प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म

प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म

२०७८, श्रावण ३१ आइतवार

  • 1.6K
    SHARES

  • प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म

    सर्लाही । बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ । उनीहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए ।

    उनीहरुले अहिले करिब रु ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । अहिले उक्त फार्म करिब रु एक करोड ५० लाखको भइसकेको छ ।

    करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका उनीहरुले १० हजार माछा पनि थपेका छन् । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए ।

    उनीहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाइ छ । जिल्लामै एक नमूना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेका वडाध्यक्ष खड्गबहादुर राईले बताए ।

    उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सकेको सहयोग गर्ने नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।

    उनका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ । एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गरेका हुन् ।

    २०७८, श्रावण ३१ आइतवार०२:१८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार