काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर.थम्प्सनले शिष्टाचार भेट गरेका छन् ।
अर्थ मन्त्रालयमा मङ्गलवार बिहान भएको भेटमा अर्थमन्त्री शर्माले नेपाललाई सङ्कटका बेला गरेको सहयोगप्रति राजदूत थम्प्सनमार्फत् अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे ।
‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, अर्थमन्त्रीले भने । अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए ।
युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे ।
त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्नुहुँदै अर्थ मन्त्री शर्माले त्यसमा अमेरिकी सरकारको तर्फबाट सहजीकरण गरिदिन आग्रह पनि गरे ।
भेटमा मन्त्री शर्माले नवनियुक्त राजदूत थम्प्सनलाई उनको नेपाल बसाई सुखद होस् भन्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
अर्थमन्त्री सँगको भेटमा नव नियुक्त अमेरिकी राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए ।
उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिकी सरकार कटिबद्ध रहेको बताए । ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, राजदूत थम्प्सनले भने । भेटका अवसरमा उनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको समेत बताए।