मकवानपुर । आज दिउँसो भएको मकवानपुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ भने २४ जना घाइते भएका छन् ।
६ जनाको घटनास्थलमानै र १ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना भएको हो ।
बस दुर्घटनाग्रस्त हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो । मृतक सबै पुरुष भएको र ३० देखि ४० बर्ष उमेर समूहको रहेका छन् भने घुमाउरो बाटोमा दुर्घटना हुँदा बस ५० मिटर तल तल्लो सडकमा खसेको थियो ।
दुर्घटनामा घाइतेहरूलाई अस्पताल पठाइएको साथै मृतकको सनाखत हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।