शहीद भीमदत्त पन्तका नारा संस्थागत हुन सकेनन्

शहीद भीमदत्त पन्तका नारा संस्थागत हुन सकेनन्

२०७८, श्रावण १७ आइतवार

  • 833
    SHARES

  • शहीद भीमदत्त पन्तका नारा संस्थागत हुन सकेनन्

    डडेल्धुरा ।  ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ स्व क्रान्तिकारी किसान नेता शहीद भीमदत्त पन्तले भूमि अधिकारका पक्षमा दिएका नारा हालसम्म स्थापित हुन सकेका छैनन् ।

    नेता भीमदत्तलाई धेरैले आदर्शका रूपमा मान्ने गरे पनि उनले अङ्गालेको नीति व्यवहारमा उतार्न नसकिँदा जोताहा कृषक हालसम्म जग्गाका मालिक बन्न सकेका छैनन् ।

    भीमदत्त स्मृति प्रतिष्ठानले ६८औँ स्मृति दिवसका अवसरमा भीमदत्तलाई शहीद घोषणा गरेर मात्र उनको सम्मान भएको मान्न नसकिने जनाउँदै प्रतिष्ठानका उपाध्यक्ष उमेश भट्टले भने, “जोताहा कृषक जग्गाको मालिक बनेमा मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।” 

    नेता भीमदत्तका बारे नेकपा(एमाले)का नेता पद्मराज जोशीले उनले अँगालेको नीति कार्यान्वयन भएमा जातीय विभेदको अन्त्य हुनाका साथै भूमिको न्यायोचित वितरण भई भूमिसम्बन्धी समस्या हल हुने बताए । 

    उनले भने, “नेता भीमदत्तले समतामूलक समाजको परिकल्पना र भूमिको न्यायोचितरूपमा वितरण हुनुपर्नेमा केन्द्रित रहेर आन्दोलनलाई उत्कर्षमा पु-याउनुभएको थियो, तर राजनीतिक दलले उहाँले देखाएका सपना साकार गर्नका लागि तत्परता नदेखाउँदा त्यो कार्य पूरा हुन नसकेको हो ।” 

    क्रान्तिकारी नेताको स्मृति दिवसलाई हरेक वर्ष सङ्घसंस्थाले मनाउँदै आए पनि भीमदत्तलाई आदर्श मान्ने राजनीतिक दलले उनलाई सम्झनसमेत नसक्नु दुःखद् भएको प्रतिष्ठानका महासचिव यज्ञराज जोशीले बताए । 
     
    भूमि अधिकारका क्षेत्रमा काम गर्दै आइरहेका भूमि संस्था राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले भीमदत्तले समाजमा बसोबास गर्ने सबै समान हुन भन्ने सन्देश दिएर गएका बताए ।

    भीमदत्तको सम्मानमा २०५२ सालमा धनगढीदेखि डडेल्धुरासम्मको सडकखण्ड भीमदत्त राजमार्ग र २०६६ सालमा तत्कालीन डडेल्धुराको खलङ्गामा भीमदत्त बहुमुखी क्याम्पसको नामसमेत राखिएको छ । यस्तै उनकै नामबाट कञ्चनपुरको महेन्द्रनगरलाई जनआन्दोलनपश्चात भीमदत्त नगरपालिका बनाइएको छ । यी नामकरणबाहेकका अन्य कार्य भने अगाडि बढ्न सकेका छैनन् ।
     
    केही वर्षयतादेखि प्रतिष्ठानले नियमितरुपमा यस्ता कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानले लामो समयदेखि शहीद भीमदत्तको स्मृति दिवस मनाउँदै आएको भए पनि विसं २०७२ फागुन १९ गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिकरुपमा शहीद घोषणा गरेका थिए ।
     
    नेपाली किसान आन्दोलनका महान् शहीद भीमदत्त डडेल्धुराको अमरगढी नपा–२ कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मिएका हुन् ।

    भारतको उत्तरप्रदेश सिङ्हाइबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका भीमदत्तलाई गीता र मार्कसवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढाएको बताइन्छ । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त नै थिए ।
     
    ‘ठालु खान्ना आलु, गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका भीमदत्तको आज ६८ स्मृति दिवस हो । भीमदत्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम भएको बताइन्छ ।

    २०७८, श्रावण १७ आइतवार०३:४०:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार