काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अपाच्य भएको बताएका छन् ।
बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताए ।
बैठकमा सहभागी राप्रपा अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखको भूमिकाप्रति अशन्तुष्टि व्यक्त गरेको बताए । लोहनीले भने( प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे,संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र)र नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भने कोही सहभागी भएका छैनन् ।