पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान

पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान

२०७७, चैत्र १ आइतवार

  • 1.2K
    SHARES

  • पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान

    महोत्तरी । आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका–३ पाटुका डा सुवास घिमिरेले रु एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् ।

    आफैँ दन्त चिकित्सक रहेका डा घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब रु एक करोड २५ लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका हुन् । 

    डा घिमिरेले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा शनिबार नै अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।

    नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल रु ४५ लाख उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् ।

    अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा आउने नगरप्रमुख कार्कीको भनाइ छ ।

    शिलान्यास समारोहमा डा घिमिरेले सामाजिक क्षेत्रमा जीवनका अन्तिम क्षणसम्म योगदान दिएका आफ्ना स्व पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान गरेको बताए ।

    बर्दिवास–सिन्धुली–बनेपा (बिपी) राजमार्गसँगै जोडिएको जग्गामा अस्पताल निर्माण थालिएको हो ।

    सो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा र उदयपुरसम्मका सर्वसाधारण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने डा घिमिरेको भनाइ छ । 

    २०७७, चैत्र १ आइतवार०७:५१:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार