नयाँ च्याम्पियन ‘रियालिटी शो’ कथाकुथुङ्ग्रीको अडिसन हुँदै 

नयाँ च्याम्पियन ‘रियालिटी शो’ कथाकुथुङ्ग्रीको अडिसन हुँदै 

२०७७, मंसिर २२ सोमवार

  • 1.5K
    SHARES

  • नयाँ च्याम्पियन ‘रियालिटी शो’ कथाकुथुङ्ग्रीको अडिसन हुँदै 

    मंसिर २२, काठमाडौँ ।

    मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आइतवार देखि शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आइतवार औपचारिक घोषणा गरिएको हो ।

    शोमा अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइने छ । कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फाराम भरी पठाउने व्यवस्था मिलाइएको छ । 

    कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले आइतवार आयोजित पत्रकार सम्मेलनमा औपचारिकरुपमा घोषणा गरे ।

    देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नका लागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे ।  

    नाट्य निर्देशक विमल सुवेदीले अहिलेका अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ समयको माग भएको बताउँदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कलाप्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  

    राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक राजेन्द्र पौडेलले नाट्य अभियान सफल पार्न सम्पूर्ण सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिए । सामाजिक अभियानकर्मी रीता परियारले सबै क्षेत्रका व्यक्तिका लागि एकै स्थानमा अटाउने मञ्च कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ भएको बताए ।  

    पछिल्लो समय विश्वभर कोभिड–१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिलाई कथा वाचनमार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए ।

    कथाकुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको उनले सुनाए । कोरोना कालमा बन्द रङ्गमञ्च, चलचित्र क्षेत्रका लागि वैकल्पिक मञ्चका रुपमा कथाकुथुङ्ग्री च्याम्पियन शो शुरु भएको जनाइएको छ । 

    विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट हुने उत्कृष्ट सहभागीलाई आकर्षक पुरस्कारसमेत व्यवस्था गरिएको छ । प्रथम हुनेलाई रु दुई लाख, द्वितीयका लागि रु एक लाख ५० हजार र तृतीय हुनेलाई रु ५० हजारसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिए ।  

    कार्यक्रम सफल बनाउन विभिन्न नाट्य समूह, सहकारी सङ्घसंस्था, शैक्षिक सङ्घसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताए ।

    अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा शुरु हुने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियन निर्णायकमण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रङ्गकर्मीद्वय आरके मेहता र सरिता साह छन् । 

    विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुकमा कथाको कुनै कमी नभएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म, रोजगारीका लागि घरदेश छाडेर परदेश गएकाहरुसम्म सबैले प्रतियोगितामा भाग लिन पाउने कथाकुथुङ्ग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताए ।  

    ओझेलमा परेका, छेकिएका, नदेखिएका सातै प्रदेशका कथा र प्रतिभालाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथाकुथुङ्ग्री च्याम्पियन भएको उनले बताए । 

    २०७७, मंसिर २२ सोमवार०७:१४:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार