समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

२०७९, आश्विन ६ बिहिवार

  • 557
    SHARES

  • समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रूपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । 

    सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन् । 

    मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जबाफदेही भई काम गर्न आग्रह गरिन् । 

    उनले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । 

    मन्त्री रेग्मीले मुलुक सङ्घीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन् । 

    परिषद्बाट गरिने सेवालाई सहज र छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

    परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरूप परियोजना सञ्चालन गर्ने गरी सङ्घ संस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुआत गरिएको उनले जानकारी दिइन् ।

    ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घ संस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको हो । 

    कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले मुलुकको सर्वाङ्गीण विकासमा सामाजिक शक्ति परिचालन गरी सरकारको प्राथमिक लक्ष्य हासिल गर्न गैरसरकारी संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए ।

    उनले एकद्वारा सूचना प्रणालीको विकास गर्दै प्रभावकारी अनुगमन सुशासन कायम गर्न सरोकारवाला संस्था गम्भीर हुनुपर्ने बताए । सचिव शर्माले नीतिगत कानुनी र संरचनागत सुधार गरी गैरसरकारी संस्थाको कार्यक्षमतालाई व्यवस्थित र पारदर्शी बनाइनुपर्नेमा जोड दिए ।

    परिषद्का सदस्यसचिव मनोज भट्टले नेपाल सरकारको विकास अभियानलाई साकार तुल्याउन गैरसरकारी संस्थामार्फत हुने लगानी/भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा सुनिश्चित गर्न परिषद् लागि परेको जानकारी दिए । 

    उनले गैरसरकारी संस्थाका काम स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा गर्ने, कामलाई निष्पक्ष, पारदर्शी र जबाफदेही बनाई एकद्वारा नीतिअनुरूप व्यवस्थित बनाइने बताए ।

    दिवसका अवसरमा भृकुटीमण्डपमा एक दिवसीय प्रदर्शनी आयोजना गरिएको छ । एक सय प्रदर्शनी कक्षमा सामाजिक संस्थाले समाजमा गरेका विकास र उत्पादन सामग्रीको ‘डेमो’ प्रदर्शन गरिएको छ । 

    तिलगङ्गा आँखा अस्पतालले पनि आँखा दान महादान अभियान सुरु गरेको छ । उक्त प्रदर्शनी कक्षको प्रधानमन्त्री देउवाले उद्घाटन गरे । 

    सोही अवसरमा प्रधानमन्त्री देउवाले समाज कल्याण परिषद्को ‘डिजिटल पोर्टल’ शुभारम्भ गरे । परिषद्ले अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोर्टलमार्फत अनलाइनबाट गैरसरकारी संस्था दर्ता, नवीकरण र कार्यालयका सबै कागजात अभिलेख राखिने जनाइएको छ ।

    आर्थिक वर्ष २०७८/७९ को अन्तसम्म परिषद्मा आबद्ध कूल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ वटा रहेका छन् भने दुई सय हाराहारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् ।

    २०७९, आश्विन ६ बिहिवार०२:३८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार