घर जोगाउन बाढी तर्काउँदा आफैँ बेपत्ता

घर जोगाउन बाढी तर्काउँदा आफैँ बेपत्ता

२०७८, आषाढ २४ बिहिवार

  • 885
    SHARES

  • घर जोगाउन बाढी तर्काउँदा आफैँ बेपत्ता

    बलेवा । आज बिहान ३ः३० बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दासमेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथि रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाइलाईसमेत उठाए ।  

    चारै जना मिलेर घरमाथिको सडकबाट घरगोठतर्फ आइरहेको भल खोलातर्फ लगाए । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सकेनन् ।  

    बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई आज बिहान बाढीले बगाउँदा बेपत्ता छन् । “कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै”, वडाध्यक्ष जीतबहादुर बस्नेतले भने, “अलिमाथि पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश गर्यो ।” 

    राजेन्द्रसँग सडकको भल तर्काइरहेका उहाँका बुबा कृष्णबहादुर कार्की, भाइ र हजुरबुबा घाइते छन् । “कृष्णबहादुरलाई बाढीले केही तल पुर्याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाइलाई पहिल्यै बाढीको हावाले हुत्याएछ”, बस्नेतले भने, खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।” 

    कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अङ्गमा समेत ससाना चोट लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

    व्यावसायिक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्णबहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । एघार बाख्राको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । परिवारका छ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताए । सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिराले पुरेको छ । -रासस । 

    २०७८, आषाढ २४ बिहिवार०७:१२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार