बिल गेट्स : विवाहको २७ वर्षपछि मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्ने निर्णय

बिल गेट्स : विवाहको २७ वर्षपछि मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्ने निर्णय

२०७८, बैशाख २१ मंगलवार

  • 1.8K
    SHARES

  • बिल गेट्स : विवाहको २७ वर्षपछि मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गर्ने निर्णय

    लन्डन । संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।

    एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन्।

    माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्।

    उक्त जोडीले 'धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवाह अन्त्य गर्ने निर्णय गरेको' सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

    गेट्स दम्पतीले किन गरे सम्बन्ध विच्छेद ? 

    उनीहरूको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध भएकी थिइन्।

    उनीहरूका तीन सन्तान छन्।

    उनीहरू संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्छन्।

    उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौँ डलर खर्च गरेको छ।

    वारेन बफेटसहित गेट्स दम्पती 'गिभिङ प्लेज'मा पनि आबद्ध छन् जसले अर्बपतिहरूलाई आफ्नो धनको ठूलो हिस्सा असल कामहरूका लागि उपलब्ध गराउन प्रतिबद्धता जनाउन अनुरोध गर्ने गर्छ।

    फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ।

    सन् १९७० को दशकमा आफू सहसंस्थापक रहेको फर्म माइक्रोसफ्टबाट उनले उक्त सम्पत्ति कमाएका हुन्।

    माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो।

    उक्त दम्पतीले आफ्नो सम्बन्धविच्छेदको घोषणा ट्विटरबाट गरेका थिए।

    "विगत २७ वर्षमा हामीले तीन अद्‌भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ। हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ। तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ," उनीहरूले भनेका छन्।

    उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई सम्मान गर्न भनेको छ।

    उनीहरूको भेट कसरी भयो ?
    मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएकी थिइन्।

    त्यही वर्ष दुवै जना एक व्यावसायिक रात्रिभोजमा सँगै बसेका थिए। पछि उनीहरूले सम्बन्ध अघि बढाए।

    बिलले नेटफ्लिक्सको एउटा वृत्तचित्रलाई भनेका छन्, "हामी एक अर्काको एकदमै ख्याल राख्थ्यौँ र त्यहाँ दुइटा मात्रै सम्भावना थियो या त हामी अलग हुनुपर्थ्यो या हामीले विवाह गर्नुपर्थ्यो।"

    मेलिन्डाले बिललाई आफूले मनले निर्णय गर्नुपर्ने विषयमा पनि एकदमै व्यवस्थित व्यक्तिका रूपमा पाएको उल्लेख गरेकी छन्।

    उनले विवाह गर्नुका लाभ र हानिबारे ह्वाइट बोर्डमा लेखेको बताइन्छ। दुवै जनाले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरेको थियो।

    त्यस बेला आफूले नचाहेका व्यक्तिहरू आउन नसकून् भनेर सबै स्थानीय हेलिकप्टरहरूलाई उक्त जोडीले भाडामा लिएका विवरण आएका थिए।

    गत वर्ष गेट्सले परोपकारी काममा सक्रिय हुन माइक्रोसफ्टको बोर्डबाट अलग हुने बताएका थिए।- बीबीसीबाट

    २०७८, बैशाख २१ मंगलवार११:०२:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार