मसानघाट जस्तै भयो मेरो देश, किन कसैलाई दुख्दैन ?

मसानघाट जस्तै भयो मेरो देश, किन कसैलाई दुख्दैन ?

२०८०, पौष ३ मंगलवार

  • 3.0K
    SHARES

  • मसानघाट जस्तै भयो मेरो देश, किन कसैलाई दुख्दैन ?

    स्कुलबाट एसईई पास गर्यो । उत्तीर्ण हुने बिद्यार्थीहरु कक्षा ११ मा भर्ना भयो जेनतेन १२ सम्म पास गर्यो । अनि ती विद्यार्थीहरु एकथरि अष्ट्रेलिया, जापान, क्यानाडा र अमेरिकातिर उड्ने तर्फ पाइला चाल्छन् । एकथरि बिद्यार्थी कतार, दुवई, मलेशियातिर हानिन्छन् । तीतो यथार्थ यही हो ।

    कतिपय विद्यार्थीहरुले आर्थिक अवस्थाका कारण बीचमै पढ्न छाड्छन् । अलिकति विद्यार्थीहरु स्नातक तह निजी कलेजमा पढ्छन् । कतिपयले गाऊँघरमा खोलिएका कलेजहरुमा पढ्छन् । कतिले त्यो तह पार गर्छन् कतिले गर्न नसकि बीचैमा पढ्नै छाडिदिन्छन् ।

    अनि स्नाकोत्तर तह र सो भन्दा माथिल्लो तह अध्ययन गर्ने विद्यार्थी त्रिभुवन विश्व विद्यालयले कहाँबाट पाउनु रु त्यसमाथि पनि राजनैतिक खिचातानी र हस्तक्षेपका कारण पठनपाठन हुँदैनन् । त्यहाँका प्राध्यापक शिक्षकहरुले निजी कलेजका संस्थापक र अध्यापन गर्दैमा फुर्सद नै हुँदैन । अनि कहाँ पाइन्छन् त त्रि.वि.वि. मा विद्यार्थी ? उच्च शिक्षा हासिल गरे वापत कही कतै रोजगारीको अवसर छैन । 

    मुलुकमा शिक्षा, स्वास्थ्य निस्शुल्क र सर्वसुलभ हुनु पर्नेमा त्यही नै जनताको ढाड सेक्ने अवस्थामा छ ।

    मुलुक यतिखेर आर्थिक संकटबाट गुज्रँदै छ । कोरोना कोभिड, भुकम्प, डेंगी, बाढी पैह्रो जस्ता कारणले पुनर्निमाण, औषधोपचार, राहत जस्ता कार्यक्रमले अरबौ अरव रुपैया खर्च बाह्य ऋण वा आन्तरिक स्रोतबाट व्यहोर्नु परेकोले मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गएको छ ।

    त्यसैबिच सहकारी, लघुवित्त, बैकका विरुध्द जाइ लाग्ने केही व्यक्तिहरुको उक्साहटमा पनि मुलुकमा विभिन्न समस्या आईपरेको छ । यस्ता स-साना घटनाहरु राज्य विरुध्द गरेका गतिविधीले पनि नकारात्मक रुपमा अघि बढेको छ । राज्यले ती व्यक्ति वा संस्थालाई कार्वाही गरेर कानुनी दायरामा ल्याउन आवश्यक देखेन । त्यसकारण त्यस्ता व्यक्तिहरुको उक्साहटबाट मुलुक अराजकता तर्फ गएको आभाष भएको छ । 

    सरकारी अस्पतालमा डाक्टर भेटिन्नन । क्लिनिकमा तुरुन्तै भेटिन्छन् । अवस्था यही छ ।

    राजधानीका ठुला ठुला मलहरु बन्द भएका छन् । हुँदैछन् । शहरका सटलहरु पसलहरु बन्द हुदैछन् । देशको आर्थिक गतिविधी जर्जर थिलथिलो भएको छ । शहरका घरहरु खाली हुदैछन् । डेरावाल पाइन छाडिसक्यो ।

    गाऊँ बस्ती शुन्य झै भइसके । बृध्द, महिला र केटाकेटी मात्र भेटिन्छन् । खेतीपाती सबै बाँझो छ । समयमा मल बिऊ पाइन छाड्यो । खेतबारीमा फलेका बस्तु बिक्दैनन् । सडकमा फाल्नु पर्ने अवस्था छ । कृषकका बजार फौबन्जारको कब्जामा छ ।

    उद्योग खोल्ने कसैका चस्मा खुलेनन् । बेरोजगार न्युनिकरण गर्ने कुनै योजना छ र ? रोजगारकोलागि कता कता दरवन्दी थपियो ?

    त्यही सेना, शसस्त्र, प्रहरी, निजामती, शिक्षण संस्था, संस्थानमा निश्चित दरवन्दी बाहेक अरु केही थप रोजगारीको अवसर छ र ? कसले नै के पो दिएको छ ?

    खोलिएका कल कारखाना उद्योग धन्दा बन्द हुँदैछन् । नयाँ निजी कम्पनी, उद्योग चलाउन, हौसला, प्रोत्साहन केही छैन । उद्योग, कलकारखाना खोल्न कोही उत्साहित छैनन् । ऐन कानुन वाधक छँदैछ । नेपालको कानुन दैव जानुन् लोकोक्ती त्यस्तै छ ।  

    नेता, राजनेताहरुसँग निती निर्माता, सचिव, कर्मचारी, योजनाविद्, भारे टाकुरे नेताहरु संसार घुमेकै छन् । संसार चीन, जापान, मलेशिया, कोरिया, के कसरी विकास हुन्छ बुझेकै छन् ? तर तिनले त्यस्तो निती योजना किन बनाउदैनन् ? या वनाउन चाहदैनन् ?

    तीनका काम प्लेन चढ्ने, भत्ता पचाउने, छोराछोरी भेटघाट गर्ने, अनि मन्चमा बसेर मिठा चिप्ला भाषण गर्ने वाहेक केही काम छ त ? तर यहाँ केही गर्नै नपर्ने ? विकासका योजना बनाउनै नपर्ने ?

    राम्रो नराम्रो काममा पुरस्कार र दण्ड सजाय नगर्ने ? कस्तो मेरो देश ? जन्मेदेखिको बाटो जहाँको त्यही ? हिजो कन्चनपुर घर पुग्न २० घण्टा आज पनि २० घण्टा ? के परिवर्तन भयो त ? देशको राष्ट्रिय राजमार्ग कहाँ कहिले सुध्रने ?

    राजनैतिक दलहरुले निर्वाचनमा गरेका प्रतिवध्दता पुरा नगरेका कारणले आम जनता दलहरुप्रति वितृष्णा ज्यादै बढेको छ । 

    विदेशमा केही सीप सिकेर केही गरौ भन्ने युवालाई सरकारी संयन्त्रबाटै हतोत्साहित । पछिल्लो समय मुलुकमा कतिपय उद्योग धन्दा, कल-कारखाना बन्द हुँदैछन् । दक्ष जनशक्ति हात बाँधेर बस्नु पर्ने या विदेश पलायन भएका छन् । यसरी भएका गलत गतिविधीका कारण पूँजी विदेश तर्फ पलायन हुँदैछ ।

    संयुक्त लगानीमा खोलिएका कम्पनीहरु बन्द हुने अवस्था वा पूँजी विदेशिने क्रममा छ । धन्न मलेशिया, कतार, दुवई, जस्ता खाडी मुलुकवाट आएका रेमिट्यान्सबाट मुलुक धानेको छ । सरकारले वैदेशिक रोजगारमा जाने रोजगारदातालाई प्रोत्साहन र हौसला छैन । यसको चिन्ता कसले गर्ने ?

    आम नेपालीका छोराछोरीहरु विदेशका विभिन्न विश्वविद्यालय अध्ययनमा गएका छन् । मुलुकका दक्ष शैक्षिक जनशक्ति थप अध्ययनकालागि वा रोजगारकालागि गएका ती विद्यार्थीहरु त्यहाँको स्रोत र साधन सुविधाको अधिकतम प्रयोग गरी त्यहाँ पाएका सुविधाका कारण स्वदेश फर्कन चाहँदैनन् । यही विदेश मोहले दक्ष, योग्य व्यक्ति पलायन हुने कुरामा दुइ मत नहोला । 

    विगत दुई दशकदेखि विदेशमा अध्ययन गएका नेपालीहरु नेपाल फर्केका छैनन् । तिनले कतिपय ग्रीनकार्ड लिए, कतिपय लिने प्रक्रियागत रुपमा रहेका छन् । ती अव सबै विदेशी भुमी मै रमाउन चाहान्छन् । त्यसको असर स्वदेशमा बस्ने आफ्ना (बा आमा) वृध्द वृध्दाहरुको नेपालमा विरामी भएका समय उपचार पाउन नसक्ने र आफ्ना अभिभावकहरु मृत्युवरण गरेको वेला लाश उठाउने र दागबत्ती दिन समेत बिदेशबाट छोरा छोरी कुर्नु पर्ने दिन आएको छ ।

    एउटा पुस्ता ग्याप हुन लागिसक्यो । यो मुलुककालागि शोभनीय हुँदै होइन । यस तर्फ कसले चिन्ता गर्ने ? यसरी नै चलेको छ मेरो देश ? कतिन्जेल चल्ने हो ? नव उद्यमी, व्यापारीहरुलाई कतै माया गरे जस्तो लाग्दैन ।

    बैक, वित्तिय संस्थाले ऋणीहरुलाई माया र प्रोत्साहन गरे जस्तो लागेन । जोरजुलुम जस्ताको तस्तै ? ठेकेदार, चाकडीबाज, डनहरुले प्रोत्साहन पाउने देश !

    आशा गर्ने, युवाहरुलाई रोक्ने केही कार्यक्रम छ यो देशमा ? यो देशको चिन्ता कसले गर्ने ?

    नेपाल शिक्षक संघका उपाध्यक्ष तथा वरिष्ठ प्रधानाध्यापक पन्तका अन्य पाठ्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०८०, पौष ३ मंगलवार१०:५९:३२

    सुन्दर पन्त

    प्रतिक्रिया
    सम्बन्धित समाचार