पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् ।
वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकारको बाटो खुलेको थियो । सोही दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई दिएको ३ दिनको समय सिमा भोलि दिउँसो सकिँदै छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका १५, माओवादीका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गरेकी छन् ।
तर प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पुष्टि गरे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।
यदि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ ।
राजमोमा आएको किचलोले भने केन्द्रीय सरकार गठनमा कुनै प्रभाव पार्ने छैन । केन्द्रीय सरकार गठनमा पनि गण्डकीमा जस्तै राष्ट्रपतिले जेठ ३० सम्मको बहुमतीय सरकारका लागि समय सिमा दिएकीछन् ।