शहर सौन्दर्यीकरणको परिकल्पना र प्रेम प्रसादको आत्मदाह

शहर सौन्दर्यीकरणको परिकल्पना र प्रेम प्रसादको आत्मदाह

२०७९, माघ १३ शुक्रवार

  • 4.2K
    SHARES

  • शहर सौन्दर्यीकरणको परिकल्पना र प्रेम प्रसादको आत्मदाह

    आधुनिकताको प्रभाव सँगसँगै ठूलो, राम्रो, सफा घर, आँगन, बस्ती र शहरको कल्पना, रहर वा आबश्यकता महसुस गर्नु समय-सापेक्ष कुरा हो । अहिले नेपालमा पनि शहरहरुलाई कसरी सुन्दर बनाउने भन्ने सम्बन्धमा होडबाजी नै चलेको छ ।

    संचार माध्यमहरुको सहजताले जगाएको युवा पुस्ताको चाहना र केही समय विदेश बसेर फर्किएका माध्यम बर्गमा आधुनिक शहर निर्माणको उत्कट चाहनाले गर्दा आधुनिक भौतिक संरचनाहरुको निर्माण तर्फ चिन्ता र चासो बढ्दै गएको छ । संचारका बिभिन्न माध्यमहरु मा प्रतिक्षण देखिने नयाँ-नयाँ दृश्य र तस्बीरहरु र विदेश घुमेर आएका बुज्रुकहरूले त झन् बिदेसी शहर सौन्दर्यको अतिशय प्रशंशा गर्दै पोष्ट गरेका सुन्दर तस्बीरहरुले त नागरिक आकांक्षा लाई सातौँ आसमान मै पुरयाएको छ ।

    हाम्रा शहरहरुको सौन्दर्यीकरण गर्ने बिचार आफैमा सुन्दर बिचार हो भन्नेमा अत्युक्ति नहोला । तर सौन्दर्यीकरण भनेको के हो र कसरी गर्ने भन्ने सन्दर्भ हाम्रा लागि एक महत्वपूर्ण प्रश्नको रुपमा खडा भएको छ । भौतिक सौन्दर्यलाई बिस्तारित गर्न मानवीय सौन्दर्यको अभिवृद्धि तर्फ ध्यान दिन सकिएन र आधुनिक बनाउने नाउँमा प्राचीनता र सांस्कृतिक पक्षलाई संरक्षण गर्न सकिएन भने जतिसुकै प्रयत्नले पनि बास्तविक अर्थमा शहरहरुलाई सुन्दर बनाउन कसरी सम्भव होला ?

    हाम्रो जस्तो पिछडिएको मुलुकमा असौन्दर्य र कुरुपताको प्रमुख कारण गरिबी, अशिक्षा, असमानता र बेथिति नै हुन् । न्यायोचित रुपमा सबैका लागि वृत्ति बिकासका समान अवसर सृजना नगर्दा सम्म हामीले भन्ने गरेको शहरी सौन्दर्यको परिभाषाले पूर्णता पाउला त ? हाम्रो ध्यान प्राय: ठूला र चर्चामा आउने, मिडिया माइलेज बोक्ने खालका समाचार प्रति मात्रै
    आकर्षित हुने गरेको छ ।

    योजनाबद्ध र गुणस्तरीय भौतिक निर्माणको अभावमा सहरको सौन्दर्यीकरण बास्तबिक रुपमा अनुत्पादक लगानीमा परिणत भएको छ भने सौन्दर्यीकरणका सम्बन्धमा परिपक्व धारणाहरु बनेका देखिन्नन् । क्रमश: जटील बन्दै गएको जीवनशैलीले गर्दा सामाजिक सुधार नै पनि कहाँ बाट शुरु गर्ने हो भेउ पाउन गाह्रो छ ।

    गत माघ १० गते मंगलवार दिउँसो सामाजिक सन्जालमा अचानक एउटा दृश्य भाईरल भयो । काठमाडौंको नयाँ बानेश्वरको बीच सडकमा एकजना व्यक्तिले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै गरेको र लगत्तै आगोको लप्काले ती व्यक्तिको सम्पूर्ण शरीर आगोको लप्कामा समाहित हुँदै गरेको दृश्य थियो त्यो ।

    उक्त दृश्यलाई प्रारम्भ देखि अन्त्य सम्म हेरी रहँदा आगो लगाउने व्यक्ति लाई शुरुमै रोक्न सकिने थियो भन्ने जो कोही लाई लाग्दछ । तिनको शरीर जलिरहँदा छेवै बाट गुडेका सुरक्षाकर्मीहरुको गाडी देख्दा तिनले किन बचाउने प्रयत्न किन नगरेका होलान् भन्ने लाग्छ । आखिर हामी कति संवेदनाहीन भईसकेछौँ । समाज कति परपीडक र तमासे भईसकेछ । एउटा मान्छे बिच सडकमा जलिरहेछ तर सुरक्षाकर्मी लगायतका मानिसहरु रमिते बनेर जलेको दृश्य र त्यो दृश्यको रोमान्चक अन्त्य पर्खिरहेका जस्ता देखिन्थे ।

    शुरुमा त यो घटनालाई एउटा दुख:द घटनाको रुपमा हेरियो । तर त्यसरी आत्मदाह गरेका व्यक्ति ईलामका ब्यबसायी प्रेम प्रसाद आचार्यले केही दिन अघि नै सामाजिक संजालमा पोष्ट गरेको भनिएको स्वीकारोक्ति पढेपछि भने तिनको आत्मदाह केवल एक दुर्घटना मात्रै नभई हाम्रो बर्तमान समाजमा व्याप्त शोषण र बेथितीको कुरुप तस्बीर हो भन्ने बुझ्न र तिनीप्रति सच्चा
    मनले श्रद्धाञ्जली अर्पण गर्न मन लाग्यो ।

    समग्र सौन्दर्य चेतनाप्रति जागरुक नभएका शेखचिल्लीहरु शहर सौन्दर्य अभिवृद्धि अभियानका बडे-बडे गफ हाँकीरहेका भेटीन्छन् । समाजको सौन्दर्य केवल भौतिक संरचनाको विशालतामा मात्रै होइन बरु मानव जीवनको सर्वांगीण पक्षको सुन्दरता संग जोडिएको हुन्छ भन्ने कुरामा यिनलाई बाल मतलब छैन । चोरी, पकेटमारी, डकैती गर्नेहरुलाई दण्डित गर्ने कानून छ ।

    तिनलाई नियन्त्रण गर्ने प्रहरी प्रशासनको संयन्त्र पनि छ । तर अहिले हाम्रो समाजमा सुकिला आवरणमा ठाँटिएका सम्मानित व्यवसायिक ठग र बेईमानहरुको बिगबिगी छ । तर तिनलाई दण्डित गर्ने गरी पर्याप्त कानूनी व्यवस्था र सामजिक सचेतनाको सम्प्रेषण भने भईसकेको देखिन्न । यसले गर्दा प्रेम प्रसाद जस्ता थुप्रै साना र ईमान्दार ब्यबसायीहरु आत्महत्या तिर उत्प्रेरित भएका देखिन्छन् ।

    गरीबी हटाउने प्रसंग बिर्सिएर गरिबलाई हटाउने कार्यविधिले शहर सुन्दर बनाउने भन्दा पनि समग्र मुलुकलाई नै फोहोर पो बनाउने हो कि? भौतिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबै पक्षहरुको समानुपातिक संयोजन गर्न नसक्दा शहरको सौन्दर्यीकरणमा गरिने लगानी खेर गएको अनुभूति आमरुपमा व्यक्त भएकै छन् ।

    ढलनिकास, जलनिकास, बिद्ध्युत, सडक आदि योजनाहरु संचालन गर्ने सरकारी निकायहरु बीच आपसी संयोजनको अभावमा सिमीत श्रोत र साधन भएका हाम्रो जस्तो मुलुकमा एउटै भौतिक संरचना निर्माणमा ठूलो धनराशी दोहोर्याई तेहर्याई खर्च हुने गरेको छ । सडक चौडा बनाईए तर अधिकांश ठाउँमा सडक बिचमा ठींग ठडिएका बिद्ध्युत र टेलिकमका खम्बाहरुले जिस्क्याई
    रहेको चाहिं देखिंदैन ?

    मूल चौबाटोमा परेको खाल्डाहरुले र सम्भावना भएकै ठाउँहरुमा समेत क्रसिंग ब्यबस्थापन गर्न नसक्दा सडक जाम भएकोमा ध्यान किन पुग्दैन ? खुइलिएका जेब्रा क्रसिंग रंगाउन जीर्ण बनेका आकाशे पुल मर्मत गर्न र एम्बुस थापीएका जस्ता सडकका खाल्डाखुल्डी पुर्न के ले रोकेको छ ? समयानुकूल सम्भावनाहरुको खोजी र सम्भाव्य उपायहरुको अबलम्बन गर्न जाँगर नदेखाउँदा महानगरको सम्पूर्ण ट्राफिक ब्यबस्थापन नै जर्जर बनेको छ ।

    शहरमा भीड बढ्यो भनेर चिन्ता जाहेर गरिन्छ तर सिंहदरबारकै प्रांगणमा बिशाल प्रशासकीय भवन निर्माणको प्रारूप तयार गरिन्छ । यस्तो अबस्थामा सम्बन्धित निकायका अधिकारीहरुलाई पटक्कै कुरी-कुरी किन नलागेको होला ? यस्तो विषम अवस्थामा शहरलाई पुर्याउने र कुरूप पार्ने काम चैं तिनै निमुखा फुटपाथ व्यापारीले नै बनाएका हुन् त ?

    आर्थिक उपार्जनका अबसरहरु ब्यबस्थित नगरी शहर सुन्दर बनाउँछु भन्नु “सुकुलगुन्डा” प्रवृत्ती मात्रै हो । पर्यटक भित्रिने सिजनमा त युरोपमा बर्लिन देखि पेरिस सम्म आम्स्टरडम देखि जुरीच सम्म अमेरिकाको सनफ्रान्सिस्को देखि बोस्टन सम्म यत्रतत्र सर्वत्र फुटपाथ ब्यबसायीहरुको मेला नै लागेको हुन्छ । एशियाली देशका बिभिन्न सहरहरू पनि यसका अपबाद छैनन् ।

    बिकसित देशका शहरहरुमा ब्यबसाय र ब्यबसायीहरुलाई प्रोत्साहित गर्न सरकारले अनेक उपाय अपनाएका हुन्छन् । दशौँ पटक देश–विदेशको सयर गरेका मूर्धन्य नेता/अभियन्ता, योजनाविद् र बिज्ञ महामहिमहरुले त देख्नु भएकै थाहा पाउनु भएकै त होला नी ! आम मानिसहरुका खु:सी र सु:ख तिनका दैनान्दिनका सामान्य समस्याहरु संग जोडिएका छन् ।

    तर पनि त्यसतर्फ हाम्रा सरोकारवाला निकायहरुको ध्यान जान सकेको भने देखिन्न । यसका थुप्रै उदाहरणहरु हाम्रा सामु रहेका छन् । सार्बजनिक स्थानहरुमा निर्माण कार्य गर्दा खनिएका खाल्डाहरु खुल्लै राखेर छाडीदिंदा तिनै खाल्डामा परेर हात-खुट्टा भाँचिएका र ज्यानै समेत गुमाउनु परेको, निश्चित समय भित्र निर्माण सम्पन्न नगर्दा बर्षौ सम्म नागरिकहरुले दुख: पाउनु परेको, ब्यबसाय चौपट भएर घरधनीलाई भाडा मात्र तिरेर दिक्क भएका साना ब्यबसायीहरुको सङ्ख्या र तिनले बेहोर्नु परेको पीडाको लेखाजोखा कसले गरेको होला ?

    धारामा पानी नआउँदा रातको निन्द्रा नै गुमाएर पानीको जोहो गर्न जाग्राम बस्नु परेको र अठाह्र घण्टा लोड सेडिंग बेहोर्नुपरेको र भर्खरै मात्र कोरोनाको मारबाट यस्सो तंग्रिने प्रयत्न गर्दै गरेको जनताहरु प्रति संबेदनशील कसले भईदिनु पर्ने ? न्याय दिने अधिकारीहरु बिकाउ भईदिंदा न्याय दिनुपर्ने निकायमा कार्यरत कर्मचारी नै अन्यायमा पर्नुपरेका घटनाहरु हाम्रो देशमा बग्रेल्ती छन् ।

    तजबिजी आधारमा नै धेरै कुराहरु चलेका छन् र अझै कति समयसम्म चलीरहने हुन् । सरकारले न्यूनतम पारिश्रमिकको दर निर्धारण गरिदिएको छ तर प्रकारान्तरले न्यून तलबमानमा श्रमिकलाई काममा लगाउने सार्बजनिक र संगठित संस्थाहरुको हामी कहाँ कुनै कमी नै छैन । आम नागरिकहरु हरेक ठाउँमा हरेक मोडमा ठगिएका र लुटिएका छन् । लुटेराहरु आजाद छन् । व्यक्तिगत रुपमा लुट्नेहरु को के कमी थियो र ! अब त संस्थागत रुपमा लुट्ने लुटेराहरुको जमात पनि बढ्दो छ ।

    लुटको प्रतिस्पर्धामा अब्बल ठहरिएकाहरु नै मुलुकमा सम्मानित जीवन जीउन पाएका छन् । सरकारको कुनै एक मन्त्रालय रोजगारी सृजना गर्ने लक्ष्य निर्धारण गर्छ र योजना बनाउँछ । अर्को निकाय भने त्यसको ठीक बिपरित योजना क्रियान्वयन गर्छ । हरेक बर्ष कागजी घोडाहरु कुद्छन् कागजमा, तथ्यांकमा रोजगारी बढ्छ तर न त खाडी जाने र मुग्लान पस्ने युवाहरुको लर्को घटेको छ न त शहरमा निमुखाहरुको रोजगारी खोस्ने जनप्रतिनिधिहरुको तुजुक नै ।

    ब्यबस्थापनमा भन्दा विस्थापनमा सफलताको चर्चा बटुल्ने नव-नायकहरु बिकास र समृद्धिका संवाहक बनेका छन् । बाबुले बोकेको सुन्तलाको भारी र आमाले बोकेको डोकोको साग नबिके घरमा चुलो जल्दैन तर तिनका छोरा छोरीहरु भने सडक-सडक, गल्ली–गल्ली तिनै आमा र बा का डोको-नाम्लो र बनिबुतो गरिखाने साधन खोस्ने र लुट्नमा बहादुरी देखाउनेहरुको समर्थनमा स्टाटस लेख्न व्यस्त छन् , आखिर शहर सुन्दर जो बनाउनु छ ।

    अबसरहरुको प्रचुरताले नै कुनै पनि शहर नगर र महानगर बन्दछ । कुनै बेला गुल्जार भएर ख्याती कमाएका तर आर्थिक गतिविधिहरु सुस्त भई ब्यबसायीहरु पलायन भएपछी मृतप्राय भएका थुप्रै मृत शहरहरु संसारमा अहिले पनि छन् । ती उमेर ढल्कीएकी नगरबधुले ग्राहक कुरे झैं गरी ती नगरहरु फेरी कुनै दिन गुल्जार हुने प्रतिक्षामा छन् ।

    शहर सम्पन्न मानिसहरुको क्रीडास्थल मात्रै होईन बरु आम जनमानसका लागि अनेक आर्थिक अबसरहरु सृजना गर्ने त्यस्तो सयन्त्र पनि हो जसले एकातिर जनजीवनलाई चलायमान बनाई जीवन्तता भर्दछ र अर्कोतिर नयाँ पुस्ताहरुमा भविष्यको सपनाको बीजारोपण गर्छ । त्यसैले शहर सफा हुनु जति जरुरी छ त्यति नै त्यसमा जीवन्तता हुनु पनि आबश्यक छ । व्यावसायिक जीवन्तता बिनाको सफा शहर र शान्त, सफा, हराभरा चिहान घारीमा कुनै अन्तर हुनेछैन ।

    ब्यबसाय र ब्यबसायी नफस्टाए त न रोजगारी नै बढ्छ न त आम्दानी नै । तर हामीकहाँ भने ब्यापारी र ब्यबसायीहरुलाई लखेटी-लखेटी हुर्मत लिनुमा र तिनलाई लुट्नुमा नै शहरिया सौन्दर्यको बीजमन्त्र लुकेको छ की भने जस्तै पो गर्दैछन् । बर्तमान मन्दी र आर्थीक संकटको कठिन समयमा यसो गर्दा आम नेपालीको रोजगारी र अवसर खोसिन्छ, मुलुक आर्थिक रुपले झन् जर्जर हुन्छ भन्ने यिनलाई कसले बुझाई दिने । शहरको सौन्दर्य गरीबी र अराजकताले उब्जाएका समस्याहरुको ब्यबस्थापनमा छ, गरीबहरुको विस्थापनमा होईन ।

    मल्लकालिन कान्तिपुरी नगरीको महिमा आज पर्यन्त हाम्रो सामु खडा छ । उतिबेला पनि ब्यबसायीहरुलाई खेदेर होइन बरु संरक्षण गरेर शहरको सौन्दर्य बढाउन सकिएको कुराको ईतिहास साक्षी छ । एकातिर स्थानीय स्तरमा उत्पादन गरिएका बस्तु र सामग्रीहरुको बजार नपाएर साना ब्यबसायीहरु पुर्पुरो ठोक्न बाध्य छन् । अर्कोतर्फ कतै सडक निर्माण, कतै ढल र जल सम्बन्धि निर्माण त कतै बिद्युत भूमीगत गर्ने जस्ता कहिल्यै समयमा सम्पन्न नहुने योजनाहरुले ब्यापार व्यवसाय खर्लप्पै सिध्याएको छ ।

    नाफा सुको छैन । नाफा नदेखाए ऋण पाइन्न । नाफा देखाए कर नतिरी धर छैन । करको बोझ र बैंकको ब्याजले आम ब्यबसायीहरुको ढाड सेकेको सेक्यै छ । बैंक, बीमा र अन्य संगठित सँस्थाका संचालकहरुको दायित्व सिमीत हुने तर सहकारी संस्थाका संचालकहरुले भने असीमीत दायित्व बहन गर्नुपर्ने प्राबधान किन? यस्तो व्यवस्थाले गर्दा हाम्रा नियम कानूनहरु दलाल पुंजिपतिहरुको पक्षपोषण गर्ने गरी निर्माण भएका छन् भन्ने प्रष्ट पार्दैनन् र?

    निर्यात छैन, अर्थतन्त्र संकट ग्रस्त छ भनिन्छ तर ठूला भनिएका उधमी / ब्यबसायी र बैंकहरुले अकूत नाफा कमाएकै छन् । सार्वजनिक सङ्घ-सँस्थाहरु नाम मात्रैले साना, मेहनती र ईमान्दार ब्यबसायी मैत्री छन् । ठूला भनिएका व्यवसायीहरु साना उद्यमीहरू संग सामान त लिन्छन् तर सामानको भुक्तानी समयमा प्राप्त गर्नु भनेको साना र मझौला ब्यबसायीहरुका लागि फलामको चिउरा चपाउनु जत्तिकै कठीन छ ।

    अघिल्लो खेपको सामानको भुक्तानी लिन पुन: अर्को खेपको सामान नदिई सुख्खै छैन । यसरी एक पटक कुनै ब्यबसायी बजारमा छिर्यो भने त्यसबाट उम्कन आफूले उठाउनु पर्ने रकम माया नमारी असम्भव जस्तै छ । भारतीय बजारमा उधारो कारोबारमा समेत कबुल गरिएको निश्चित समय भित्र रकम भुक्तानी नभए ब्याज सहित असूल-उपर गरिने कानूनी प्राबधान छ ।

    ब्याबसायिक बिबाद निरुपण गरिदिने छुट्टै निकाय र त्यस सम्बन्धि कानून पनि छ । तर नेपालमा त्यस्तो कानूनी कुनै व्यवस्था नभएकोले गर्दा सोझा-सीधा ब्यबसायीहरुलाई फँसाएर धूर्त ब्यबसायीहरुले दुख: दिएको अवस्था छ । यथेष्ट र उपयुक्त कानून र नियमनकारी निकायको अभावमा समयमा भुक्तानी नदिने र दिनै परे पनि अनेकौं बिंगा लगाएर म्याद गुज्रीए पछि सामान फिर्ता लैजा भन्ने जस्ता गतिविधिले साना व्यवसायीहरु आक्रान्त छन् ।

    वर्दी लगाएका र सरकारी परिचयपत्र भिरेका लुट प्रसादहरु बाट प्रेम प्रसाद आचार्य जस्ता सोझा ब्यबसायी लुटिएकै छन् । उनले आत्मदाह गर्न बिबश हुनुपरेको थुप्रै कारणहरु मध्धेको एउटा कडी यो पनि हो भनेकै छन् । समय छँदै व्यावसायिक नैराश्यता नियन्त्रणका लागि कानूनी व्यवस्था गर्न नसके थुप्रै सोझा उद्यमी ब्यबसायीहरुले आत्महत्या गर्नुपर्ने अवस्था आईरहने छ ।

    सरकारी निकायहरु बाट समयमा रकम भुक्तानी त्यो पनि नजराना नचढाई (?) त कल्पनै नगर्दा हुन्छ । यसले गर्दा सबैले मिलेमतोमा नै काम गर्ने हुँदा यथार्थ बजार मूल्य भन्दा सार्वजनिक खरिदको लागत शत् प्रतिशत भन्दा पनि निकै बढी हुने गर्दछ । नेपाली बजारमा दलाली अवस्था राम्रै बुझेका कम्पनी तथा फर्मका धूर्त संचालकहरुले आफ्नो सामानको छपाई मूल्य (Printed Price) अर्थात् आजभोलिको ब्याबसायिक भाषामा अधिकतम खुद्रा मूल्य (MRP) नै धेरै गुणा बढी राखेका हुन्छन् ।

    अधिकांश नगदमा किन्ने ग्राहकले छापिएको मूल्यमा ४०/५० प्रतिशतले छुट पाउँछन् तर सार्वजनिक निकायले गर्ने खरीद भने निकै महँगो मूल्यमा हुने गर्दछ । यसैको सीको खुद्रा व्यापारीहरुले पनि गरेका छन् । यसले गर्दा समग्र ब्याबसायिक बातावरण नै धुमिल भएको छ । सार्वजनिक निकायमा १५ प्रतिशत कमिशन त बर्तमान समयको स्थापित सत्य नै बनी सकेको र ब्यबसायी समाजले नैतिक धरातलमा समेत यसलाई सामान्य ब्यबहारको रुपमा बुझिसकेको अवस्था छ ।

    धेरैजसो आयातित ब्रान्डेड बस्तुहरुमा त कालाबजारी नै छ भन्न सकिने अवस्था छ । फर्स्ट क्वालिटी भनेर बिक्री मूल्य लिइने अधिकांश बस्तुको सट्टामा सेकेन्ड वा थर्ड क्वालिटीको सामान बेच्नु वा रिफर्बिश्ड सामान ग्राहकलाई भिडाउनु त सामान्य जस्तै भईसकेको छ । पार्किङ नभएर ब्यापार भएन भन्ने आम ब्यबसायीहरुको गुनासो छ ।

    तर भएका पार्किङलाई ब्यबस्थित बनाउने उपाय नखोजी महानगरले भने पार्किङ नै हटाई दिने उपाय अपनाएको देखिन्छ । हिजोआज दरबार मार्गको पार्किङ हटाईएको छ । हिजो सम्म गुल्जार देखिने त्यहाँका पसल र रेस्टुराँहरुमा अहिले चरोमुसो देखिन्नन् । लाखौँ-करोडौं लगानी गरेका व्यवसायीको लगानी के हुने ?

    एक ब्यबसायीले ५ जना कामदारलाई रोजगारी दिएको छ भने १:५ को अनुपातमा हेर्नुस त्यहाँको ब्यबसाय बिग्रंदा कतिले प्रत्यक्ष र कतिले अप्रत्यक्ष रोजगारी निकट भविष्यमा गुमाउने छन् होला । यो त एक प्रतिनिधी उदाहरण मात्रै हो । निषेध गर्न जति सजिलो छ ब्यबस्थापन गर्न त्यति सजिलो नहोला । तर सरोकारवाला निकायले अभिभावक बनीदिनु पर्ने होईन ?

    शहर ब्यबस्थित गर्न अतिक्रमित घर टहरा भत्काउनु हुन्न र जसले जे गर्यो वा गरिसक्यो त्यो ठीक भयो भन्ने आशय कसैको पक्कै नहोला । तर यहाँ त हाम्रो ब्यबसाय, ब्यबसायी र जीविकोपार्जन गर्ने रोजगारी सृजना गर्ने अवसर नै अतिक्रमित भएको छ । भौतिक संरचनाको जग निर्माण गर्दै गर्दा जग खन्ने कामदार, तिनका परिवार अनि तिनलाई चिया, खाजा, खाना खुवाउने र बनिबुतो गरी छोराछोरी हुर्काई पढाई गरेर सुन्दर भविष्यको सपना देख्ने साना ब्यबसायी प्रति पनि सदाशयता राख्नुपर्ने हो की ?

    महानगर, उप-महानगर र नगर क्षेत्रमा बसोबास गर्ने तल्लो तप्काका जनता, गाउँ बाट शहरमा अबसरको खोजीमा आउने युवा, उद्यमी र साना किसानहरुलाई पनि सम्झिनै पर्छ होला । अधिकांश ठूला उद्योगहरुले रोजगारी सृजनाको नाउँमा नेपाली कामदारहरुलाई भन्दा भारतीय कामदारहरुलाई नै रोजगारी दिएको अवस्था छ । सरोकारवालाहरुले सर्वेक्षण गरेर सत्य-तथ्य बाहिर ल्याए हुन्छ । उपल्लो सेवा क्षेत्र संगठित महामनाहरुको कब्जामा छ ।

    तल्लो तहको सेवा क्षेत्रबाट पनि यो वा त्यो बहानामा आम मानिसहरुलाई लखेट्ने मात्रै काम भयो भने शहर त के मुलुक नै असुन्दर हुनेछ । शहरलाई असुन्दर र कुरूप बनाउन भौतिक आँखाले देखिने दृश्य भन्दा चिन्तनको दृष्टिकोणले देखिने कारणहरु धेरै जिम्मेवार छन् । दृष्टि होईन दृष्टिकोण बदलौं, अन्यथा फेरी पनि कोही न कोही प्रेम प्रसाद आचार्य आत्मदाह गर्ने दैनन्दिन बाध्य हुनेछन् , तर अब यस्तो कहिल्यै नहोस् ।

    हाम्रो समाजमा व्याप्त व्यावसायिक बेथिति, सरोकारवालाहरुको गैर जिम्मेवारी र भ्रष्ट आचरण बिरुद्ध सचेत गराउँदै आत्मदाहको बाटो रोजेका ब्यबसायी “प्रेम प्रसाद आचार्य” प्रति हार्दिक श्रद्धान्जली सहित ।

    =========================================================

    अन्तरराष्ट्रिय सम्बन्ध केन्द्र त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशक जोशीका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०७९, माघ १३ शुक्रवार१२:०१:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार