सुदूरपश्चिम प्रदेशसभा : सातौँ अधिवेशन अन्त्य हुँदै

सुदूरपश्चिम प्रदेशसभा : सातौँ अधिवेशन अन्त्य हुँदै

२०७८, बैशाख ७ मंगलवार

  • 1.5K
    SHARES

  • सुदूरपश्चिम प्रदेशसभा : सातौँ अधिवेशन अन्त्य हुँदै

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन(हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

    प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।  संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

    गएको माघ २६ गते शुरु भएको यो अधिवेशनअन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो ।

    सातौँ अधिवेशनमा प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ । 

    यसैगरी प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ । 

    दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको पर्यटनलगायत विधेयक विचारधीन रहेका छन् । अधिवेशनको अन्तिम दिन आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टकोतर्फबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सदस्य अमबहादुर साउद, वीरमान चौधरी, गोविन्दराज बोहरा र मालामतिकुमारी रानाथारुले भाग लिएका थिए ।

    २०७८, बैशाख ७ मंगलवार०५:१२:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार