नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

२०८३, भाद्र ४ बिहिवार

  • 269
    SHARES

  • नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

    काठमाडौं । नेपालमा लामखुट्टेको प्रजाति र यसको माध्यमबाट सर्ने कीटजन्य रोगको जोखिम बढ्दै गएको पाइएको छ। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि भएको स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन्।

    विश्व लामखुट्टे दिवसका अवसरमा नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदैछ। लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिमबारे जनचेतना अभिवृद्धि गर्दै रोगको रोकथाम र नियन्त्रणमा नागरिकको सहभागिता बढाउने उद्देश्यले यो दिवस मनाइन्छ।

    लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिस लगायतका रोग सर्न सक्छन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसारगत आर्थिक वर्षमा यी विभिन्न कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।

    पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावटको दायरा परिवर्तन हुँदै गएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। यसका कारण विगतमा तुलनात्मक रूपमा कम जोखिममा रहेका उच्च हिमाली तथा पहाडी क्षेत्रमा समेत लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्दै गएको छ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार तापक्रम वृद्धि, वर्षाको स्वरूपमा आएको परिवर्तन, शहरीकरण तथा वातावरणीय परिवर्तनले लामखुट्टेको प्रजनन र फैलावटका लागि अनुकूल अवस्था सिर्जना गरिरहेको छ।

    सरकारले कीटजन्य रोग नियन्त्रण तथा निगरानीलाई प्रभावकारी बनाउन सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

    किट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पछिल्लो समय नेपालका ५६ जिल्लामा कीटजन्य रोग देखापरिसकेको छ।

    स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, झुलको प्रयोग गर्ने तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

    लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि सरकारी प्रयाससँगै व्यक्तिगत सावधानी, समुदायको सक्रियता र वातावरणीय सरसफाइलाई पनि उत्तिकै महत्वपूर्ण मानिएको छ।

    २०८३, भाद्र ४ बिहिवार१२:२३:३९

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार