बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

२०७९, भाद्र २६ आइतवार

  • 805
    SHARES

  • बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

    दार्चुला । यहाँको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बाङाबगड क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समेत साथ दिएका छन् । 

    शुक्रबार आएको लास्कुखोलाको कटानले बाङाबगड बस्ती विस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुङ्गा बोकेर स्थानीयलाई साथ दिँदै छन् ।

    शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका उनी लास्कु खोलामा ढुङ्गा बोकेर साथ दिइरहेका छन् । 

    प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकालीका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा (एमाले)का जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय र युवा विद्यार्थीले बिहानैदेखि तारजाली लगाएर बाङबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् । 

    बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बडूले बताए । उनले भने, “अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौँ ।” नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौँ घर तथा पसलमा क्षति हुने देखिन्छ । 

    बाङाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले बताए । स्थानीयको सहभागितामा बिहान ६ बजेबाटै ढुङ्गा जाली भर्न थालिएको छ । माथिल्लो बाङाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था रहेको छ । 

    बेपत्ता १० जना अझै भेटिएनन्, खोजीकार्य जारी

    शुक्रबार राति देखिको अविरल वर्षा र बाढी पहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका दश जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता छन् ।  

    महाकाली–३ का धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमति शाहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले बताए । 

    महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको छ । उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरेर खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ । 

    अहिलेलाई पीडितलाई त्रिपाल दिइएको छ । अस्थायी बसोबासको प्रबन्ध भइरहेको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन् ।

    २०७९, भाद्र २६ आइतवार०१:४३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार