काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, सद्भाव, सहिष्णुता, सार्वभौमसत्ताका विषयमा सिङ्गो संसद् एक ठाउँ हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक उपलब्धिको रक्षा गर्न र राष्ट्रको हितलाई सर्वोपरि राख्दै विकासका प्रयासमा सबैलाई एकजुट हुन आग्रह गरे ।
अध्यक्ष ओलीले सरकारले अहिले भ्रष्टाचारका फाइल खोल्ने तर टुङ्गोमा नपुर्याएको भन्दै आपत्ति जनाए । उनले, शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म सरकारले नै टुङ्गोमा पुर्याउन नचाहेको आरोप लगाए ।
यसअघि बैठकको सुरुमा सांसद धवल शमशेर राणाले आकस्मिक समयको माग गर्दै नेपालगञ्जमा सद्भाव बिग्रने गतिविधि भएकाले तत्काल रोक्न सरकारसँग माग गरे ।
बैठकको शुन्य समयमा सांसदहरुले धर्म र जातिको नाममा समाज विभाजन हुने क्रियाकलाप बढेको, चाडबाड नजिकिएसँगै मंहगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।