थारू समुदायको परम्परालाई सरकारी मान्यता

थारू समुदायको परम्परालाई सरकारी मान्यता

२०७८, श्रावण २७ बुधवार

  • 1.3K
    SHARES

  • थारू समुदायको परम्परालाई सरकारी मान्यता

    बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले परम्परागत बरघर प्रथालाई कानुनी मान्यता दिएकामा    थारू समुदाय उत्साहित छ ।

    नेपालमै पहिलोपटक नगरपालिकाको आठौँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र रहेका टोल, बरघर र संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ पारित गरी लागू गरेको हो । उक्त ऐनमा बरघरको चयन, कार्यक्षेत्र, काम,कर्तव्य, अधिकारको व्यवस्थाका साथै  नेपाल सरकारको प्रचलित ऐन नियमको विपरीत नहुने गरी कार्य गर्नुपर्ने कुरा उल्लेख छ ।नगरपालिकाले उक्त ऐन जारी गर्नाका साथै ११ वटै वडाका ९० मूल बरघरलाई परिचयपत्र वितरण गरेको थियो । 

    उक्त ऐन कार्यान्वयनका क्रममा गत वैशाख ६ गते बरघरसम्बन्धी बृहद् गोष्ठी गरिएको थियो । अठ्ठाइसौँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा परिचयपत्र र प्रमाणपत्र वितरण शुरु गरेकाले उनीहरू उत्साहित भएका थिए ।

    आफूहरूको आधिकारिकताका लागि पनि परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गोष्ठीमा बरघरहरुले गरेकाले नगरपालिकाले प्रमाणपत्रसहितको परिचयपत्रको व्यवस्था गरेको हो । 

    लुम्बिनी प्रदेशसभा सदस्य तिलक शर्मा हिमालले पहिलोपटक बरघर ऐन बनाएर नगरपालिका नमूनाको रूपमा प्रस्तुत भएको छ भने । यो प्रथा परम्परागत भए पनि लोकतान्त्रिक पद्धतिको एउटा स्वरूप भएकाले यसलाई बचाई राख्नुपर्नेमा जोड दिँदै उनले यस्ता प्रथाले सामाजिक काममा समेत योगदान पु-याउने हुँदा नगरपालिकाले त्यसलाई मान्यता दिएर ऐतिहासिक कार्य गरेको बताए ।

    नगरप्रमुख दुर्गाबहादुर थारू कबिरले बरघरहरुलाई सामाजिक, सांस्कृतिक, धार्मिक र विकास निर्माणका काम गर्नाका लागि यस  ऐनले अधिकार दिएको छ भने । उनले यस ऐनको कार्यान्वयनका लागि बरघरहरुलाई अभिमुखीकरण तालीम दिइने बताए ।

    नगरउपप्रमुख अञ्जु दहितले समुदायभित्रका  विवादलाई समाधान गरेर न्यायिक समितिलाई पनि सहयोग पु-याएको छ भने । बरघरहरुलाई सामान्य विवादबाहेक फौज्दारी तथा अन्य विवादभने मेलमिलापकर्ता तथा न्यायिक समितिमा पठाउन सुझाव दिए । 

    परापूर्वकालदेखि अहिलेसम्म थारू समुदायमा अझै पनि बरघर प्रथा यथावत् छ । समाजमा भएका विकृति–विसङ्गति न्यूनीकरणदेखि विभिन्न सामाजिक कार्यमा पनि बरघरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकामा सरकारी मान्यता नहुँदा समस्या पर्दै आएको थियो ।

    नगरपालिकाले परिचयपत्र दिएपछि आगामी दिन आफूहरूलाई  काम गर्न सहज हुने बरघर सञ्जालका नगरअध्यक्ष रामसोहन चौधरीले बताए । परिचयपत्र र प्रमाणपत्र उपलब्ध गराइएपछि बरघरहरूको हौसला बढेकाले  नगरपालिकाको यस्ता विकासको कामलाई अझै सघाउँदै जाने जनाइएको छ ।

    २०७८, श्रावण २७ बुधवार०३:२३:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार