लहान । कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सबै स्थानीय तहको न्यायिक समितिमा कानून व्यवसायी नियुक्त गर्न लागेको बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिकास्थित चोहर्वामा आज राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला भेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले न्यायिक सेवामा जनताको सहज पहुँच पुु¥याउन र प्रभावकारी रुपमा न्याय सम्पादनका लागि स्थानीय न्यायिक समितिमा कानूनी सहायता अधिकृतको रुपमा कानून व्यवसायी नियुक्त गर्न लागिएको बताए ।
“न्यायिक समितिमा कानूनी दक्षता भएका व्यक्ति नहुँदा जनताले सहज रुपमा कानूनी सेवा उपभोग गर्न सकिरहेको छैन”, कानूनमन्त्री श्रेष्ठले भने, “त्यसैले देशको सबै स्थानीय तहको न्यायिक समितिमा कानून व्यवसायी नियुक्त गर्न लागेका छौँ ।” यसबाट दलित, विपन्न समुदायले सहज रुपमा न्यायको अनुभूति पाउने उनको विश्वास थियो ।
साथै ७७ वटै जिल्लाको जिल्ला अदालतमा एक-एक जना कानुनी सहायता अधिकृत नियुक्तिको प्रक्रिया समेत अघि बढाएको मन्त्री श्रेष्ठले बताए ।
सरकारले गरिरहेको एकपछि अर्को लोकप्रिय काम देखेर तर्सिएका प्रतिपक्षी दलहरु सरकारविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाउनुहुँदै मन्त्री श्रेष्ठले वर्तमान सरकारले मुलुकलाई सम्बृद्ध बनाउन स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायतका क्षेत्रमा लोकप्रिय कार्य गरिरहेको दाबी समेत गरे ।
“वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासको सँगै मुलुकलाई सम्बृद्ध बनाउने थुप्रै योजनाहरु अघि सारेको छ”, मन्त्री श्रेष्ठले भने,“विभिन्न स्थानमा १३ वटा सुरुङ्ग मार्ग निर्माण, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जस्ता गौरवका योजनाहरु तीब्र रुपमा अघि बढाएको छ ।” सरकारले अघि बढाएको योजनाहरु छिटै सम्पन्न हुने र यसबाट मुलुक सम्बृद्ध हुने उनको विश्वास थियो ।
नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टीको निर्देशन विपरीत जाने नेताहरुलाई पार्टीले कारवाही गर्ने बताए । “अहिले पार्टीभित्रै बसेर कतिपय नेता पार्टीलाई फुटाउने, पार्टीको भावना विपरीत समानान्तर समिति बनाउन थालेका छन्”, नेता बस्नेतले भने,“ती सबै नेतामाथि हामीले निगरानी गरिरहेका छौँ, छिट्टै पार्टीले ती नेतालाई कारवाही गर्नेछ ।” पार्टीको निर्देशन विपरीत हिँड्ने नेताको पछाडि नलाग्न उनले नेता कार्यकर्तासँग आग्रह गरे ।