गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

२०७९, कार्तिक ४ शुक्रवार

  • 853
    SHARES

  • गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

    गण्डकी ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

    पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे ।

    यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशितालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, “सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।”

    प्रधानमन्त्रीले गठबन्धनले जित्नुपर्ने आवश्यकता छ भने । गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उनले बोली तथा व्यवहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए । वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उनको भनाइ थियो । 

    22.jpg

    गठबन्धनमा सबैको जीत भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए । निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले नपायो त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उनले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गरे ।

    नेपालमा विसं २००७ देखिका विभिन्न परिवर्तन हुँदै गणतन्त्र, समावेशी लोकतन्त्र जस्ता उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको बताए । 

    गण्डकी प्रदेशमा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको र यसले यहाँको सम्भावनालाई पनि थप उजागर गरेको प्रधानमन्त्री देउवाले बताए । 

    कला, संस्कृतिलगायतका धेरै विविधता रहेको यस मुलुकको समृद्धि र विकास अबको आवश्यकता भएको बताउँदै उनले संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जीत अपरिहार्य भएकामा जोड दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताए । संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे।

    उनले भने, “सत्ता प्राप्ति र निर्वाचन जित्नका लागि मात्र गठबन्धन बनेको होइन । बृहत्तर उद्देश्यका साथ सङ्घर्षको मैदानमा जन्मिएको गठबन्धन हो, स्थिरता, विकास र समृद्धिबाहेक यसको अर्को उद्देश्य छैन ।”

    उनले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन अघि आएको बताउँदै सत्ता प्राप्तिका लागि मात्र हो कि भनेर सोच्न नहुने उल्लेख गरे । जनताको जीवनस्तरमा परिवर्तन, संविधान रक्षाको सुनिश्चितता, निरङ्कुश प्रवृत्तिको अन्त्य र आर्थिक विकासको युग सुरु नहुँदासम्म गठबन्धन कायमै रहने उल्लेख गरे । 

    अध्यक्ष दाहालले गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवारलाई विजयी गराउने कार्यमा लाग्न सबै पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनले देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भन्दै दाहालले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

    उनले भने, “गठबन्धनको अर्को मित्रलाई भोट नहाल्नु मित्रप्रतिको घात हुन्छ । गठबन्धनका दलले इमानदारीपूर्वक एकअर्काको चिन्हमा भोट हाल्नुहोला ।” 

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरे । उनले गठबन्धन दल किन बनायौँ भनेर जनतामाझ जाँदा बुझाउन आग्रह गरे । 

    उनले भने, “विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् ।”

    अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पारे । 

    विपक्षी गठबन्धनलाई गणतन्त्र, सङ्घीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर छ । जनतालाई न्याय दिन, समानता स्थापित गर्न र देशलाई विकासको बाटोमा लैजाने काम गठबन्धनको सरकारले गरेको उनले बताए । 

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका कार्यदल संयोजक रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताए । 

    संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनेको गठबन्धन संविधान र राष्ट्र विरोधी प्रतिगामी शक्तिका विरुद्धमा रहेको बताउँदै उहाँले त्यसलाई परास्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । गठबन्धन सरकारमा जाने मात्र नभई राष्ट्रको समृद्धि र विकासका लागि भएको उनको भनाइ छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनमा दलबीचमा सिट सङ्ख्या भागबण्डा गर्दा स्वाभाविक रुपमा सबैले टिकट पाउने अवस्था नहुने कुरालाई आत्मसात् गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

    राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय कार्यकारी समितिका अध्यक्ष रश्मीराज नेपालीले विभिन्न विमतिका बाबजुद गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक भएकामा जोड दिए । प्रतिगामी शक्तिले जित्दा अराजकतासँगै र विदेशी शक्तिको प्रभाव बढ्ने हुँदा गठबन्धनका उम्मेदवारले जित्नु अपरिहार्य भएको उनले बताए ।

    नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्राप्त उपलब्धिको रक्षासँगै विकासका लागि गठबन्धनको विजय आवश्यक भएको धारणा राखे । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गठबन्धन दलका प्रदेशस्तरीय कार्यकर्ताको भेलाले गठबन्धनको चुनावी गतिविधिलाई थप बलियो बनाउन महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

    नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठले गठबन्धनका उम्मेदवार भएका स्थानमा परेका बागी उम्मेदवारीलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

    नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले गठबन्धनको यो अभियान निरंकुशतालाई सधैँ पराजित गर्ने अभियानका रुपमा रहेको बताए । 

    २०७९, कार्तिक ४ शुक्रवार०४:३३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार