कमलामाई । नेपाली काँग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले काँग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताउनुभएको छ ।
जिल्ला प्रशिक्षण शाखा नेपाली काँग्रेस सिन्धुलीले आज सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवाद ः अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले कांग्रेस रूपान्तरित हुँदै गएको बताउनुभयो ।
“काँग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो । काँग्रेस नवीन ढङ्गले अगाडि बढ्ने क्रममा छ । रूपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व काँग्रेसले गर्छ”, उहाँले भन्नुभयो ।
देश रूपान्तरणका लागि काँग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उहाँले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा काँग्रेस जुटेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मसम्मानका साथ बाँच्न सकुन् ।”
जिल्ला प्रशिक्षण शाखा नेपाली काँग्रेस सिन्धुलीका संयोजक तथा काँग्रेस उपसभापति दीपककुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी काँग्रेस नेता, शुभेच्छुकले राखेको सुझाव तथा जिज्ञासालाई पनि काँग्रेस महामन्त्री शर्माले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमा झन्डै आठ सय नेता तथा काँग्रेसका शुभेच्छुकको सहभागिता थियो ।