कोरोना संक्रमणको महामारीमा खलपात्रहरुको प्रपन्च

कोरोना संक्रमणको महामारीमा खलपात्रहरुको प्रपन्च

२०७८, जेठ १ शनिवार

  • 4.9K
    SHARES

  • कोरोना संक्रमणको महामारीमा खलपात्रहरुको प्रपन्च

    काठमाडौं । आज म, तपाइँ अनि हामी सबै कोरोना महामारीको संक्रमणले त्रस्त छौं । सामाजिक संजालमा देखिने हरेक नयाँ तस्विरहरुले अब झस्काउन पो थालेको छ । आफन्त, साथीभाई र चिनजानका मानिसहरुको दुख:द असामयिक अवसानले बाँचेकाहरूमा पनि कुण्ठा, आक्रोश र त्रास बढाउदै लगेको छ । मृत्युले उमेर, धनी-गरीब, नेता-कार्यकर्ता, पहुँचवाला होस् वा आमजनता कसैलाई छाडेको छैन। संक्रमितहरुको संख्यामा भएको वृद्धि सँगै उपचारको कठिनाई बढ्दो क्रममा रहेको छ ।

    अक्सिजन र भेन्टिलेटरको अभाव बढ्दै गएको छ । अस्पतालहरु संक्रमितले खचाखच हुँदै गएको छ । अस्पतालमा शैय्याको भन्दा पनि शैय्या व्यवस्थापनको खाँचो टड्कारो देखिएको छ । त्रासको कारणले गर्दा अस्पताल भर्ना हुनै नपर्ने संक्रमितहरुले समेत भर्ना हुन जोडगर्ने, अक्सिजन लिनै पर्ने आवश्यकता नभएका बिरामीहरुले पनि अक्सिजन प्राप्त गर्न जोड गरेको अवस्था समेत रहेको छ । यस्तो अवस्थामा पनि नेपालगन्जमा स्वास्थकर्मीहरुको “घरदैलो उपचार अभियान” ले केहि आशा सिर्जना गरेको छ।

    यसले सबै संक्रमितहरु अस्पतालतर्फ दौडिनु आवश्यक पनि छैन र अति आवश्यक अवस्थामा मात्र अस्पतालमा जाने अवस्था सृजना हुनसके मात्र पनि उपचारको अवस्थालाई अव्यवस्थित हुनबाट रोक्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ । सिमीत सङ्ख्यामा स्वास्थ्य सेवामा काम गर्ने जनशक्ति भएको हाम्रो जस्तो मुलुकमा ती जनशक्तिको उच्चतम उपयोगको लागि यो एउटा राम्रो उपाय हुनसक्छ ।

    गत बर्ष कोरोना महामारी फैलँदा स्पेन, इटाली र बेलायतमा त्यहाँका सरकार प्रति देखिएको जन आक्रोश, तत्कालिन अमेरिकी राष्ट्रपति ट्रम्पले आफूसत्तामा रहँदा मास्क नलगाउने र लकडाउन नगर्ने उदघोष गर्दै कोरोना महामारीको प्रभाव प्रति देखाएको उदासीनताले अमेरिका जस्तो मुलुकमा पनि हजारौंको ज्यान लियो । प्रारम्भमा केही अराजक देखिएको बेलायत पनि आक्रोश छोडेर अनुशासनकै बाटो लाग्दा सुरक्षित महसुस गरिरहेको छ । अनुशासित जापान, दुवैकोरिया, सिंगापुर र अष्ट्रेलिया लगायतका मुलुकहरुमा कोरोनाको प्रभाव निकै कम देखियो ।

    हाम्रै छिमेकी मुलुक भुटान पनि उदाहरणकै रुपमा रहेको छ । कोरोनाको उद्गम भनिएको मुलुक चीनले कायम गरेको कडा अनुशासन त उदाहरणीय नै छ । कडा अनुशासनमा रही लकडाउन पालना गर्ने मुलुक चीन आज आनन्दमा छ र विश्वका अन्य मुलुकहरुलाई सहयोग समेत गर्दै छ । हाम्रोमा भने अझै मास्क, स्यानिटाईजर, सामाजिक दुरी र आइसोलेशनका लागि जनतालाई सुसूचित गर्न र बुझाउन समेत कठीन भएको अवस्था छ । बुझेर बुझ पचाउने उप-बुज्रुकहरुको संख्या पनि त्यो भन्दा कम छैन ।

    तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित भएपछि सत्ता हस्तान्तरण गर्नु अघि देखाएको बहुलट्ठी आक्रोशका पछि अमेरिका जस्तो मुलुकमा समेत अराजकहरुको राम्रै भीड ट्रम्पको पछि लागेकै देखियो। यद्धपि सचेत जनता र विद्वत बर्गले मुलुक कै प्रतिष्ठा धुमिल बनाउने कार्य भनि उक्त अराजकता प्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । गत बर्ष नै सोहि मुलुकमा प्रहरी कारबाहीमा परेर एक अश्वेत युवा मारिंदाको जन-आक्रोशको समयमा थप केही मानिसको ज्यान अनाहकमै गयो।

    प्रारम्भमा देखिएका केही साना घटना प्रतिको ठुलो जन-आक्रोशलाई ब्यबस्थापन गर्न असफल हुँदा कुनै बेलाको सुन्दर–शान्त मुलुक सिरिया आज लाखौँ मानिसहरुको चिहान माथि उभिन अभिशप्त छ । जातीय आक्रोशलाई व्यवस्थापन गर्न नसक्दा हिजोको बिशाल र सम्पन्न युगोस्लाभियामा लाखौं लाख मानिसहरुको ज्यान जाने गरी सल्किएको जातीय हिंसाले गर्दा उक्त देश बिश्व मानचित्रबाट नै हराउन पुग्यो। आमजनतामा समसामयिक अवस्था र त्यसका कमी कमजोरीहरु प्रति देखिने आक्रोश बिकसित होउन् वा विकासोन्मुख सबै मुलुकहरुमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहला ।

    यसो नहुँदो हो त अमेरिकी राष्ट्रपति निवास “व्हाइट हाउस” अघि धर्ना दिनेहरुको सदाबहार उपस्थिति किन हुन्थ्यो होला र ?  
    सुचनाको हक सम्बन्धि प्राबधान हाम्रो संबिधानमा उल्लेख छ र सत्य पनि हो भन्दैमा समाचार र सूचनाले जनजीवनमा पार्ने प्रभावको मूल्यांकन नै नगरी लेख्य वा श्रब्य-दृश्य सामग्रीहरु संचार माध्यम र सामाजिक संजालमा प्रस्तुत गर्न जथाभावी बोल्न, लेख्न हुन्छ वा हुँदैन ? एउटा भ्रमपूर्ण र निराधार सूचनाले कुनै बेला “हृतिक रोशन” काण्ड निम्त्याएको होइन ?

    खाडीमा मारिएका नेपालीहरुको सूचना सम्प्रेषण गलत ढंगले हुँदा अनेकौ म्यानपावर ब्यबसायीहरुको घर कार्यालय तोडफोड भएका होईनन् ? कुनै बेला हाम्रै दशरथ रंगशालामा हावाहुरीका चलेको अबस्थामा सयंमता अपनाउन नसक्दा कैयौंले ज्यान गुमाउनु परेको होईन ? हाम्रै छिमेकी मुलुकमा भ्रमपूर्ण र अराजक सूचनाहरुको कारण बेला बखत हुने गरेको साम्प्रदायिक दंगाहरुको दर्दनाक तस्बीर हामीले हेरको, पढेको र सुन्नु परिरहेको छैन र ? सहि सूचना पनि असंगत ढंगले फैलंदा धार्मिक मेलाहरुमा भागदौड मच्चिएको र त्यसमा मच्चिंदा सयौं मानिसहरुको ज्यान गएका घटनाहरु छैनन् ?

    “सुचनाको हक” र “प्रेस स्वतन्त्रता” को हवाला दिँदै सूचना संचारको व्यवसाय गरिरहेका हाम्रा मुलुकका अधिकांश व्यवसायीहरु सकेसम्मका हावादारी र अराजक कुरा गरेर, जनआक्रोश भड्काएर र सोहि अनुरुपको सूचना सम्प्रेषण गरेर आफ्नो व्यापार बढाउन तल्लीन देखिन्छन् । असम्पादित भिडियो क्लिप र समाचारहरु कपी पेष्ट गर्ने, नराम्रा कुराहरुको अन्धानुकरण गर्न, अपुष्ट र उत्तेजक समाचारहरु लेखेर प्रसारित गर्न र त्यस्ता अराजक गतिबिधिबाट हुने आर्जनमा नै आफ्नो सफलता देख्ने भुँईफुट्टा पत्रकारहरुको सूचना सम्प्रेषण गर्ने शैली, समाचारको टिआरपी बढाउन तिनीहरुले गर्ने भारतीय शैलीको अन्धानुकरणले हाम्रो समाजमा हुर्काएको नकारात्मकताको अवस्था जगजाहेर छ ।

    यो अवस्था यस्तै रहिरहने हो भने यसबाट उत्पन्न हुने अराजकताको बदलामा आगामी केही दशक भित्रै हाम्रो समाजले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ। सत्यतथ्य र प्रत्यक्ष, प्रजातान्त्रिक वार्ता वा सम्बाद वा जस्ताको तस्तै वा जन-आवाज, नकारात्मक सन्देश, नयाँ खुइले पत्रिका वा सोझा जनता संगका कुटील कुरा जस्ता अनेकादी नामबाट समाचार सम्प्रेषण र सत्य सूचना प्रवाहको नाउँमा अराजकता पस्कनेहरुलाई राज्यको चौथो अंगको सम्मान दिन हामी अभिशप्त छौं आज। यसले पत्रकारिताको धर्म निर्बाह गरिरहेका, अप्ठ्यारोमा परेकाहरुको सहयोग गर्न यथाशक्य भूमिका निर्बाह गरिरहेका सहृदयी तथा जिम्मेवार पत्रकारहरु भने ओझेलमा पर्नु परेको छ।

    कसले बुझेको छैन र राम्रा भन्दा नराम्रा कुराहरु प्रति समाजको आकर्षण धेरै हुन्छ । त्यसैकारण त हामीले आफ्ना सन्तानलाई गलत कार्यमा लाग्न नदिन बढी जागरुक हुनुपरेको । हिंसात्मक भिडियो गेम प्रति साना केटाकेटीहरुको र हलिउड र बलिउडका एक्शन मुभीहरु प्रति युवा जमातको आकर्षण त्यसै बढेको होला र ? नशाको कुलत, यौनजन्य क्रियाकलापहरुको कुलत, छाडापन र स्वछन्दताको कुलत प्रतिको मानिसहरुको आकर्षण कुन मुलुकमा छैन ? के त्यस्ता क्रियाकलापहरुलाई अपराध र हिँसा प्रतिको आकर्षणको रुपमा हेर्ने गरिन्न र ? कतिपय अवस्थामा त यिनलाई मनोबैज्ञानिक समस्या कै रुपमा समेत विश्लेषण गर्ने गरिन्छ ।

    हाम्रो समाजमा पनि सूचना संचारका व्यापारीहरु पत्रकारिताको नाउँमा यस्तै सामाग्रीहरुको उत्पादन गर्न अभ्यस्त छन् । यौटा जीवनोपयोगी पुस्तकको पाठक र जीवनोपयोगी सिनेमाका दर्शक भेट्टाउन जति कठिन छ त्यतिनै कठीन छ सकारात्मक सोच सहितका अध्ययनशील पत्रकार भेट्टाउन। बरु अति सहज भएको छ पत्रकारिताका नाउँमा अश्लील, उत्तेजक र असामाजिक सूचना सामग्रीका उत्पादक र व्यापारीहरु भेट्टाउन । अनेकन उपयोगिताको बावजुद पनि नियमनकारी कडा कानुनको अभावमा सामाजिक संजालको दुरुपयोगयस्ता ब्यबसायीको लागि अचुक अश्त्र बन्न पुगेको छ ।

    हो समाजमा जहिले पनि अराजकहरुकै चर्चा बढी हुने गर्दछ। तर त्यसो भन्दैमा अराजकताको पक्षधर किन बन्ने ? अझै बढी दुख स् त त्यतिबेला महसुस हुन्छ जतिबेला बौद्धिक र अगुवा भनिएकाहरू नै त्यस्ता समाचारहरु निकै चाख लिएर लाइक, शेयर र वाचन गरिरहेका हुन्छन् । हामीकहाँ धेरैका लागि पत्रकारिता अब धर्म, निष्ठा, दायीत्व र आदर्श भन्दा बढी ब्यबसाय र उद्ध्योग बनिसकेको छ जसको मुख्य सम्बन्ध आय आर्जन र नाफा आर्जन गर्नु सँग रहेको छ। त्यसैले पत्रकारिता “बिग हाउस” का “बिग बोस” हरुको ईशारामा नाच्ने “म्युजिकल बार” को नर्तकी हुन बाध्य छ भने तथाथाथित एंकर र पत्रुकारहरु चाहिँ तिनका बुँख्याचा मात्रै ।

    उतिबेला पंचायतकालमा पनि थुप्रै यस्ता भुँईफुट्टा पत्रकारहरु हुने गर्दथे जो दिनभरी पंचायत बिरोधिहरुको जासुसी गर्दथे अञ्चलाधीस कार्यालयमा बक्सिस बुझ्थे र साँझ परेपछि स्तर अनुसारको भट्टीमा गएर लर्खराउथे । तिनीहरु सूचनाको संकलन मोलमोलाईका लागि गर्दथे र आफ्ना आसामीहरु संग माल वसुली गर्दथे । अहिले पनि त्यस्ताहरुको कमि छैन, मात्र बक्सिस दिने मालिकहरुको स्वरूप र बक्सिस थाप्नेहरुको रुप बदलिएको छ ।

    संधै मौकाको खोजीमा रहनु, बिरोधी बिचार बोकेकाहरूलाई सखाप पार्न र खुइल्याउन प्रयत्नशील रहनु, कमजोरलाई आफैले र आफुले नसक्नेहरुलाई बाहुबली मण्डलेहरु लगाएर कसको रिस कसलाई पोख्ने, रक्सीको मातमा कसलाई ठोक्ने, कम्बल ओढाएर कसलाई, कहाँ र कहिले निर्घात कुट्ने जस्ता योजनाहरुको निर्माण र कार्यान्वयन गर्ने गराउने गर्दथे । ठेक्कापट्टा र सट्टापट्टामा तिनको दखलअन्दाजी बेजोडको हुने गर्दथ्यो । तिनलाई सूचनाको महत्व त्यतिमात्र हुने गर्दथ्यो जति बगरेलाई पशुको। अहिलेको हाम्रो संचार जगतमा पनि यस्ताहरुको कुनै कमि देखिन्न ।

    प्रत्येक सम्बादमा सिंगापुर र स्वीटज़रलैंडको, जापान र मलेशियाको उदाहरण दिने अनि नेपालमा सुविधाको अभाव देखाउन बिकसित मुलुक सँग दाँजेर हुर्मत लिन खोज्ने नागरिक अगुवाहरु भनाउँदाविद्वानहरुको पनि संचार माध्यम र सामाजिक संजालमा राम्रै उपस्थिती देखिन्छ । तिनै विद्वान महोदयहरुले भनुन् के नेपालको स्वास्थ सुविधा र भौतिक पूर्वाधारहरुको अवस्था इटाली, स्पेन, जर्मनी आदि मुलुकहरुसँग दाँज्न सकिने अवस्थामा हिजो थियो ? अनमेल तुलना र कुतर्क गरेर अराजकता सृजना भएको पत्तै नपाउने र अरुको हुर्मत लिनखोज्दा आफ्नो ईजार खुस्केको पत्तै नपाउने, सामाजिक संजालमा नियमितरुपमा गाली-गलौज र अरुका लागि निन्दा मात्रै पस्किने विद्वान महोदयहरु हो !  कृपया त्यहाँको अनुशासनको पनि कुरा गर्दिनुस ।

    के ती देशहरुमा प्रजातन्त्र र स्वतन्त्र पत्रकारिताको नाउँमा जे पनि लेख्ने र बोल्ने गरिन्छ ? बिना प्रमाण र अरुको मानहानी हुने गरी र अपशब्द समेत प्रयोग गरी समाचार प्रकाशन गर्नेहरुको लागि सजाँयको कस्तो व्यवस्था छ भन्ने पनि सुनाईदिनुस । मुलुकलाई आजको अबस्थामा ल्याउन ली क्वान यु र महाथीरले किन पत्रकारितामा अंकुश लगाउनु परेको थियो भन्ने पनि त बुझाई दिनुस । के चीन र जापान जस्ता मुलुकहरुमा कठोर अनुशासनको पाठ नपढ़ाईएको र त्यहाँको समाजलाई छाडा छोडिदिएको भए आज छिमेकी भारत र तिनको हालत कहाँ-कहाँ र कसरी तुलना गर्न मिल्थ्यो होला त्यो पनि भनिदिनुस् ।

    यहाँ र यहाँको काम र बिचार प्रति पनि कसैले त्यस्तै टिप्पणी गरे यहाँलाई कस्तो लाग्छ होला ? तर यसको आशय टिप्पणी र आलोचना नै नगर्नुस् भन्ने होइन बरु सकारात्मक र सहज ढंगले गरौँ भनिएको हो । भन्छन् अरुलाई चोर औंला ठड्याउँदा बाँकी औंला आफै तिर फर्किएका हुन्छन् ।

    आज नेपाल कोरोना संक्रमणले भयाक्रान्त छ । यस्तो परिस्थिति आउनुमा हामी स्वयं अलिकति पनि जिम्मेवार छैनौं ? यो कठीन घडीमा जात्रापर्व नमनाऔँ भन्दा सुरक्षाकर्मीहरु उपर ढुंगामुढा गर्ने हामी नै होइनौं ? निजीस्कूल, यातायात ब्यबसायी, होटेलब्यबसायी मिलेर सरकारको बिरोध गरेका होइनौं ? आजपनि लकडाउन पालना गराउन सुरक्षाकर्मीहरुले खटिनु परेकै छ। “एउटाले बिरायो, शाखा पिरायो” भन्ने उखान आज चरितार्थ भएको छ । दुख:द परिणाम हाम्रो सामु छ । आजसैयौं नेपालीहरु उपचारको अभावमा ज्यान गुमाउन बाध्य छन् । “भाग्यमानी देखरे चेत्त्छ, अभागी परेर पनि चेत्दैन” भन्थे बुढापाकाहरु अनि अझै पनि हामी चेत्दैनौं भने कहिले चेत्ने ? 

    एकातिर सरकारले गरेका प्रयत्नहरुको अवमूल्यन गरेर आफ्नो उद्ध्योग चलाउन सूचना संचारका व्यापारीहरु उद्ध्यत देखिन्छन् भने अर्कोतिर जनस्वास्थका केही धूर्त ब्यापारीहरु बिरामीसंग आफूखुशी मूल्य असुल्न नपाएपछि अस्पतालमा अक्सिजन अभावको निहुँ पारेर कसरी हुन्छ उपचार गर्न नपरे हुन्थ्यो भन्ने आशयले उपचार सुविधा दिन नसक्ने सूचना निकालेर हात ठड्याउने उपाय खोज्दै छन् । परिणामस्वरूप सरकारी अस्पतालहरु संक्रमितहरुको अत्यधिक चापले उपचार व्यवस्थापन गर्न नै नसक्ने अवस्थामा पुगेका छन् ।

    अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले आह्वान गर्दा र आर्थिक सहयोगको सहजीकरण गरिदिने प्रतिबद्धता पश्चात पनि यी तयार किन हुँदैनन् र बहानाबाजी मात्रै गर्दैछन् ? यसबाट यिनको नियतमा खोट छ र यिनलाई त्यसमा नाफा छैन भन्ने कारण स्पष्ट हुँदैन र ? मनपरी शुल्क असुल्न दिनुस्, यिनले रातारात सबै व्यवस्था गर्छन् । किनकी यिनलाई राम्रो सँग थाहा छ सबै कोरोना संक्रमितलाई सबै अवस्थामा अक्सिजनको भन्दा अन्य उपचारको आवश्यकता पर्दछ र त्यसको केहि हदसम्म व्यवस्थापन गर्न पनि सकिन्छ भनेर ।

    तर दाम नआउने भए पछी किन गर्ने ? यदि यसो होइन भने कोरोना संक्रमितको अन्य स्तरको उपचारबाट किन हात उठाउनु पर्ने ? जटिल अवस्थामा उपचार गर्न नसके पनि सो अगावैको अवस्था सम्म त उपचार सेवा दिन सकिन्छ त ! फेरी सबै संक्रमित जटिल अवस्थामै पुगेका पनि त हुँदैनन्। अधिकांश त कोरोना जितेर फर्किएको कुरा त दैनिक तथ्यांकले बताई रहेको नै छ ।

    लकडाउनकै कारणले बिहान बेलुकी हातमुख जोर्न नै समस्या भएका निमुखा र निम्न बर्गको अवस्था कति नाजुक भएको होला ? तिनलाई सहयोग गर्न हाम्रा मुलुकका धनाढ्य ब्यापारी, बैंकर र उध्योगपतिहरुको उपस्थिति कहाँ देखिएको छ ? बजेटमा सरकार सँग कोरोना प्रभावका कारण सहुलियत पाउनु पर्ने सँधै दाबीगर्ने कहिले पनि नचुक्ने त्यस्ता धनाढ्यहरुको यही समाजप्रति अहिलेको बिकट अवस्थामा के कुनै व्यक्तिगत र संस्थागत दायित्व केहि हुँदैन ? भारतमा मुकेश अम्बानी, रतन टाटा जस्ता थुप्रै धनाढ्यहरुले यथाशक्य सहयोग गरेकै छन् त ! किनकि उनीहरुलाई आफ्नो देशको माया छ तर यहाँकालाई सम्पति कुम्ल्याउने र बिदेशमा लगेर थन्क्याउने मात्रै चिन्ता छ ।

    कामदारहरुलाई सरकारले तोकेको न्युनतम ज्यालासमेत भुक्तानी गर्न सकिन्न भनेर पन्छिनेहरुबाट के आशा गर्न सकिन्छ ? यिनले राष्ट्रलाई धेरै कर तिरेको र धेरै रोजगारी सिर्जना गरेको दम्भ गर्दछन् । तर यिनले संचालन गरेका उद्ध्योगहरुमा रोजगारीको तथ्यांक संकलन गर्ने हो भने ३० – ३५ प्रतिशत भन्दा बढी नेपाली नागरिकहरुले रोजगारी पाएको अवस्था छैन ।

    आयात निर्यातको अवस्था हेर्ने हो र यिनले गरेको आयात निर्यात र सोहि अनुरुप नेपाल भित्रिएको बैदेशिक मुद्राको तथ्यांक मात्रै हेर्ने हो भने पनि यिनले गरेको ब्रह्मलुटको कहाली लाग्दो अवस्था देखिन आउनेछ । पहिलेजस्तै गरी अहिले पनि ब्रह्मलुट गर्न नपाएकोमा यिनीहरु कम्ता आक्रोशित छैनन् । ठुला भनिएका ब्यबसायीहरुको यहीचरित्रले गर्दा मझौला,साना र इमान्दार ब्यबसायीहरुको अवस्थालाई समेत धरापमा पारिदिएको छ ।

    अराजकताको अर्को कडी भनेका बोलक्कड भनिएका नेताहरु पनि हुन् । हिजो लामोसमय निष्कन्टक रुपमा सत्तामा बसेका र पटक-पटक सत्ताको स्वाद लिएको अवस्थामा पनि एउटा गतिलो स्वास्थ्य प्रयोगशाला समेत स्थापना गर्न नसक्ने, जनस्वास्थ्यका सामान्य समयलाई पुग्ने पूर्वाधार सम्म पनि निर्माण गर्न नसकेका स्वाँठ राजनीतिज्ञ र नेता भनाउंदाहरु नै  अहिले तीन बर्ष अघि मात्र सत्तामा आएको सरकारलाई सत्तोसराप गर्दैछन् । ल तिनले भन्न सकुन् त - “ए सरकार हाम्रो समयमा बनेको त्यति बिघ्न पूर्वाधारहरुको उपयोग गर्न सकेको खोइ (?) भनेर । आफ्नो अकर्मण्यताको ढाकछोप गर्न यथाशक्य अरुको कमजोरी उधिन्न लागिपरेका मात्रै हुन् । यी मध्धेकै कतिपयले अति आदरणीय भनेका आफ्ना सन्त नेताको मेलम्ची सपना पूरा गर्न पनि त बर्तमान सरकार कै समय कुर्नु परेको होइन ?

    रानीपोखरी र दरबार हाईस्कूलको भवन यिनकै पालामा पनि जीर्ण नै थियो नी होइन र ? आफु सत्तामा हुँदा किन जिर्णोद्धार नगरेका (?) कि भूकम्प आउनेछ – भत्काउने छ अनि बनाउंला भनेर बसेको ? यिनले खिसीट्युरी गर्ने गरेका रेलको पुर्बधार निर्माण यिनकै पालामा किन नगरेका (?), गोदावरीमा तीन हजार सीट क्षमताको सभाहल बनाउन कसले रोकेको थियो (?) सोध्नोस् त ! जवाफ आउला “संकटमा यिनको आवश्यकता नै होइन” ..... त्यसो भए कुनै संकट आयो कि राज्यको सबै काम कारबाही ठप्प पारेर त्यसमै मात्र लाग्नु पर्ने हो कि बर्तमानको संकटलाई उच्च प्राथमिकतामा राखेर अन्य कार्यलाई पनि निरन्तरता दिनु पर्ने हो ? त्यसो हो भने घरको कुनै सदस्य बिरामी भए अन्य सदस्यहरु सबैले सबै काम थाँती राखेर एकैतिर दौडिनु पर्ने होला नी !

    बर्तमान सरकारको अहिले सम्मको कुल कार्य-अबधि नै गणना गर्ने हो भने जम्मा तीन बर्ष र त्यसमा पनि कोरोना महामारीले खाएको एक बर्ष घटाउने हो र प्राकृतिक र दावी बिपत्ति, सलहको महामारी आदिले खाएको अनुमानित छ महिना घटाए कार्यावधि जम्माजम्मी डेढ बर्ष नै होईन त ? अनि हाम्रो जस्तो पिछडिएको मुलुकमा भएको कामको मुल्यांकन पनि गरौँ न त ! सडकमा मागी हिड्ने सडक बाल-बालिका, मानसिकरुपले विक्षिप्तहरुको व्यवस्थापन यस अघि गर्न सकिन्नथ्यो ?

    भूकम्प पछिको पुनर्निर्माण, तराईमा आगलागीले घरबारबिहीनहरुलाई जस्ताको छाना सहितको घर, बिपन्नहरुलाई घर-बार दिने कार्यक्रम, तुईन विस्थापन, बाटो-घाटो, पुल-पुलेसाहरुको निर्माण, स्थानीय स्तरमा भएका भौतिक पूर्वाधारहरुको निर्माणले गति लिएको समय पनि यहि होईन ? कतिपयलाई धरहराको उद्घाटनमा नै पनि आपत्ति रहेछ । पख्नोस् ! अबकेही समयमा काष्ठमण्डप, बसन्तपुर दरबार, हनुमान ढोका, ललितपुर र भक्तपुर शहरका दरबार क्षेत्रको पुनर्निर्माणको सम्पूर्ण कार्य सकिने छ । काठमाण्डौको हिजोको मलपोखरी पनि “कमलपोखरी” को मनमोहक स्वरुपमा देखापर्नेछ।

    एकाथरी उप(बुज्रुक नेताहरु अहिले मुलुक बैदेशिक ऋणमा चुर्लुम्मडुबेको आलाप गर्दैछन् तर अहिले पनि नेपालको कुल गार्हस्थ्य उत्पादनको ३१ प्रतिशत हाराहारीमा मात्रै ऋण रहेको र नेपालकै स्तरमा रहेका अन्य कतिपय मुलुकहरुको तुलनामा यसलाई सामान्य नै मान्नु पर्छ । अधिकांश अफ्रिकी मुलुकहरुमा राष्ट्रिय ऋणको रकम कुल गार्हस्थ्य उत्पादनको ४० देखि ७० प्रतिशत पुगेको देखिन्छ । दक्षिण एशियामा कोभिड बिरुद्धको खोप उत्पादन गर्ने मुलुक भारत पछि आफ्ना जनतालाई नि:शुल्क खोप उपलब्ध गराउने नेपाल नै एक मात्र राष्ट्र हो ।

    अमेरिका, बेलायत, जर्मनी लगायतका स्वयं खोप उत्पादन गर्ने मुलुकहरुमा तिनको कुल जनसंख्याको कति प्रतिशत जनताले खोप लगाउन पाएका छन् भन्ने तर्फ पनि विचार गर्ने की ? बिभिन्न समयमा भएगरेका कामहरुप्रतिको सही मुल्यांकन गर्ने र कमी कमजोरीलाई सकारात्मक रुपमा बैकल्पिक उपाय सहित प्रस्तुत गर्नसक्ने राजनीतिक दल र तिनका बिचारहरुमात्र अबका दिनहरुमा स्वीकार्य हुनेछन् । अब तयार हुँदै गरेको नयाँ पुस्तालाई राजनैतिक दल र तिनका नेताहरुले जे भने पनि हुन्छ भन्ने भ्रममा नपरौं ।

    “सम्पन्न नेपाल, शुखी नेपाली” सहितको नेपालको निर्माणमा रुची हुनेहरुले नयाँ पुस्तालाई थप अराजक र परपीडक हुनबाट बचाउन योगदान गरौँ । हेक्का राखौं, यहि पुस्तामा हामी तपाईंका परिवारका छोरा-छोरी, नाति-नातिनाहरु पनि छन् । तपाइँले सार्वजनिक रुपमा सामाजिक सन्जालहरुमा अराजक ढंगले प्रस्तुत गरेको बिचार-शैली र अपशब्दहरु तपाईंकै छोरा-छोरी र नाति-नातिनाहरुले पढदैनन् होला र ? सकी नसकी आफ्नो श्रम र सम्पत्ति खर्चेर तपाई जसलाई शिक्षाआर्जनका लागि प्रेरित गर्नुहुन्छ तिनलाई तपाई स्वयं चाहिँ के सिकाउँदै हुनुहुन्छ ? 

    आज हाम्रो जनजीवन कोरोनाको महामारीले आक्रान्त भएको बेला संक्रमित र तिनका परिवार अनि आफन्तको हौसला बढाउने हो । कतै फाजिलमा सिलिन्डर रहेका वा तत्काल उपयोगमा ल्याउनु नपर्ने अवस्थामा छन् भने अति आवश्यक ठाउँमा तिनको उपयोग र व्यवस्थापनको लागि प्रयत्न गरिदिने हो । त्यति पनि नसके प्राकृतिक उपायबाट अक्सिजन प्राप्त गर्न चिकित्सकहरुले सुझाएका र सिकाएका उपाय र बिधिहरु बारे संक्रमितहरुलाई जानकारी गराउन भूमिका निर्बाह गर्ने पनि हो ।

    सकिन्छ र मिल्छ भने आयुर्वेदिक तरिकाबाट पनि कोरोनाको उपचार हुन्छ भनेर दाबी गरिरहेका बिज्ञ आयुर्वेदचार्य र योगचार्यहरुको ज्ञान र बिज्ञताको उपयोग र तिनको परिचालन गर्ने बातावरण मिलाउन प्रयत्न गरिदिउॅ। कतिपय सहयोगी र मनकारी व्यक्तिहरुले आवश्यक सहयोग चाहिएमा भनेर सामाजिक संजालमा राखेका सुचनाहरु शेयर गरिदिउॅ। आहिलेको अवस्थामा यहि पनि ठुलै सहयोग हुनेछ।

    अभाव पक्कै छ, सरकारले तत्काल आफ्नो उपस्थिति देखाउन नसकेको पनि साँचो हो। तर के त यिनै अक्सिजन र भेन्टिलेटर अभावको अवस्थालाई आतिरंजित रुपमा प्रस्तुत गर्दै सरकारमा रहेकाहरुलाई धारेहात लाउँदैमा तपाइँ हाम्रो दायित्व सकिन्छ ? कुण्ठा ब्यक्त गर्न त सकौंला । तर संक्रमित र तिनको परिवारको मन मस्तिष्कमा असुरक्षाको भावना भरेर तिनलाई घोर निराशा तर्फ धकेलिदिने अपराध नगरौं । बिगतमा हामी भन्दा सयौं गुणा बढी स्वास्थ सेवा प्रदान गर्ने क्षमता भएका र बिकसित भनिएका अमेरिका, इटाली र स्पेन जस्ता मुलुकहरुमा समेत कोरोना महामारीको समयमा सरकारले असफलता सामना गर्नु परेको हामीले हेरेको, सुनेको र पढेको नै हो ।

    अहिल्यै पनि हामी भन्दा कैयौं गुणा बढी क्षमता भएको छिमेकी मुलुक भारतको अवस्था हरेक दिन हामीले टेलिभिजनको पर्दामा देख्न पाइरहेकै छौं । सिंगो बिश्व र हाम्रो सिंगो मुलुकनै कोरोना संक्रमणले आक्रान्त भएको यो भयावह परिस्थितिमा पनि कसैले आक्रोश र कुण्ठा ब्यक्त गर्दै आफूमात्रै समाजको सच्चा सेवक हुँ र अरु सबै पटमूर्ख र दुर्जन हुन् भन्ने अहंप्रदर्शन गर्ने अभिष्ट राख्छ भने प्रकारान्तरमा ती अराजक हुन् र बर्तमान परिदृश्यमा ती समाजका शत्रु नै हुन् । अहिले आक्रोश, असंन्तुष्टि र कुण्ठापूर्ण अभिव्यक्तिले होईन बरु संयम, धैर्य र सहानुभूतिले मात्र समाजको पीडा कम गर्न सक्छौं ।

    स्वास्थ मापदण्डको पूर्ण पालना गर्न सबैलाई सचेत गरौँ । चिकित्सकको सल्लाह बिना नै जथाभावी औषधि सेवन गरिने कार्य निरुत्साहित गरौँ । दोषारोपण र आरोप प्रत्यारोपको लागि त बाँचिरहे भविष्यमा टुँडिखेलमै कुस्ती लड्न आह्वान गर्ने दिन पनि आउन सक्ला र लडनुहोला पनि । चित्त नबुझेका जनप्रतिनिधि र पार्टीलाई मत नदिएर कुण्ठा शान्त पार्नुहोला बरु। चिकित्सकहरुको राम्रो ब्यबहारले पनि त बिरामीहरुको आधा रोग त्यसै कम हुन्छ भन्छन् ।

    आफ्नो ज्यानै माया मारेर जनसेवामा खटिएका डाक्टर, नर्स, एम्बुलेन्स चालक, सेवाकर्मी र सुरक्षाकर्मीहरुको हौसला बुलन्द गरौँ । यो आक्रोशको होईन संयम अपनाउने बेला हो । आफुले बुझौं, सकारात्मक बनौं र अरुलाई पनि सकारात्मक एवं संयमित हुन प्रेरित गरौँ । खलपात्रहरुको प्रपन्चमा परेर समाजलाई अराजकता तर्फ धकेल्ने षडयन्त्रको सहयोगी नबन्ने पो हो की त !

    (-लेखक पद्मकन्या बहुमुखी क्याम्पसमा सह-प्राध्यापकका रुपमा प्राध्यापनरत छन् ।)

    यो पनि पढ्नुहोस्- आर्थिक पर-निर्भरताको मलजलमा पल्लवित छद्मपुष्पहरु

    यो पनि पढ्नुहोस्- धर्म, अध्यात्म र कम्युनिष्ट 

    २०७८, जेठ १ शनिवार१०:१६:३७

    बिनोद जोशी

    प्रतिक्रिया
    सम्बन्धित समाचार