गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ : मन्त्री गुरुङ

गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ : मन्त्री गुरुङ

२०८०, माघ ६ शनिवार

  • 801
    SHARES

  • गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ : मन्त्री गुरुङ

    वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताउनुभएको छ ।

    सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्नुहुँदै उहाँले गठबन्धनको महत्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताउनुभएको हो ।

    “गठबन्धन चानचुने ढङ्गले अगाडि बढेको छैन”, उहाँले भन्नुभयो, “यो गठबन्धनलाई देख्दा अरुलाई इष्र्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।”

    गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्नुहुँदै उहाँले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताउनुभयो ।

    “कुनै पनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिन भन्न पाइने छैन, त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो, “गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ ।”

    यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा (माओवादी केन्द्र)बाट मनरुपा शर्मा उम्मेदवार हुनुहुन्छ ।

    यही माघ २ गते नवलपुरदेखि सुरु भएको प्रचारात्मक अभियान आज स्याङ्जा आइपुगेको हो । अभियान नवलपुर, गोरखा, लमजुङ, तनहुँ हुँदै आज स्याङ्जा आइपुगेको राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा कांग्रेसको दुई हजार सात सय चार, माओवादी केन्द्रको नौ सय ९४, नेकपा (एकीकृत समाजवादी)को ७२, राष्ट्रिय जनमोर्चा नेपालको ५७ मतभार छ । गण्डकी प्रदेशमा गठबन्धनको तीन हजार आठ सय २७ मतभार छ भने नेकपा (एमाले)को दुई हजार चार सय ५८ मतभार छ ।

    २०८०, माघ ६ शनिवार०८:२९:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार