माओवादी बैठक : प्रधानमन्त्रीद्वारा चीन र अमेरिका भ्रमणबारे  ब्रिफिङ 

माओवादी बैठक : प्रधानमन्त्रीद्वारा चीन र अमेरिका भ्रमणबारे  ब्रिफिङ 

२०८०, आश्विन १६ मंगलवार

  • 1.0K
    SHARES

  • माओवादी बैठक : प्रधानमन्त्रीद्वारा चीन र अमेरिका भ्रमणबारे  ब्रिफिङ 

    काठमाडौ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् । 

    आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताए । 

    प्रधानमन्त्री दाहालले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्वको भएको उल्लेख गरेका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ”, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै उनले भने, “संयुक्त राष्ट्र सङ्घका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्त्वपूर्ण रह्यो ।”

    प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबिच सहकार्य तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबिच भएको सहमति दूरगामी महत्वका रहेको बताएका प्रवक्ता सापकाटाले जानकारी दिए । 

    बैठकमा माओवादीले गत भदौ १६ गतेदेखि चलाएको रूपान्तरण अभियानका बारेमा पनि छलफल भएको थियो । बैठकले अभियानलाई प्रभावकारी बनाउने, चाडपर्वको समयमा पनि विविध कार्यक्रम गरी जनताको घरदैलोमा पुग्न नेता कार्यकर्तालाई दिशानिर्देश गरेको उनले जानकारी दिए । 

    प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्क प्रस्थान गरेका थिए । उनी न्यूयोर्कबाट सिँधै चीन भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री दाहाल चीन भ्रमण सम्पन्न गरी यही असोज १३ गते स्वदेश फर्किएका थिए ।

    २०८०, आश्विन १६ मंगलवार०३:१७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार