बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्के लेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ ।
जनजीवन प्रभावित
लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
बुधबार रातिदेखिको लगातारको वर्षाले यहाँका जनजीवन प्रभावित भएको हो ।
वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन् ।