मोरङ । मुलुकमा भएका विभिन्न भ्रष्टाचारलाई ढाकछोप गर्दै गर्दा भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदै गएको कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्।
विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य डा। कोइरालाले भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका कारण बाहिरिएको बताए।
प्रतिनिधि सभा सदस्यसमेत रहेका नेता कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणकै कारण मुलुकमा भ्रष्टाचार बढेको बताए। कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले भने, ‘ललिता निवास जग्गा प्रकरण कहाँ पुग्योरु सुनकाण्डको छानविन कता पुग्योरु भ्रष्टाचार काण्ड बाहिरिँदा छानबिन समिति गठन भए, समितिले प्रतिवेदन भने ल्याउन सकेको पाउँदैनौँ। अब मुलुक नै भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा बदनाम हुन थालेको छ।’
सञ्चार क्षेत्रमा एनसेल प्रकरणले अन्तर्राष्ट्रियस्तरमा बदनाम गराएको बताएका नेता कोइरालाले राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोमा एनसेल काण्ड भएको दाबी गरे।
उनले भने, ‘अहिले चर्चामा रहेका एनसेल काण्डको प्रतिवेदन पनि केही दिनमा सार्वजनिक होला। तर त्यसले राजनीतिक नेतृत्वलाई छुने छैन। व्यापारीलाई हुन सक्छ। कर्मचारीलाई छुन सक्ला। तर, राजनीतिक नेतृत्वमा केही हुनेवाला छैन। हेर्दै जानुहोला।’
नेता कोइरालाले वर्तमान नेतृत्वबाट मुलुक बन्न नसक्ने दाबी गर्दै नेता कोइरालाले जतिसक्दो चाँडो वर्तमान गठबन्धन सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विराटनगरका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला, संस्कृतिसहितको विकासले मात्र विराटनगर समृद्ध हुने बताए।
विराटनगरमा प्रज्ञा प्रतिष्ठान गठन हुने क्रममा रहेको बताएका मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै मानवीय सूचकांकको विकासमा महानगर गम्भीर रहेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुली, जयराम यादव, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, राप्रपाका केन्द्रीय सदस्य केदार कोइराला, प्राध्यापक कविराज न्यौपाने, दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गरेका थिए।