काठमाडौँ । बडादशैँको नवौँ दिन मङ्गलवार(आज) दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ ।
महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगेर चढाइने गरिन्छ ।
आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। महानवमीका अवसरमा कोतमा हर्षबढाइँका साथ कोत पूजा र निशाना पूजा पनि गरिन्छ।
पशु बलि नदिनेले भने आज आ-आफ्नो कुल परम्पराअनुसार कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई चढाउने गर्दछन्।
हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन छ।
हनुमान ढोकामा रहेको तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ। वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।