कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

२०७८, जेठ २८ शुक्रवार

  • 1.0K
    SHARES

  • कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

    सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् ।

    फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए । दलको बैठक बसेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिइने उनले जानकारी दिए ।

    अदालतको फैसलाअनुसार चारै जना एमालेको प्रदेशसभा सदस्य भएकाले अब दलको ह्विप मान्नुपर्ने शाहको भनाइ छ । एउटा दलको चुनाव चिह्नबाट चुनाव जितेर आएपछि म त्यो दलको होइन म नीतिनियम मान्दैन भन्न नपाउने भएकाले पार्टी र संसदीयदलको विधानअनुसार चल्नुपर्ने उनको तर्क छ ।

    दल बदलको कानूनअनुसार कारबाही गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कि सरकार छाडेर दल मातहत आउनु प¥यो नत्र कारबाहीको भागेदार हुनुप-यो ।” 

    अदालतको फैसलाले नयाँ बहस शुरु

    फ्लोर क्रस गरेपछि कारबाहीमा परेका एमालेका सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि नयाँ बहस शुरु भएको छ ।

    एमालेले कारबाही गरेपछि पदमुक्त भएका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्चले प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गरिदिएपछि कर्णाली सरकारका बारेमा बहस शुरु भएको हो ।

    मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेशसभामा विश्वासको मतका लागि फ्लोर क्रस गरेर जोगाइदिएका चार सदस्यले अब के गर्छन् भन्ने चासो उब्जिएको छ । 

    यस्तो छ कर्णालीको अङ्कगणित

    सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा ३९ सदस्यीय बनेको छ । अदालतको आदेशपछि हाल कर्णाली प्रदेशसभामा एमालेको एकल बहुमत भएको छ ।

    सभामुख राजबहादुर शाहीसहित एमालेका २०, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका छ र राप्रपाका एक सदस्य छन् । प्रदेशसभामा बहुमत लिन २० सदस्य भए पुग्छ ।

    २०७८, जेठ २८ शुक्रवार१२:३९:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार