बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने छ ।
पार्टीले तय गरेको तालिकाअनुसार सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सबैभन्दा पहिले अधिवेशन गर्दैछ । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० वजे गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्यमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने एमालेले जनाएको छ ।
अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम बनाइएको छ ।
सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरु र विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने छन् ।
नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य हरि रिजाल र अहिलेका सचिव लक्ष्मण आचार्यले तयारी गरेका छन् ।