काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) साँझ निधन भएको छ ।
गएको फागुन १४ गते अचानक मष्तिष्कघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत रहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।
मष्तिष्कघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । केहि दिनको उपचार पछि उनलाई भेन्टिलेटर बाहिर निकालिएको थियो । उनलाई असहज भएको महशुस गरि गत हप्ता मात्र पुनः भेन्टिलेटरमा राखी उपचार अगाडि बढाईको थियो ।
अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पताल प्रशासनले जनाएको छ ।