काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ ।
नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुँदै छ । समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा राजनीतिक दलले बुझाइसकेका छन् । तर, गठबन्धनभित्र रहेका दलबीच प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलाग्दै प्रमुख चार दलभित्र आन्तरिक झगडा बढ्दै गएको हो ।
काँग्रेस नेता शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित सिट बाँडफाँट गर्नुपर्ने र पार्टीभित्र आफ्नो समूहलाई टिकट वितरणमा भेदभाव गरेमा विद्रोह गर्ने चेतावनी दिनुभएको छ ।
काँग्रेसले सय सिट पाउनैपर्ने र पार्टीभित्र सो सिटको बाँडफाँट न्योचित रूपमा हुनुपर्ने अडान कोइराला समूहको छ ।
शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँट पार्टी नेतृत्वलाई चेतावनी मात्रै दिएनन्, न्यायोचित ढंगले टिकट वितरण नभए विद्रोह गर्ने खुला चुनौती पनि देउवालाई दिएका छन् ।