । 

    सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताए ।

    नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अस्थायी सरकारले स्थायी सरकारलाई हस्तक्षेप गर्दा मुलुकको विकास निर्माणमा बाधा पुगेको बताए । 

    उनले चार वर्षदेखि सङ्घीय निजामती ऐन अड्किएको भन्दै यसै संसद्को अधिवेशनबाट पारित गराउनुपर्ने धारणा राखे । 

    कार्यक्रममा गत आर्थिक वर्षमा निजामती कर्मचारी पुरस्कारबाट सम्मानित भएकालाई यसवर्ष प्रधानमन्त्री देउवा र सामान्य प्रशासन मन्त्री श्रेष्ठले ताम्रापत्र प्रदान गरेका थिए । 

    कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ । 

    यसवर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनस् विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।

    २०७९, भाद्र २२ बुधवार०२:१४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार