हिमाल चढ्ने पर्यटकसँगै गाउँमा पुग्दैछ समृद्धिको अवसर

हिमाल चढ्ने पर्यटकसँगै गाउँमा पुग्दैछ समृद्धिको अवसर

२०८३, भाद्र ५ शुक्रवार

  • 301
    SHARES

  • हिमाल चढ्ने पर्यटकसँगै गाउँमा पुग्दैछ समृद्धिको अवसर

    सोलुखुम्बु । नेपालमा पर्वतीय पर्यटन अब साहसिक यात्राको माध्यम मात्र रहेन, स्थानीय अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार बन्दै गएको छ। सगरमाथासहित विश्वका अग्ला हिमाल र सयौँ आरोहणयोग्य शिखरका कारण नेपालले पर्वतीय पर्यटनबाट ठूलो आर्थिक सम्भावना हासिल गरिरहेको छ।

    कोभिड-१९ महामारीका कारण सुस्ताएको पर्वतीय पर्यटन पछिल्ला वर्षमा तीव्र गतिमा पुनरुत्थान भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२१ मा ट्रेकिङ तथा पर्वतारोहणका लागि नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या २८ हजार ६०० मात्र थियो। सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या बढेर एक लाख ६५ हजार ५६ पुगेको छ।

    चार वर्षको अवधिमा पर्वतीय पर्यटकको सङ्ख्या ४७७.१ प्रतिशतले बढेको हो। सन् २०२५ मा नेपाल आएका कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटकमध्ये १४.२ प्रतिशतको मुख्य उद्देश्य ट्रेकिङ तथा पर्वतारोहण थियो।

    पर्वतीय पर्यटनको आर्थिक प्रभाव आरोहण अनुमति र सरकारी रोयल्टीमा मात्र सीमित छैन। एउटा विदेशी आरोही नेपाल आएदेखि फर्किएसम्म आवास, खानपान, यातायात, गाइड, भरिया, आरोहण सामग्री, सञ्चार, बीमा र उद्धारलगायत विभिन्न क्षेत्रमा खर्च गर्छ।

    यसले पर्यटन व्यवसायी मात्र नभई स्थानीय श्रमिक र सेवा प्रदायकसम्म आम्दानी पुर्‍याउँछ।

    विश्वविख्यात पर्वतारोही स्पीडकाजी शेर्पाका अनुसार पर्वतीय पर्यटकको आर्थिक प्रभावलाई पर्यटकको सङ्ख्या वा रोयल्टीबाट मात्र मापन गर्न नहुने बताउनुहुन्छ। उहाँका अनुसार विमानस्थलदेखि हिमालसम्म पर्यटकसँग जोडिने विभिन्न सेवा क्षेत्रमा ठूलो संख्यामा नेपालीले रोजगारी पाउने गरेका छन्।

    नेपालका हिमालबाट राज्यले प्रत्यक्ष रूपमा पनि उल्लेख्य आम्दानी गर्दै आएको छ।

    सरकारी तथ्याङ्कअनुसार नेपाल पर्वतारोहण सङ्घमार्फत अनुमति जारी हुने २७ वटा हिमालमा सन् २०२५ मा सात हजार ५४ जनाले आरोहण अनुमति लिएका थिए। तीमध्ये छ हजार ९०३ विदेशी र १५१ नेपाली आरोही थिए।

    यी हिमालबाट मात्रै १४ लाख २५ हजार ७२० अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो।

    तर पर्वतारोहणबाट सिर्जना हुने वास्तविक आर्थिक लाभ यसभन्दा निकै ठूलो रहेको पर्वतीय पर्यटन क्षेत्रका जानकारहरूको भनाइ छ। आरोहणका लागि आवश्यक उपकरण, खाद्यान्न, गाइड, उच्च हिमाली कामदार, होटल, यातायात तथा अन्य सेवामा हुने खर्चले स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउँछ।

    पर्वतीय पर्यटनको आर्थिक प्रभावको उत्कृष्ट उदाहरण सोलुखुम्बु हो। लुक्लादेखि फाक्दिङ, नाम्चे, थामे, तेङ्बोचे, दिङ्बोचे र लोबुचेसम्म पर्यटन व्यवसायको ठूलो सञ्जाल विकास भएको छ।

    होटल, लज, रेस्टुरेन्ट, पसल, गाइड, भरिया, यातायात, सञ्चार र पर्यटन सामग्रीको कारोबार प्रत्यक्ष रूपमा पर्वतीय पर्यटकसँग जोडिएको छ।

    तर सोलुखुम्बुको पर्यटन सगरमाथामा मात्र सीमित छैन। मेरा पिक, आइल्यान्ड पिक र लोबुजे जस्ता हिमाल पनि लोकप्रिय आरोहण गन्तव्यका रूपमा विकसित भइरहेका छन्।

    नेपाल पर्यटन तथ्याङ्क-२०२५ अनुसार यी तीन हिमालमा मात्रै ६ हजार ४८६ जनाले आरोहण अनुमति लिएका थिए। मेरा पिकमा दुई हजार ६३३, आइल्यान्ड पिकमा दुई हजार ७८ र लोबुजेमा एक हजार ७७५ जनाले अनुमति लिएका थिए।

    नेपालको पर्वतीय पर्यटन विस्तारको अर्को ठूलो सम्भावना कम चर्चित हिमालको प्रवर्द्धनमा रहेको छ।

    सगरमाथालगायत सीमित गन्तव्यमा पर्यटकको चाप केन्द्रित हुँदा पर्यटनबाट प्राप्त आर्थिक लाभ पनि निश्चित क्षेत्रमा सीमित हुने गरेको छ। नयाँ आरोहण गन्तव्यको विकास र अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न सके नयाँ क्षेत्रमा पूर्वाधार निर्माण, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिन्छ।

    कीर्तिमानी आरोही तेम्बाछिरि शेर्पाका अनुसार नेपालले सगरमाथाको ब्रान्डमा मात्र निर्भर नभई हिमालको विविधतालाई विश्व बजारमा प्रस्तुत गर्न आवश्यक छ।

    पर्वतीय पर्यटनले गाइड, भरिया, कुक, होटल कर्मचारी, आरोहण सहयोगी, उद्धारकर्मी तथा पर्यटन व्यवसायीसहित विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गरेको छ।

    तर अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउन दक्ष र प्रमाणित जनशक्ति आवश्यक छ। सुरक्षित आरोहणका लागि व्यावसायिक गाइड, उद्धारकर्मी र उच्च हिमाली कामदारको क्षमता विकासमा लगानी बढाउनुपर्ने देखिन्छ।

    नेपाल पर्वतारोहण सङ्घले व्यावसायिक माउन्टेन गाइड उत्पादनका लागि तालिम तथा दक्षता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    पर्वतीय पर्यटनको विकाससँगै हिमाल संरक्षण चुनौती पनि थपिएको छ। जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमतालमा परिवर्तन आउने, हिमपहिरोको जोखिम बढ्ने तथा आरोहण मार्ग प्रभावित हुने क्रमले पर्वतीय पर्यटनको भविष्यमा असर पार्न सक्छ।

    त्यसैले पर्यटन प्रवर्द्धनसँगै हिमाल संरक्षण, फोहोर व्यवस्थापन, सुरक्षित आरोहण र उच्च हिमाली उद्धार क्षमतामा पनि समान प्राथमिकता आवश्यक छ।

    पर्वतीय पर्यटनबाट राज्यले प्राप्त गर्ने रोयल्टी महत्वपूर्ण भए पनि यसको सबैभन्दा ठूलो सम्भावना स्थानीय अर्थतन्त्रसँग जोडिएको खर्चमा छ।

    काठमाडौँमा आरोहणको तयारीदेखि लुक्लासम्मको हवाई यात्रा, होटल तथा लज, गाइड-भरियाको पारिश्रमिक, खाद्यान्न, आरोहण सामग्री, सञ्चार, बीमा र उद्धारसम्म पर्यटकको खर्च फैलिन्छ।

    यसबाट स्थानीय व्यवसाय र श्रमिकले प्रत्यक्ष लाभ पाउने भएकाले पर्वतीय पर्यटनलाई गाउँको अर्थतन्त्रसँग अझ बलियो रूपमा जोड्नुपर्ने आवश्यकता छ।

    नेपालका लागि अबको चुनौती पर्यटकको सङ्ख्या बढाउनु मात्र होइन, हिमालबाट सिर्जना हुने आर्थिक अवसरलाई स्थानीय समुदायसम्म पुर्‍याउनु, नयाँ गन्तव्य विकास गर्नु र वातावरण जोगाउँदै पर्वतीय पर्यटनलाई दीगो आर्थिक आधार बनाउनु हो।

    २०८३, भाद्र ५ शुक्रवार०१:३५:५५

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार