ट्रेन्डिङमा दुई नं मा पुग्यो ‘फुटेका चुरा’

ट्रेन्डिङमा दुई नं मा पुग्यो ‘फुटेका चुरा’

२०७७, मंसिर २० शनिवार

  • 2.4K
    SHARES

  • ट्रेन्डिङमा दुई नं मा पुग्यो ‘फुटेका चुरा’

    मंसिर २०, काठमाडौं ।

    सार्वजनिक भएको पाँचौँ दिन नबित्दै प्रकाश सपुतको लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको दुई नं मा पुगेको छ । शनिवार बेलुका सम्ममा उक्त गीतको  ‘भ्यूज’ साढे तेर्ह लाख नाघिसकेको छ ।

    गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।

    गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका छन् । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा सात हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ८१ हजारले ‘लाइक’ गरिसकेका छन् ।

    कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

    कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् ।

    आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताए । 

    “गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक÷श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन् । 

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे ।

    गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त छन् । 

    २०७७, मंसिर २० शनिवार०४:३२:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार