वैशाख ५, काठमाडौं । फुटवल जायन्ट कप्तान लिओनल मेसीको जादुई प्रदर्शनमा बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ ।
शनिबार मध्यराति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० देखि ७२ मिनटभित्र बार्सिलोनाले चार गोल गरेको थियो ।
खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । ८६औं मिनेटमा ग्रीजमनले गोल गरेपनि भिएआर सिस्टमबाट हेर्दा गोल नभएको भन्दै रेफ्रीले मान्यता दिएनन् । अन्तत : बार्सिलोना ४-० ले विजयी बन्दै शिल्ड उठाउन सफल भयो ।
बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ ।