यहूदी नरसंहारका श्रृंखलाहरुको ऐतिहासिक पृष्ठभूमी (ईजरायल - गाजा युद्ध विशेष)

यहूदी नरसंहारका श्रृंखलाहरुको ऐतिहासिक पृष्ठभूमी (ईजरायल - गाजा युद्ध विशेष)

२०८०, मंसिर ३० शनिवार

  • 8.4K
    SHARES

  • यहूदी नरसंहारका श्रृंखलाहरुको ऐतिहासिक पृष्ठभूमी (ईजरायल - गाजा युद्ध विशेष)

    हालै मात्र अर्थात् सन् २०२३ जुलाई ७, अचानक फेरी ईजरायल–हमास युद्ध भड्कियो । करीब २५०० हमास लडाकूहरुले गजापट्टि र इजरायलको सीमा रेखा उल्लङ्घन गर्दै गाजापट्टी बाट ईजरायली सैन्य क्याम्प भएको स्थान किबुत्जिमको इजरायली बस्तीहरुमा अप्रत्याशित रुपमा अन्धाधुन्ध रकेट र बन्दूकले आक्रमण गरे । उक्त आक्रमणमा ३६४ सर्वसाधारण ईजरायली, ३४९ ईजरायली सैनिक मारिनुको साथै १५० भन्दा बढी स्वदेशी तथा बिदेशी नागरिकहरु बन्धक बनाईए । यो युद्ध आज दुई महिना ह‘ुदा पनि थामिएको छैन । जवाफी कारवाहीको रुपमा ईजरायल द्वारा गरिएको प्रत्याक्रमणमा अहिले सम्म बीसौंहजार मानिसहरुको ज्यान गएको र लाखौँ मानिसहरु बिस्थापित भएको खबर छ ।

    ईजरायली प्रत्याक्रमणमा परेर गाजापट्टी ध्वस्तप्रायः भएको छ । कुनै न कुनै निहुँमा हुने गरेको ईजरायल–प्यालेष्टिन युद्ध होस् वा ईजरायल–हमास युद्ध होस् , यिनले एक लामो शृंखला पार गरिसकेको छ । आखिर यी युद्धहरु किन भईरहेका छन् ? यो प्रतिशोधको पृष्ठभूमी के हो ? कुनै एक पक्षलाई सफाई दिने वा महिमामण्डित गर्ने उद्देश्यले नभई प्राचीनकाल देखि बर्तमान सम्मका मूल घटनाहरुलाई समेट्दै यी र यस्ता घटना एवं युद्धहरु बर्तमान सम्म कसरी जोडिंदै आएका रहेछन् भन्ने तथ्यहरु बिज्ञ पाठकहरु माझ प्रस्तुत गर्ने उद्देश्यले यो लेखको श्रृंखला प्रारम्भ गरिएको छ ।     

    प्रताडनाको पृष्ठभूमी :
    इजरायल र प्यालेष्टिन बिबादको जड आजभन्दा करीब ४००० बर्ष पुराना ऐतिहासिक घटनाहरु सँग सम्बन्धित छ । यद्ध्यपी यहूदी धर्मको शुरुआत भने ईसापूर्व २००० देखि भएको मानिन्छ । संसारमा प्रचलित पुराना भनिएका धर्महरुको इतिहास खोतल्ने हो भने यहूदी, ईस्लाम र क्रिस्चियन धर्मको उद्गमको प्रमुख श्रोत अर्थात् यी तीनवटै धर्मका आदि पिता हजरत अब्राम वा अब्राहम वा ईब्राहीम र तिनको बंशवृक्ष अन्तर्गत जन्मिएका बिभिन्न जाति, समूह र कबिला अर्थात् अब्राहमका सन्तानहरुको कथा हो । यहूदी, ईस्लाम र ईसाई तीनै धर्मले हजरत अब्राहमलाई आफ्ना आदि पिता मान्ने गर्दछन् । यी तीनवटै धर्मका प्रवर्तकहरु बिभिन्न समयमा हजरत अब्राहम कै कुलमा जन्मिएका थिए । यसैकारण यी तीनवटै धर्महरुलाई “अब्राहमिक धर्म” (Abrahamic Religion) पनि भन्ने गरिन्छ । बर्तमानमा यहूदी र मुस्लिमहरु बिचको झगडा जस्तो देखिने ईजरायल – प्यालेस्टिन बिबाद कुनै बेला मूलतः यहूदी–क्रिस्चियन बिबादको रुपमा अघि बढेको थियो । ईतिहासका बिभिन्न कालखण्डमा यहूदी धर्माबलम्बीहरुले सहनु परेको जस्तो प्रताडना संसारका अन्य कुनै धर्माबलम्बीहरुले सहनु परेको देखिन्न । 

    सामान्यतयाः यहूदीहरुको प्रसंग आउने बित्तिकै लोकतन्त्रका माध्यमबाट उग्र–राष्ट्रबादको घोडा चढेर आएका जर्मनीका शासक क्रूर तानाशाह एडोल्फ हिटलरको नाम लिने गरिन्छ । उनको बिचारमा तत्कालिन जर्मनी र युरोपको दुर्गती मुख्य कारक यहूदीहरू नै थिए । हिटलर मूलतः क्रिस्चियन थिए र त्यसमा पनि बिर्सन नहुने कुरा त के हो भने उनी आल्प्स पर्वत बाट आएका आर्यहरुको कुरा गर्दथे । यसैकारण कतिपय मानिसहरुलाई यो भ्रम पनि छ की हिटलर भारतीयहरुको पक्षमा थिए, किनकी भारतीय हिन्दूहरु आफुलाई आर्य मान्दछन् । तर यथार्थमा हिटलरको बिचारमा भारतीयहरु “आर्य’ नै थिएनन् । हिटलरले बिभिन्न समयमा व्यक्त गरेका बिचारहरुले त्यसको पुष्टि पनि गरेको छ । भारतीयहरुलाई त उनले तत्कालिन समयमा युद्धको एक मोहरा मात्रै मानेका थिए ।

    मूल रुपमा आल्प्स पर्वतीय क्षेत्र बाट आई संसारभर फैलिएका तिनै जर्मन आर्यहरु मात्रै बिशुद्ध नश्लका सर्वश्रेष्ठ प्रजाति हुन् र तिनलाई मात्रै संसारमा शासन गर्ने अधिकार छ भन्ने मान्यता जर्मनीका नाजी तानाशाह एडोल्फ हिटलरको रहेको थियो । उनको शासनकालमा (बिशेषतः सन् १९४१ देखि सन् १९४५ सम्ममा) जर्मनीमा मात्रै पनि करीब ६० लाख यहूदीहरुलाई यातना शिविरमा भोकभोकै काम लगाएर र ग्यास चेम्बरमा राखेर सामूहिक हत्या गरियो । त्यतिबेला यहूदीहरूलाई युरोपका बिभिन्न स्थानबाट पक्रेर ल्याई यातना शिविरमा भेंडा–बाख्रा जस्तो कोचेर राख्ने गरिन्थ्यो । त्यसपछि समूह–समूहमा विषालु ग्याँसयुक्त ग्याँस चेम्बरमा तिनलाई पठाईन्थ्यो । विषालु ग्याँस भरिएको चेम्बरमा हालेको केही मिनेटमा तिनीहरु निसास्सिएर मर्थे । यी घटनाहरु बिश्व ईतिहासमा“Jews Holocaust” नामले कुख्यात छ ।  

    हिटलरले यहूदीहरुको समूल बिनाश गरिनु आबश्यक छ भन्ने घृणास्पद बिचार प्रसार गरे । उनले उग्र–राष्ट्रबादको माध्यमबाट नश्लबाद लाई बढावा दिए । हिटलरको बिचारमा प्रथम विश्वयुद्धमा जर्मनीको पराजयको प्रमुख कारण यहूदीहरु नै थिए । हिटलरको नश्लबादको शिकार केवल यहूदीहरु मात्रै भएनन् बरु हजारौँको सङ्ख्यामा अन्य जातिका मानिसहरु पनि त्यसबेला मारिएका थिए । हिटलरको बिचारलाई उनको नाजी पार्टीले निकै प्रचार–प्रसार पनि गर्यो । हिटलरको उक्त बिचारधारा लाई "Anti‐Semetism" पनि भन्ने गरिन्छ । हुन त सेमेटिक (Semetic) शब्दले मुस्लिम, ईसाई, बहाई जस्ता थुप्रै धर्म र अरबी भाषा समूहमा पर्ने थुप्रै भाषिक र धार्मिक जाति समुदायलाई समेट्छ । तर पनि सेमेटिक बिरोधी भावना (Anti–Semetism) भन्ने शब्दावलीले मूल रुपमा यहूदी बिरोधी भावनालाई नै संकेत गर्दछ । 

    यहुदी बिरोधी भावना हिटलरको समयमा एकाएक उत्पन्न भएको भने होइन । त्यस्तो भावना किन र कसरी उत्पन्न भयो ? त्यसले कसरी आमरूपमा स्थान पायो ? हिटलरले कसरी यहूदी बिरोधी भावना जगाएर भडकाउन र जर्मनीका आम जनतालाई भ्रमित बनाइ जर्मनीको सत्ता कब्जा गर्न सफल भए ? के यहूदीहरुको नर–संहार हिटलरको समयमा मात्रै भएको थियो ? भन्ने जस्ता तथ्यहरु बुझ्न युरोपीय भूमिको धार्मिक ईतिहास र यहूदी, ईस्लाम र क्रिस्चियन धर्मको द्वन्दको ईतिहास बिस्तृत रुपमा खोतल्नु आबश्यक छ । यहाँ संक्षेपमा त्यसको चर्चा गरिएको छ । 

    मध्ययुगमा सन् ३०६ मा रोमन सम्राट बनेका कोन्सटेन्टाईनले जब ईसाई धर्मलाई राज्यधर्मको रुपमा अपनाए त्यसैबेला देखि नै यहूदीहरुले प्रताडना र सामाजिक बहिष्कारको सामना गर्दै आउनुप¥यो । सन् ३९९ मा रोमनहरुले कानून नै बनाएर यहूदी र ईसाईहरु बिच बैबाहिक सम्बन्ध स्थापना गर्नमा प्रतिबन्ध लगाए । सन् ४३९ मा यहुदीहरुलाई सरकारी सेवामा प्रवेश गर्नमा प्रतिबन्ध लगाईयो । सन् ५३१ मा क्रिस्चियनहरुका बिरुद्ध साक्षीको रुपमा अदालतमा यहुदीहरुलाई अस्वीकार गरिने कानून बन्यो । यहूदीहरुका प्रार्थना स्थल “सेनेगोग” (Synagogue) हरु उपर प्रतिबन्ध लगाईयो । यहूदीहरुलाई जिससको हत्यामा जिम्मेवार ठहर गर्दै सम्पूर्ण यहूदी जातिलाई नै विभेद गर्ने, अन्य धर्मका मानिसहरुले सामान्य रुपमा उपभोग गर्ने अधिकार समेत प्रयोग गर्न नपाउने गरी बन्चित गर्ने काम गरियो र यस्तो लहर सम्पूर्ण युरोपभर नै चल्यो । संसारभरी कतै पनि यहूदीहरुले सुखः र सन्तोषपूर्वक बस्न नपाउने अवस्था बन्यो । यहूदीहरुको सम्पूर्ण जातिलाईनै धोकेबाज, बिश्वास अयोग्य, स्वार्थी, धूर्त र क्षुद्र जाति समुदायको रुपमा चित्रित गरियो ।

    क्रिस्चियनहरुले यहूदीहरु प्रति गरेको दुर्ब्यबहार र हत्याको कुकर्म लाई उचित ठहर गर्ने उद्देश्यले नै “यहूदीहरुले जिससलाई परमेश्वरको पुत्र मान्न अस्वीकार गरेकोले यहूदीहरुलाई तिनै परमेश्वरले श्राप दिएको र परमेश्वरको श्राप कै कारण जबसम्म यो पृथ्वीमा मानिसको अस्तित्व कायम रहन्छ तबसम्म यहूदीहरुले शान्तिपूर्वक बस्न नपाउने अवस्था रहीरहनेछ” भन्ने जस्ता भ्रामक अबधारणा ब्यापकरुपमा प्रचारित गरियो । यहूदीहरुलाई स्पष्ट रुपमा आफ्नो पहिचान खुल्ने बस्त्र, टोपी वा काठले बनेको टाई जस्ता कुनै नै कुनै चिन्ह धारण गर्न बाध्य बनाईयो । युरोपेली देशका सैनिकमा भर्ती भएका यहूदी सैनिकहरुको पोशाकमा त यहूदीहरुले आफ्नो पहिचान खुल्ने गरी “षट्कोण” चिन्ह लगाउनै पर्ने नियम नै थियो जसलाई “स्टार अफ डेविड” (The Star of David, the Magen David or Shield of David) भन्ने गरिन्थ्यो ।

    यहूदीहरुका उपर तिनले ईसाईहरुको बस्ती भन्दा टाढा बस्नुपर्ने, कुनै किसिमको चाडपर्व मनाउन र मनोरंजनमा सहभागी हुन नपाउने, कुनै ब्यबसाय गर्दा पनि अरुले भन्दा बढी कर तिर्नुपर्ने जस्ता विभेदकारी कानूनहरु थोपरिएका थिए । समग्रमा भन्दा जसरी हिन्दू समाजमा शूद्र जातिलाई जसरी छुवाछुतको ब्यबहार गरिन्थ्यो, त्यस्तै ब्यबहार समग्र युरोपमा यहुदीहरु उपर लादिएको थियो । यति सम्म की ईसाई र मुस्लिमहरु बिचको झन्डै १२ पटकको धर्मयुद्धको दौरानमा समेत कुनै न कुनै बहानामा यहुदी पुरुषहरुको हत्या गर्ने, यहुदी महिलाहरुलाई बलात्कार गर्ने केटाकेटीहरुको नृशंश ढङ्गले हत्या गरिदिने जस्ता असंख्य घटनाहरु यसरी भए की मानौं यहूदीहरु भनेका गाजर–मूला हुन् जसलाई जसले जसरी काटेर खाए वा फाले जे गरेपनि हुन्छ ।  

    बिभिन्न समयमा हुने गरेका सत्ता परिवर्तनका घटनाहरुमा पनि यहूदीहरुलाई लक्षित गरी नरसंहारको शिकार बनाउने गरिन्थ्यो । डिसेम्बर ३० सन् १०६६ मा स्पेनको ग्रेनाड़ामा भएको नरसंहारको एक घटनामा मुस्लिमहरुको एक भीडले त्यहाँको राजप्रासादमा छिरेर एकहजार यहूदीहरुको हत्या गरेका थिए । त्यस समयमा स्पेनको ग्रेनाडा (Granada) को राजनीतिक उथलपुथलको अवधिमा यहूदीहरुले अनाहकमा हिंसाको सामना गर्नुपर्यो । ग्रेनाडाका बर्बर (Berber) जातिका शासक बादिस बेन हबुस (Badis Ben Habus) को मृत्यु पछि, त्यहाँ सत्ता संघर्ष चल्यो। अदालतमा उच्चाधिकारी (Vizier) को रूपमा सेवा गरेका एक यहूदी, जोसेफ इब्न नागरेला (Joseph Ibn Naghrela) लाई बर्बरहरूसँग मिलेर षड्यन्त्र गरेको आरोप लगाइयो। जोसेफ इब्न नागरेलाको मृत्युपछि, भीडले ग्रेनाडाको यहूदी क्वार्टरमा आक्रमण ग¥यो, जसको परिणामस्वरूप भीषण नरसंहार भयो । उक्त घटनामा दशहजार यहुदीहरु बर्बर ढंगले मारिए । मध्ययुगमा अल्पसंख्यक समुदायमाथिको राजनीतिक र सामाजिक अस्थिरताले कसरी हिंसा निम्त्याउन सक्छ भन्ने यो एक दुखःद उदाहरण थियो । 

    ईसाई धर्मगुरु पोप अर्बन द्वितिय (Pope Urban – II) को आह्वानमा आफ्नो पवित्र स्थल “जेरुसलेम” लाई मुस्लिम आधिपत्यबाट मुक्त गराउने उद्देश्यले पहिलो धर्मयुद्ध (१०९६–१०९९) अर्थात् “क्रुसेड“ (Crusade) शुरू भएको थियो। क्रुसेडर सेनाहरूले १०९९ मा “जेरुसलेम” लाई तीन बर्ष लगाएर सफलतापूर्वक कब्जा गरे । यस क्षेत्रमा धेरै जिहादी (क्रुसेडर) राज्यहरू स्थापना पनि गरे, तर यस क्रममा जिहादी सेनाहरूले बाटोमा परेका यहूदी बस्तीहरु उपर निरुदेश्य र जथाभावी आक्रमण गरी नरसंहार मच्चाए । त्यसपछिका धर्मयुद्धहरू, क्रमशः दोस्रो धर्मयुद्ध (सन् ११४७ – सन् ११४९), तेस्रो धर्मयुद्ध (सन् ११८९ – सन् ११९२), र अन्य थुप्रै धर्मयुद्धहरू भए । प्रत्येकको आफ्नै उद्देश्य र परिणामहरू भए । तर हरेक पटक दुई ठूला साँढे (ईसाई र मुस्लिम) हरुको लडाईमा मिचिने बाच्छाहरु चैं यहूदीहरु नै भए । 

    यहूदी बिरोधी भावनालाई भड्काउनमा ईसाई धर्मगुरुहरुले पनि प्रमुख भूमिका खेलेका थिए । मध्ययुगको कुनै कालखण्डमा ईसाईहरुले यहूदीहरुको सिङ् र पुच्छर हुन्छ, तिनले ईसाई बालकहरुलाई वली दिएर तिनको रगत आफ्नो धर्मकार्यमा उपयोग गर्छन् भन्ने जस्ता अत्यन्त नीच र घृणित बिचार समेत फैलाएका थिए । मध्ययुगमा “रगतको अपमान” (Blood Libel) भनिने एक प्रकारको यहूदी विरोधी अफवाह क्रिश्चियन समुदायमा फैलाइएको थियो । उक्त शब्दले यहूदीहरूले गैर–यहूदी बालबालिकाको रगतलाई धार्मिक अनुष्ठानहरूमा प्रयोग गर्छन्, र तिनले आफ्नो पवित्र चाड निस्तार समयमा मत्जाह (Matzah – एक प्रकारको रोटी) बनाउनमा प्रयोग गर्छन् भन्ने झूटो र दुर्भावनापूर्ण आरोपलाई सँग सम्बन्धित छ । यो आरोप मूलतः १२औं शताब्दीमा विलियम नामको एक ईसाई केटाको कथा प्रसंग सँग सम्बन्धित थियो ।

    कथामा विलियम नामको एक ईसाई केटालाई यहूदीहरूले इङ्गल्याण्डको नर्विच (Norwich) भन्ने स्थानमा धार्मिक उद्देश्यका लागि हत्या गरेका थिए भन्ने निराधार दावी गरिएको थियो । यहूदीहरू उपर यस्तै निराधार आरोपहरू लगाउने, तिनलाई अपहेलित गर्ने र क्रिस्चियन समुदायलाई यहूदी बिरोधी हिंसाको लागि उक्साउने कार्य मध्ययुगीन युरोपभरि विभिन्न ठाउँहरूमा भएका थिए, जसले यहूदी समुदायहरू विरुद्ध अन्यायपूर्ण हिंसाको नेतृत्व ग¥यो । यस्तो अफवाहले मानिसहरुमा यहूदीहरु बिरुद्ध डर र घृणा भड्काउन मद्दत गर्यो । परिणामतः राइन र डेन्युब नदी किनारमा बसोबास गर्ने हजारौँ यहूदीहरु हिँसाका शिकार भए । तात्कालिक समाजमा व्याप्त अन्धबिश्वासको जगमा, मध्ययुगीन युरोपमा, सत्ताको आडमा आधिकारिक घोषणाहरू मार्फत् यस्ता अत्यन्त कलुषित र कपोलकल्पित सेमिटिक विरोधी निराधार आरोपहरु नियोजित पूर्वाग्रह राखेर फैलाउने गरिन्थ्यो । 

    यहूदीहरु प्रतिको बैमनश्यता यतिमै मात्र सिमित थिएन । १४औं शताब्दीको समयमा युरोपमा “The Black Death” नाम दिइएको प्लेग (Bubonic Plegue) रोगको महामारी फैलिएको थियो जसमा युरोपका एक तिहाई जनसंख्याको महामारीकै कारण मृत्यु भएको थियो । महामारी फैलाउने काम समेत यहूदीहरुले नै गरेको र तिनले ईनार–कुवाको पानीमा बिष मिलाएको जस्ता तथ्यहीन आरोप लगाईन्थ्यो । परिणामतः सन् १३४८ देखि १३५० को बिचमा स्ट्रास्बर्ग (Strasbourg), बसेल (Basel)  र अन्य शहरहरुमा करीब १ लाख यहूदीहरूलाई जिउंदै जलाएर हत्या गरिएको थियो । आश्चार्यको कुरा त यो थियो नरसंहार जस्तो घृणित कार्यको अगुवाई आम–मानिसहरुले गरेको नभई त्यहाँका नगर परिषद्हरुको आधिकारीक निर्णयहरुको आधारमा भएका थिए । यसबाहेक यहूदीहरुलाई आफ्नो जमीन किन्न र ब्यापार ब्यबसाय गर्नमा समेत बिभिन्न किसिमले प्रतिबन्ध लगाइएको थियो । शहरमा पनि कुनै निश्चित स्थानहरुमा मात्र उनीहरुले बसोबास गर्न पाउंथे । 

    कतिपय देशका राजाहरुले त यहूदीहरूलाई देश निकाला समेत गरेका थिए । सबैभन्दा ठूलो निष्काशन स्पेन र पोर्चुगलबाट गरिएको निष्काशन थियो । सन् १४९२ मा स्पेनमा सम्पूर्ण यहूदीहरुलाई ६ महिनाको अबधि तोकेर क्रिस्चियन धर्म अङ्गीकार गर्न या देश छोडेर जान शाही आदेश जारी भयो । आदेश उल्लङ्घन गर्ने यहुदीहरु स्पेन बाट निष्काशन गरिए । स्पेनिस र यहूदी इतिहासमा यो एक महत्त्वपूर्ण घटना थियो जो “स्पेनिश निष्काशन” (Spanish Expulsion) को नामले दर्ज छ । यही घटना नै मध्ययुगमा विभिन्न युरोपेली देशहरूबाट यहूदीहरूलाई निष्कासन गर्ने ठूलो ढाँचाको एक हिस्सा बन्नगयो । स्पेनबाट यहूदीहरूलाई निष्कासन गर्ने आदेश आधिकारिक रूपमा अरागोनका क्याथोलिक सम्राट फर्डिनान्ड द्वितीय (Ferdinand – II of Aragon) र क्यास्टिलको इसाबेला प्रथम (Isabella – I of Castile) द्वारा सन् १४९२मार्च ३१, मा अल्हम्ब्रा डिक्री(Decree of Alhambra) मार्फत् घोषणा गरिएको थियो।

    उक्त घोषणामा यहूदीहरूलाई क्यास्टिल र अरागोन राज्यका क्षेत्रहरुबाट निष्कासन गर्न आदेश दिएको थियो । धेरैले निष्कासनको सामना गर्नुको सट्टा धर्म परिवर्तनको मार्ग छनौट गरे । तर उनीहरूले पनि निरन्तर शंका र छानबिनको सामना गरिरहन प¥योे । यसै क्रममा आदेश अस्वीकार गर्ने दश हजार यहुदीहरुको हत्या भयो । निष्कासित भएका करीब २ लाख यहूदीहरू युरोप, उत्तर अफ्रिका, ओटोमन साम्राज्य र अमेरिकाका विभिन्न भागहरूमा फैलिए । यसबाट सेफार्डिक यहूदी समुदायहरूको गठन हुन गयो । “सेफार्डिक यहूदी” (Sephardic Jews) ले इबेरियन प्रायद्वीप (Iberian Peninsula) सँग ऐतिहासिक सम्बन्ध भएका यहूदीहरूलाई जनाउँछ । 

    मध्ययुगीन युरोपमा यहूदीहरुको निष्काशनका घटनाहरु बिषेशतः ईसाई बहुल राष्ट्रहरुमा सर्वत्र फैलिएका थिए । सन् १२९० मा इंगलैंड र १३०९ मा फ्रान्स बाट यहूदीहरुलाई निष्काशन गरिएको घटनालाई थप उदाहरणको रुपमा लिन सकिन्छ । सन् १२९० मा राजा एडवर्ड प्रथम (King Edward – I) ले इङ्गल्याण्डबाट सबै यहूदीहरूलाई निष्कासन गर्ने आदेश जारी गरे । युरोपमा बढ्दो सेमिटिक भावनाहरूको समयमा यो आदेश आएको थियो । त्यसबेला इङ्गल्याण्डमा पनि यहूदीहरू भेदभावपूर्ण कानून र सामाजिक दुराग्रहको जाँतोमा पिसिएका थिए । मध्ययुगीन अवधिमा, विशेष गरी १४औं र १५औं शताब्दीमा फ्रान्स भित्रका विभिन्न क्षेत्रहरूबाट पनि यहूदीहरूलाई निष्कासन गरिएको थियो । फिलिप द फेयर (Philip the Fair) को शासनकाल (१२८५–१३१४) मा र सन् १३९४ मा राजा चाल्र्स छैठौँ (King Charles – VI) ले फ्रान्सका धेरै क्षेत्रबाट यहूदीहरूलाई निष्कासित गर्ने आदेश जारी गरेका थिए । 

    जडसम्म गएर विश्लेषण गर्ने हो भने यहूदीहरुको निष्काशनमा धार्मिक पूर्वाग्रह जनित “यहूदी बिरोधी भावना” (Anti-Semetism) ले महत्त्वपूर्ण भूमिका खेलेको त थियो नै तर यसबाहेक सुषप्त तर अर्को प्रमुख कारण आर्थिक कारण नै थियो । ईसाई धर्ममा जस्तो नगद लेनदेनमा धार्मिक प्रतिबन्ध नभएका कारण तत्कालीन युरोपमा यहूदीहरू नगद ऋण दिने साहूकारी व्यवसायमा संलग्न थिए । अर्थात् बैंकिंग ब्यबसाय यहूदीहरुको पकडमा थियो । ऋणको बोझ बढ्दै जाँदा यहूदी साहूकारहरू बाट लिएको ऋण रद्द गर्ने तरिकाको रूपमा पनि राज्यका तर्फबाट यहूदीहरुको निष्काशनलाई हेरिएको थियो । राज्यका तर्फ बाट यस्ता निष्कासनको औचित्य प्रमाणित गर्न यहूदीहरुलाई नियोजित रुपमा अपमान गर्ने, आरोपित गर्ने, अवहेलना गर्ने र हत्या गर्ने सम्मका अनुष्ठानहरु चलाउने गरिन्थ्यो ।

    यस्तो निष्कासनले इङ्गल्याण्ड र फ्रान्सबाट धेरै यहूदीहरू अन्य युरोपेली देशहरूमा पलायन भए । तर त्यहाँ पनि उनीहरूले उस्तै खाले चुनौतीहरूको सामना गर्नुपर्यो । केही यहूदीहरू अस्थायी निष्कासन पछि फ्रान्स फर्किएका उदाहरणहरु पनि छन् । तर ती नगण्य थिए । इङ्गल्याण्ड, फ्रान्स, स्पेन, पोर्चुगल, पोलैंड लगायतका देशहरुबाट समय–समयमा गरिएको यहूदीहरूको निष्कासनले यहूदी समुदायको विघटन, जबरजस्ती बसाइँसराइ र युरोपका विभिन्न क्षेत्रहरूमा यहूदी जनसङ्ख्यालाई तितर–बितर बनाईदिएको थियो । 

    मध्ययुगीन समयमा मेसेडोनिया (Macedonia) का सम्राट अलेक्जेंडर द ग्रेट (Alexander the Great) को बिजय यात्रा सँगै ग्रीक संस्कृतिको महत्वपूर्ण मिश्रण सहितको समयलाई “हेलेनिस्टिक काल” (Helenistic Period) भन्ने गरिन्छ । यस अबधिमा यहूदीहरुलाई पनि ग्रीक संस्कृति अबलम्बन गर्न र पशुबली दिन दबाब दिइएको थियो । सेलुसिड राजवंशका ग्रीक राजा एन्तिओकस् चौथौं (Antiochus IV – ई.पू. १७५ – १६३) ले इजरायल कब्जा गरेपछि उनले यहुदीहरुको मन्दीरको अग्रभागमा माथि पट्टी ग्रीक देवता Zeus को मूर्ति राख्न समेत लगाए । सर्वत्र ग्रीक संस्कृति प्रसार गर्ने क्रममा जुडाह वा जुडि़या (Judea) राज्यका यहूदीहरु उपर पनि ग्रीक संस्कृति पालन गर्न र यहूदी मन्दिर भित्र पशुबलि दिन बाध्य पारे । यहुदीहरुले यसलाई आफ्नो घोर अपमान सम्झे । ई.पू.१६७ मा यहूदीहरुको बिद्रोह शुरु भयो, यहूदीहरूको जीत भयो । त्यसपछी उक्त मूर्ती हटाइयो र मन्दीरको फेरी सर–सफाई गरियो । यसै अबसरको सम्झनामा यहूदीहरु “हनुक्काह” (Hanukkah) पर्व मनाउने गर्दछन् ।

    ई.पू. ६३ मा रोमन साम्राज्यको उदय भयो । जसलाई रोमनहरुको शासनकाल (Byzantine Period) भन्ने गरिन्छ । रोमन सम्राट जुलियस सीजर (Juleas Ceaser) ले ईजरायल आफ्नो आधीनमा रहेता पनि यहूदी धर्मलाई इजरायलका यहूदीहरुको राज्यधर्मको रुपमा आधिकारिकता प्रदान गरिदिएका थिए । रोमको तर्फ बाट एक प्रसिद्ध व्यक्ति यहुदी राजा हेरोड (ई.पू. ३७ – ई.पू.०४) लाई प्रतिनिधी शासकको रुपमा इजरायलको एक सानो क्षेत्र “जुडि़या” लाई राज्यको स्वरूप दिएर उक्त राज्यको राजा नियुक्त गरिएको थियो । जो पछी गएर "Herod the Great" उपनामले चिनिए । उनी उपर निगरानीको लागि एकजना गवर्नर समेत नियुक्त गरियो । तर यहुदीहरुको धार्मिक स्वतन्त्रता खोसिएन ।

    राजा हेरोडले आफ्नो शासन कालमा पवित्र “सेकेन्ड टेम्पल” लाई पुनर्निर्माण गरी एक भव्य मन्दिरमा परिणत गरिदिए। क्षेत्रफलको साथसाथै ठूला–ठूला पर्खालहरु पनि निर्माण गरिए । तर येशुको मृत्युपछी सन् ६६ मा जब यहूदीहरूले The Zealots नामको एक राजनैतिक संगठन खोलेर ईजरायलबाट रोमनहरुलाई धपाएर ईजरायललाई रोमन मुक्त बनाउने अभियान थालेपछि सम्बन्ध तनावपूर्ण बन्यो । फलस्वरूप प्रथम यहुदी – रोमन युद्ध भयो । त्यस युद्धमा रोमन सेनापति टाइटस (Titus) विजयी बने। आफ्नो विजय पश्चात् उनले जेरुसलेम शहर र यहुदीहरुको प्रतिष्ठा, पवित्रता र आस्थाको धरोहरको रुपमा करिब ६०० बर्ष सम्म अस्तित्वमा रहेको “सेकेन्ड टेम्पल” मन्दिर पूर्णतः नष्ट गरिदिए ।

    रोमनहरुले भत्काईदिएको उक्त मन्दीरको पर्खालको पश्चिम तर्फको एउटा हिस्सा अझै पनि त्यहाँ रहेको छ, जसलाई आज पर्यन्त “Western Wall" भनिन्छ । अहिले पनि उक्त पर्खाललाई नै मन्दिरको पवित्रतम हिस्सा मानेर आम यहूदीहरू प्रार्थना र पूजा गर्ने गर्दछन् । पर्खाल भन्दा भित्र यहूदीहरुको प्रवेश आज पनि निषिद्ध छ । रोमनहरुले आफ्नो विजय पश्चात् सन् ७० देखि सन् १३५ को अबधिमा करिब ११ लाख यहूदीहरुको हत्या गरे भनिन्छ । आम यहूदीहरु अत्यन्त प्रताडीत गरिए । करिब १ लाख यहूदीहरु दास बनाइए । बचेका यहूदीहरु उपर पनि अत्याधिक करको भार थोपरे । यस्तो अबस्थाले गर्दा यहूदीहरु त्यस क्षेत्र बाट पूर्णतः बिस्थापित भए र संसारका बिभिन्न देशहरुमा जहाँ–जहाँ शरण पाईन्छ त्यतै–त्यतै पुगे । रोमनहरुले त्यस क्षेत्रको नाम समेत बदलिएर “प्यालेस्टाइन” राखिदिए ।

    १३औं देखि १६औं शताब्दीसम्म मध्य पूर्वमा मामलुकहरुको शासन चल्यो, जसलाई मामलुक अवधि (Mamluk Period) भनियो । मामलुकहरू मूलतः दास सिपाहीहरू थिए जसले अन्ततः सत्ता कब्जा गरे र आफ्नै वंश स्थापना गरे । मामलुक अवधिमा यहूदी समुदायहरूको स्थिति समय र विभिन्न क्षेत्रहरूमा भिन्न–भिन्न थियो । समग्रमा मामलुक शासकहरूले सामान्यतयाः यहूदीहरू सहित गैर–मुस्लिम समुदायहरूप्रति धार्मिक सहिष्णुताको नीति अपनाए । यो नीति व्यावहारिक थियो, किनकि यसले उनीहरूलाई आफ्नो विविध साम्राज्य भित्र विभिन्न धार्मिक र जातीय समूहहरूको वफादारी र योगदानलाई कायम राख्न सहजता प्रदान गरेको थियो। यहूदी समुदायहरू, अन्य गैर–मुस्लिम समुदायहरू प्रायः व्यापार, शिल्प, मुद्रा र ऋण सहित विभिन्न आर्थिक गतिविधिहरूमा संलग्न थिए । केही उदाहरणहरूमा, यहूदीहरूले आर्थिक क्षेत्रमा प्रमुख स्थानहरू ओगटेका पनि थिए । 

    यहूदीहरू सहित गैर–मुस्लिमहरूलाई इस्लामिक समाजहरूमा “धिम्मी” (Dhimmi-सुरक्षित मानिसहरू) मानिन्थ्यो । धिम्मीहरूलाई संरक्षण र आफ्नो धर्म पालन गर्ने अधिकारको बदलामा “जिज्या” (Jizya) भनिने विशेष कर लगाइएको थियो । जिज्या वा जिजियाको भुक्तानी र कार्यान्वयनको अवस्थाको प्रभाव विभिन्न समुदायहरूमा फरक हुने गर्दथ्यो । यहूदीहरूलाई सामान्यतयाः स्वतन्त्र रूपमा आफ्नो धर्म अभ्यास गर्न अनुमति दिइएको थियो । विभिन्न मामलुक शहरहरूमा समेत सभाघरहरू अवस्थित थिए । यहूदीहरूको धार्मिक जीवन सामान्य रुपमा जारी थियो। यद्यपि, धार्मिक अभ्यासहरूमा केही प्रतिबन्धहरू लगाइएका उदाहरणहरू भने नभएका होइनन् । 

    मामलुक समाजमा यहूदीहरूको सामाजिक र कानुनी स्थिति भिन्न थियो । केही यहूदीहरू प्रभावशाली पदहरूमा रहेर सार्वजनिक जीवनका विभिन्न पक्षहरूमा भागलिन सक्षम भए, तर अरूले भेदभाव वा प्रतिबन्धहरूको सामना गरे । राजनीतिक अस्थिरता, विभिन्न गुटहरू बीच को शक्ति संघर्ष त्यसबेलाको विशेषता नै थियो। यो अस्थिरताले कहिलेकाहीं यहूदीहरू सहित धार्मिक र जातीय अल्पसंख्यकहरूको स्थितिलाई अनुकूल वा प्रतिकूल असर गर्यो, किनकि यी समुदायहरूप्रति अपनाइने नीतिहरू शासकहरूको चरित्रमा निर्भर गर्दथ्यो । तर पनि यस अवधिका ऐतिहासिक अभिलेख र विवरणहरूले यहूदी जीवनको जटिल र बहुआयामिक प्रकृतिको थियो भन्ने देखाउंछ । त्यसपछिको अटोमन साम्राज्यको अबधिमा पनि यहूदीहरुको अवस्था तुलनात्मक रुपमा सन्तोषजनक नै रह्यो ।

    क्रिस्चियनहरुले यहूदीहरुलाई “पुस्तक भित्रका मानिसहरु” बनाइसकेका थिए तर मुस्लिम समाजमा यहूदीहरुको स्थान दोश्रो दर्जाको नागरिकको रुपमै भएपनि तिनले संरक्षित रुपमा रहन–बस्न पाए । यहूदी समुदायले त्यसबेला ब्यापार, प्रशासन र अन्य सामाजिक क्रियाकलापमा संलग्न भई योगदान दिने अवसर प्राप्त गरे । आठौँ देखि १३औं शताब्दी सम्म इस्लामिक संसार भित्र यहूदी संस्कृतीले फल्ने – फुल्ने मौका पाए यसर्थ उक्त समय लाई यहूदीहरूको “स्वर्णकाल” थियो भन्ने गरिन्छ । यहूदी विद्वानहरू, दार्शनिकहरु र कविहरु ले बिभिन्न क्षेत्रमा बिषेशत; बगदाद र कोर्दोवा जस्ता स्थानहरुमा, महत्वपूर्ण योगदान पनि गर्न पाए । प्रसिद्ध यहूदी दार्शनिक मैमोनिड्स (Maimonides) यसै समयमा भए । 

    प्रत्येकका आ–आफ्नै प्रकृतीका सांस्कृतिक र धार्मिक परम्परा सहित त्यस समयमा बिशेषतःउत्तरी अफ्रीका,स्पेन र पर्सिया (ईरान) का ईस्लामिक क्षेत्र भित्र यहूदी समुदाय क्रमशः बिस्तार हुँदै गयो । यद्यपी थुप्रै त्यस्ता समय पनि आए जतिबेला यहूदी समुदायले बिभिन्न खाले विभेद, अपहेलना र अपमान सहनु पर्यो। राजनैतिक अस्थिरताको समय, शासकहरु परिवर्तन भएको समय, अथवा ईस्लामिक संसार संग बैचारिक मतभेद सृजना भएको समयमा यहूदी समुदायले थुप्रै चुनौतिहरुको सामना गर्नुपर्यो । उदाहरणका लागि, १२औं शताब्दीमा उत्तरी अफ्रीकामा अल्मोहदको शासनकालमा यस्ता अवस्थाहरु आए । 

    स्पेनमा जब ईस्लामिक क्षेत्रमा क्रमशः क्रिस्चियन शक्तिले पुनर्विजय प्राप्त गर्दै गयो तब यहुदी समाजले बढ्दो विभेद र अपहेलनाको अवस्था को सामना गर्नुप¥योे । तर पनि ओटोमन साम्राज्यको उत्कर्षको समय अर्थात् मध्ययुगको सोह्रौं र सत्रौं शताब्दी सम्म यहूदी धर्म परम्परा र संस्कृतीले सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको थियो । 

    सन् १९१४ मा अटोमन साम्राज्यले केन्द्रीय शक्तिहरू (जसमा जर्मनी, अस्ट्रिया–हंगेरी र अन्यहरू समावेश थिए) को पक्षमा प्रथम विश्वयुद्धमा प्रवेश गर्यो। अर्कोतर्फ संयुक्त शक्तिहरू (ब्रिटिश, फ्रान्सेली र रुसीहरू सहित) ले ओटोमन साम्राज्यको बिरुद्धमा खडा भए । प्रथम विश्वयुद्धको बिस्तार सँगै अटोमन साम्राज्य परास्त हुँदै गयो। प्रथम विश्वयुद्ध अन्त्य सँगै अटोमन साम्राज्यको पतन र क्रिस्चियन शक्ति केन्द्रहरुको उदय हुँदै गयो । त्यसपछि पुनः एकपटक पूर्वी युरोपमा “यहूदी विरोधी” लहर चल्यो, जसले अन्ततः आम यहूदीहरुलाई हिटलरको “यहूदी यातना – शिविर” को द्वार सम्म धकेल्यो । 

    १६औं शताब्दीमा पोलेंड–लिथुआनिया कमन वेल्थ (Polish–Lithuanian Common Wealth) गठन भयो । यस अन्तर्गत त्यस क्षेत्रमा यहुदीहरुको आप्रवासन लाई खुकुलो बनाउने कानून बन्यो र ठूलो सङ्ख्यामा यहूदीहरु पश्चिमी युरोपका बिभिन्न भाग बाट पोलेंड तर्फ बसाईं सरे । तर ती दुई देश बिचको सहकार्य टुटे पछि सन् १६४८ – १६५७ को मध्यमा पोलेंडमा कृषकहरुले जग्गा धनी यहुदीहरुलाई लक्षित गरी बिद्रोह गरे । यस घटनालाई केमेनेस्की बिद्रोह भनिन्छ । उक्त बिद्रोहमा ३ लाख यहूदीहरुको हत्या भयो । १८औं शताब्दीमा -Polish–Lithuanian Common Wealth_ एयष्किज–ीष्तजगबलष्बल ऋयmmयल ध्भबतिज) को पतन भयो र उक्त क्षेत्र रुसीहरुको नियन्त्रणमा गयो । यहूदीहरुलाई एबभि क्भततझिभलत अन्तर्गत तोकिएको स्थानमा मात्रै बसोबास गर्न अनुमति दिइयो ।

    क्रिस्चियन धर्मावलम्बीहरु द्वारा समाज सुधारक भनेर बडो महत्वका साथ बर्णन गरिएका र क्रिस्चियन धर्ममा प्रोटेस्टेन्ट मतका मस्यौदाकार मार्टिन लुथर (Martin Luthar) जस्ता धार्मिक व्यक्तिले समेत सन् १५४५ मा एक पर्चा प्रकाशित गरी यहूदीहरु प्रति अनर्गल आरोप लगाउन र यहूदीहरु प्रति घृणा फैलाउने प्रचार गर्न पछि परेनन् । त्यही पर्चा सन् १९३५मा नाजीहरुले पनि पुनर्मुद्रण गरी यहूदी बिरोधी भावना भड्काउन खूब उपयोगमा ल्याए । आधुनिक समयमा पूर्वी युरोपमा यहूदी बिरोधी भावनाको प्रारम्भ सन् १८५० देखि प्रसारित भएको देखिन्छ । बिषेशतः पूर्वी युरोपमा यहूदीहरुको आमरुपमा हत्या गर्ने उद्देश्यले नियोजित रुपमा दङ्गा सिर्जना गर्ने र आम–जनसमुदायलाई भड्काएर यहूदीहरुको हत्या गर्ने षड्यन्त्र गर्ने गरिन्थ्यो । यस्ता प्रायोजित दंगा लाई “प्रोग्रोम”(Progrom) भन्ने गरिन्थ्यो ।

    त्यस अबधिमा थुप्रै “प्रोग्रोम” हरु पूर्वी युरोपमा आयोजित गरिए, हजारौँ यहूदीहरुको हत्या गरियो । सन् १९१७ देखि सन् १९२१ सम्ममा युक्रेनमा बिभिन्न स्थानहरुमा करीब ५०० यहुदी समुदायहरुको नाम निशाना मेटाइयो । यसक्रममा करीब ६० हजार यहूदीहरू मारिए । सन् १९०३ मा रुसको किसिनेभ (Kishinev) भन्ने स्थानमा हजारौँ यहूदीहरू मारिए । उक्त घटना पछि त्यहाँबाट करीब ४० हजार यहूदीहरू इजरायल–प्यालेष्टिन क्षेत्र तर्फ पलायन भए । यसै समयमा रुसी जारका गुप्तचरहरुले षड्यन्त्र पूर्वक यहूदी बिरुद्ध लक्षित गरी “Protocols of the Learned Elders of Zion" शीर्षकमा केही नक्कली कागज–पत्र प्रकाशित गरे, त्यसमा यहूदी धार्मिक नेता रब्बीले संसारलाई कसरी कब्जा गर्ने भन्ने षड्यन्त्र गरेका छन् भन्ने योजनाको ब्याख्या थियो । त्यही नक्कली कागज–पत्र को निहुँमा जारका रुसी गुप्तचरहरुले ठूलो सङ्ख्यामा यहूदीहरुको हत्या गरे ।

    १६औं र १८औं शताब्दीको समय सम्म आउँदा पनि यहूदीहरुको अबस्थामा खासै परिवर्तन आएको थिएन . तर ईसाई धर्ममा ब्याजमा पैसा लेनदेन गर्ने कार्यलाई वर्जित गरिएको थियो । यस्तो कार्यमा यहूदीहरु अघि सरे । परिणामतः आर्थिक कारोबारको ठूलो हिस्सा यहूदीहरुको हातमा गयो । ब्यापार व्यवसायमा तिनको दख्खल उच्च भयो । तिनको आर्थिक अवस्थामा ब्यापक सुधार आयो । तर अर्को तर्फ तिनको आर्थिक प्रगति प्रति आम–मानिसहरु बिषेशतः आम ईसाईहरुमा घृणा र रोषको भावना पनि बढेर गयो ।       

    जीवन–यापनका सबै ढोकाहरु बन्द गरिएका कठोरतम अवस्था, अवहेलना, अपमान र हिंसाका शिकार बनेका यहूदीहरु जीवनका कठोरतम परिक्षाहरु उत्तीर्ण गर्दै क्रमशः बिभिन्न खाले उद्योग–व्यापार, कृषि आदि पेशामा प्रशिक्षित हुँदै गए । परम्परागत रुपमा नै शिक्षाको उपादेयता र कठोर परिश्रम प्रतिको निरन्तरतामा बिश्वास गर्ने यहूदीहरुको आर्थिक अवस्था १८औं देखि १९औँ शताब्दी सम्म आईपुग्दा निकै मजबूत भईसकेको थियो । आर्थिक स्रोत–साधनहरु उपर उनीहरुरुको राम्रो पकड स्थापित हुँदै गयो । यहूदीहरु ब्याजमा रकम लगानी गर्नमा समेत निकै प्रसिद्ध थिए । संगठित बैंकिंग ब्यबसायमा मात्रै नभई सामाजिक ब्यबहारमा पनि ब्याजमा पैसाको लेनदेन गर्ने कार्यमा यहूदीहरु अगाडी थिए । ईसाई धार्मिक साहित्यको त कुरै भएन आम ईसाई लेखकहरुका साहित्यमा समेत यहूदीहरूको चरित्र चित्रण गर्दा सामाजिक रुपमा उनीहरुको परिचय “सूद्खोर” जातिको रुपमा चित्रण गरिएको पाइन्छ ।

    यस्तो नकारात्मक चित्रणहरु विश्व साहित्यका तत्कालिन कृतिहरुमा यत्र–तत्र पढ्न पाईन्छ । एकातिर परम्परागत रुपमा पनि ईशा मसीहको हत्यामा यहूदीहरुको संलग्नता थियो भन्ने बुझाईले आम ईसाईहरुमा यहूदीहरु प्रति दुर्भावना त थियो नै, त्यसमाथि अधिकांश ईसाई लेखकहरुका साहित्यिक कृतिहरुमा गरिएका यहूदीहरूका नकारात्मक चरित्र चित्रणले आगोमा घिउ थप्ने कामगरेकै थियो । शिक्षा प्रतिको लगाव, लगातारको अथक मेहनत र सुझबुझले सत्रौं शताब्दीको अन्त्य देखि एकातिर ब्यापार–व्यवसायमा यहूदीहरुको सफलता चुलिँदै गयो । अठाह्रौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको प्रारम्भ सम्म आईपुग्दा यहूदीहरू आमरुपमा सम्पन्न मानिसहरुमा गणना हुन थालिसकेका थिए । तर सबैतिर समानान्तर प्रगतिको अभावमा तिनको सम्पन्नताले पूर्वी युरोपका अधिकांश गरिब ईसाईहरुमा भने यहुदीहरु प्रति ईष्र्या र जलनको नकारात्मक भावना अत्याधिक बढाएको अबस्था थियो । यो अवस्था जर्मनीमा सबैभन्दा घृणास्पद रुपमा देखा पर्नुको पछाडी सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धमा जर्मनीको पराजय र “भर्साइलको सन्धी” (Treaty of Versailes) मुख्य कारण थियो । सन्धी अन्तर्गत जर्मनीले ठूलो भू–भाग गुमाउनुपरेको मात्रै थिएन बरु प्रथम विश्वयुद्धमा भएको अन्य देशहरुको क्षतीको क्षतिपूर्तिको भार समेत जर्मनी उपर नै थोपरिएको थियो । यस्तो अबस्थाले जर्मनहरुको जन–जीवन ध्वस्तप्रायः अबस्थामा पुगेको थियो । 

    तत्कालिन जर्मनी सरकारले प्रथम विश्वयुद्धमा जर्मनीको हारको मुख्य कारण आन्तरिक नै हो भनेको थियो । त्यतिबेला सर्वत्र समाजबाद र साम्यवादको लहर चलेको थियो । यहूदीहरु पनि आफ्नो अधिकार र उन्मुक्तिको लागि बिभिन्न संगठनहरु मार्फत अघि बढीसकेका थिए । मानिसहरुमा कार्ल माक्र्सको साम्यवादी बिचारको प्रभाव पर्न शुरु भई सकेको थियो, रुसी क्रान्तिले अबहेलित र शोषित मानिसहरुलाई सङ्घर्षको माध्यम बाट मात्रै उन्मुक्ति प्राप्त हुन सक्छ भन्ने बाटो देखाईदिएको थियो । यहूदीहरू पनि आफ्नो जातीय उन्मुक्तीका लागि कुनै न कुनै संगठनहरुमा आबद्ध भई संघर्षरत थिए । यस्तो अबस्थामा प्रथम बिश्वयुद्धमा जर्मनीको पराजयको प्रमुख आन्तरिक कारणको लागि यहूदीहरुलाई दोषारोपण गर्दै पूर्वी युरोपमा सन् १८५० देखि भड्कीएको क्रिस्चियनहरूको परम्परागत “यहूदी बिरोधी धारणा” को लाभ लिन राजनीतिक दाउपेचमा र मानिसहरुका भावनात्मक पक्षको मोलमोलाई गर्नमा चतुर एडोल्फ हिटलर र तिनका नाजी पार्टी सफल भए । 

    बर्तमान विश्व र यहूदीहरुको योगदान : 

    सन् २०२२ को आंकडा अनुसार बर्तमान विश्वको कुल ८ खर्ब जनसंख्या मध्धे १५.२ मिलियन अर्थात् १ करोड ५२ लाख (०.२%) यहूदी जनसंख्या रहेको अनुमान गरिन्छ । यहूदीहरुको मूल थलो ईजरायलमा ६९ लाख ८३ हजार, अमेरिकामा ६० लाख यहूदीहरूको बसोबास रहेको आँकडा रहेको छ । यस बाहेक १ लाख भन्दा बढी यहूदी जनसंख्या भएका देशहरुमा फ्रान्स (४ लाख ४२ हजार), क्यानाडा (३ लाख ९४ हजार), बेलायत (२ लाख ९२ हजार), अर्जेन्टिना (१ लाख ७३ हजार), रुस (१ लाख ४५ हजार) र जर्मनी (१ लाख १८ हजार) पर्दछन् । यी बाहेक एशिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका बिभिन्न देशहरुमा समेत यहूदीहरू छरिएर रहेका छन् ।  

    बिश्व मानचित्रमा ०.२% जनसंख्या रहेको यहूदीहरुले अहिले सम्म वितरित २१% नोबल पुरस्कार हात पार्न सफल भएका छन् । शिक्षालाई बिशेष जोड दिँदै आएका यहूदीहरू निकै सुझबुझ र दक्षता भएको चतुर जाति समुदाय मानिन्छ । अन्य धर्मावलम्बीहरुलाई धर्म परिवर्तन गराई यहुदी बनाउने कुरामा यहूदी धर्मले बिश्वास गर्दैन बरु त्यस्तो कार्यलाई सकेसम्म हतोत्साहित नै गर्छन् । यहूदी जातिले अनेकन् दुख कष्ट सहेर पनि शिक्षाको फेरो समाउन कहिल्यै छाडेनन् । आफ्ना सन्तानलाई पढाउने र यहूदी संस्कार सिकाउने कार्यमा यिनको प्रतिबद्धता सदैब उदाहरणीय रह्यो । यसैकारण यस जातिमा उल्लेखनीय व्यक्तित्वहरु जन्मिए र तिनको योगदान प्रति सारा विश्वनै कृतज्ञ पनि छ । 

    वैश्विक दर्शनमा उल्लेखनीय प्रभाव पार्न सफल कार्ल मार्क्सको पारिवारिक पृष्ठभूमी यहूदी नै थियो । त्यस्तै रुसी राज नीतिज्ञ एवं रुसी क्रान्ति का एक प्रमुख व्यक्तित्व लियोन ट्रोत्स्की (Leon Trotsky), मार्क्सवादी सिद्धान्तका प्रमुख ब्यतित्व एवं जर्मनी र पोलेंड़का श्रमिक आन्दोलन कि नेतृ रोजा लक्सेमबर्ग (Roza Luxemberg), भौतिकशास्त्र मा नोबेल पुरस्कार बिजेता तथा सापेक्षताबादको सिद्धान्तका प्रणेता महान् बैज्ञानिक अल्बर्ट आईनस्टाईन (Albert Einstein); प्रसिद्ध मनोबिज्ञानविद् (Sigmund Freud); सन् १९५० का नोबेल पुरस्कार बिजेता बेलायती दार्शनिक तथा लेखक वर्ट्रान्ड रस्सेल(Bertrand Russell); इजरायल राष्ट्र को प्रमुख संस्थापिका एवं ईजरायल कि चौथो प्रधानमन्त्री गोल्डा मीर (Golda Meir – सन् १८९८–१९७८), प्रख्यात साहित्य लेखिका एनी फ्रान्क (Anne Frank – सन् १९२९ – १९४५ ), प्रख्यात गायक एवं साहित्यकार, साहित्यमा सन् १९७८ को नोबेल पुरस्कार बिजेता आइज्याक बाशेभिस (Isaac Bashevis), प्रख्यात चलचित्र निर्माता – निर्देशक चलचित्रहरु “SchindlerÚs List" र "Jurasic Park" का निर्माता-निर्देशक स्टीवन स्पिलबर्ग (Steven Spielberg – जन्म १९४६); अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश; लैङ्गिक समानता र महिला अधिकारका लागि वकालत गर्ने अधिकारकर्मी रुथ बादर जिन्सबर्ग (Ruth Bader Ginsburg –१९३३ – २०२०); सन् २०१६ मा साहित्यमा नोबेल पुरस्कार बिजेता तथा प्रतिष्ठित गायक तथा गीतकार बब डिलन (Bob Dylan – जन्मः सन् १९४१) ; प्रसिद्ध साहित्यकार “द मेटामोर्फोसिस“ (The Metamorphosis) का लेखक फ्रान्ज काफ्का (Franz Kafka - सन् १८८३–१९२४); सामाजिक सन्जाल फेसबुकका सह–संस्थापक र सीईओ, एक अग्रणी सामाजिक मिडिया प्लेटफर्म का प्रमुख कार्यकारी मार्क जुकरबर्ग (Mark Zuckerberg – जन्म सन् १९८४); चर्चित अभिनेत्री “ब्ल्याक स्वान“ र “लियोनः द प्रोफेशनल“ चलचित्रमा उल्लेखनीय भूमिका निर्वाहका लागि परिचित तथा एकेडेमी पुरस्कार विजेता अभिनेत्री नताली पोर्टम्यान (Natalie Portman – जन्म १९८१) ; यी केही त्यस्ता चर्चित नामहरु हुन् जसको सम्बन्ध यहूदी समुदायसँग रहेको छ । 

    यहाँ उल्लेखित नामहरुले मानव संस्कृति, समाज र ज्ञान– बिज्ञानका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण योगदान पु¥याएका धेरै यहूदी व्यक्तित्वहरु मध्धेको एउटा सानो अंशको मात्र प्रतिनिधित्व गर्छन् । यहूदी समुदायसँग कला, विज्ञान, राजनीति र अन्य धेरै क्षेत्रहरूमा फैलिएको समृद्ध इतिहास छ र यहूदी दर्शनको पनि लामो र समृद्ध परम्परा छ, उल्लेखनीय व्यक्तित्वहरू जसले विभिन्न दार्शनिक विचारधाराहरूमा महत्त्वपूर्ण योगदान दिएका छन् । यहाँ केही विश्व प्रसिद्ध यहूदी दार्शनिकहरू उल्लेखित छन् : मध्यकालीन यहूदी दर्शन का प्रख्यात दार्शनिक मैमोनिड्स (Maimonides – सन् ११३८ – १२०४); प्रख्यात पुस्तक “गाइड फर द पर्प्लेक्स“ का लेखक Maimon को रूपमा परिचित व्यक्तित्व दार्शनिक, रब्बी, चिकित्सक अर्थात् रब्बी मोसेस बेन थिए । उनले यहूदी धर्मशास्त्रलाई एरिस्टोटेलियन दर्शनसँग तुलना गर्दै सामन्जस्यको खोजी गरेका छन् । त्यस्तै अस्तित्ववादी जर्मन यहूदी दार्शनिक फ्रान्ज रोजेन्जवेग (Franz Rosenzweig – १८८६–१९२९) जसले अस्तित्ववादी विचारमा महत्त्वपूर्ण योगदान दिए ।

    अस्तित्ववाद र यहूदी रहस्यवादी दर्शनका लागि परिचित फेनोमेनोलॉजी, अस्तित्ववाद र यहूदी रहस्यवादी  दर्शनका प्रमुख अभियन्ता दार्शनिक मार्टिन बुबेर (Martin Buber – सन् १८७८–१९६५) एवं दार्शनिक इमानुएल लेभिनास (Emmanuel Levinas – सन् १९०६ – १९९५); राजनैतिक सिद्धान्त, इतिहासको दर्शन र नैतिकतामा जोड दिने “द ह्युमन कन्डिसन” र “इचम्यान इन जेरुसेलम” जस्ता चर्चित पुस्तकहरुका रचयिता दार्शनिक हन्ना एरेन्ड्ट (Hannah Arendt) (सन् १९०६ – १९७५); राजनैतिक दर्शनका विद्वान लियो स्ट्रस (Leo Strauss - सन् १८९९–१९७३); यहूदी रहस्यवाद र “कब्बाला” (Kabbalah) का विद्वान दार्शनिक गेर्शोम स्चोलेम (Gershom Scholem – सन् १८९७ – १९८२; “जेन्डर ट्रबल” की नारीवादी लेखिका जुडिथ बटलर (Judith Butler – सन् १९५६) आदि यस्ता यहूदी नामहरु हुन् जसले बिश्वको दर्शन साहित्यमा ठूलो र गहिरो प्रभाव छाडेका छन् ।

    अन्तरराष्ट्रिय सम्बन्ध केन्द्र त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशक जोशीका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०८०, मंसिर ३० शनिवार०३:३५:४२

    बिनोद जोशी

    प्रतिक्रिया
    सम्बन्धित समाचार