एक सातापछि मनसुन बाहिरिने

एक सातापछि मनसुन बाहिरिने

२०७९, आश्विन २२ शनिवार

  • 717
    SHARES

  • एक सातापछि मनसुन बाहिरिने

    काठमाडौँ  । नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापि, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । 

    अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। 

    जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरु भएको थियो ।

    हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केही दिन लम्बिएको मौसमविद् पौडेलले बताए । उनले भने, “मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।”

    अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की)लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रित रहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ । मनसुन रहँदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन ।

    महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । 

    २०७९, आश्विन २२ शनिवार०५:४६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार