काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहाडी भुभाग केन्द्रित मध्यपहाडी लोकमार्ग यात्रा विहिवारदेखि सुरु गर्दैछ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ राजनीतिक यात्रा गर्न सबै तयारी पूरा भएको एमालेले जनाएको छ।
एमालेले बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङसम्मको झण्डै १८ सय किलोमिटर लामो यात्रा सुरु गर्न लागेको हो।
बिहीबार बिहान कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितका नेता झुलाघाट नजिकै पर्ने गोठालापानीबाट हुनेछ । उद्घाटन आज बिहान साढे आठ बजे हुनेछ ।
संगठनलाई थप मजबुत पार्ने उद्देश्यका साथ गर्न लागिएको मध्यपहाडी यात्रामा २० हजारजना सहभागी हुने दाबी गरिएको छ। यात्राका क्रममा साना ठूला खालका सभा हुनेछन्।
पार्टीका शीर्ष नेताहरूले गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मामा सम्बोधन गर्नेछन्। त्यस्तै, सुन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापु ठूला सभा आयोजना हुनेछन्।
एमालेले दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखेको छ। अभियानका क्रममा ठाउँ ठाउँमा साना खालका कोणसभा, भेला बैठक, पार्टी मिटिङसमेत आयोजना गरिनेछ।
यात्राका क्रममा एमालेले जनताका समस्या सुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने, विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने योजना रहेको छ ।
१८ दिने यात्रा पुस १ गते सकिने छ।