प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीवाट हटाइयो

प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीवाट हटाइयो

२०७७, चैत्र १८ बुधवार

  • 961
    SHARES

  • प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीवाट हटाइयो

    पर्वत । पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १०५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ ।

    तोकिएको समयभित्र निजी आवास ममर्तको लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने प्रवलीकरणका लाभग्राहीलाई सूचीबाट हटाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार भूकम्पपीडितलाई पछिल्लो पटक २०७७ मङ्सिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसीमा तोकिएको थियो ।

    जिल्लामा प्रवलीकरणका कूल लाभग्राहीको सङ्ख्या ३२५ रहेको छ । तीमध्ये २२० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता रु ५० हजार घर ममर्तको लागि लगेको नायब सुुब्बा बालकृष्ण शर्माले जानकारी दिए । 
     
    प्रवलीकरणको लाभग्राहीको सूचीबाट हटाएकामध्ये सबैभन्दा बढी फलेबास नगरपालिकाका रहेका छन् । फलेबास नगरपालिकाका ६१ लाभग्राही सूचीबाट हटेका छन् ।

    त्यस्तै बिहादी गाउँपालिकाका २७, पैयूँ गाउँपालिकाका ७, कुश्मा नगरपालिकाका ५ महाशीला गाउँपालिकाका तीन तथा मोदी र जलजला गाउँपालिकाका एक एक लाभग्राही छन् ।

    घर ममर्त सम्पन्न गरी दोस्रो तथा अन्तिम किस्ताको लागि भने अहिलेसम्म कुनै सिफारिस नआएको शर्माले बताए। “घर बनाउन आवश्यक नभएको तर लाभग्राही सूचीमा नाम निस्किएकाले सम्झौता नगरेको देखियो”, उनले भने । 

    प्रवलीकरणका लाभग्राहीले दुई किस्तामा रु ५०/५० हजार गरी रु एक लाख पाउनेछन् । शर्माका अनुसार प्रवलीकरणका लाभग्राहीमध्ये पनि पुनःनिर्माणतर्फ परिवर्तन हुन चाहाने लाभग्रहाीको सङ्ख्या ३४८ रहेको छ । 

    २०७७, चैत्र १८ बुधवार०३:३३:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार