मेलम्ची बजार आसपासमा फोहर थुप्रियो 

मेलम्ची बजार आसपासमा फोहर थुप्रियो 

२०७८, भाद्र २ बुधवार

  • 1.0K
    SHARES

  • मेलम्ची बजार आसपासमा फोहर थुप्रियो 

    सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन् । बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ । 

    नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ । नगरपालिकाले फोहर प्रशोधन केन्द्रसमेत निर्माण गरी फोहर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्रको नामनिशानासमेत राखेन । अहिले फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको व्यवसायी प्रकाश दाहालले बताए । तत्काल अस्थायीरूपमा भए पनि व्यवस्था मिलाइ फोहर उठाउनुपर्ने आवश्यकता उनले औँल्याए । 

    होटल, तरकारी पसल, किराना पसल तथा घरघरबाट निस्कने फोहर व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरेखोला र बजार आसपासका छेउछाउ फोहरले भरिएका छन् । कतिपयले फोहर डडाउने गर्दा प्रदूषण बढेको छ । प्लाष्टिकजन्य पदार्थसमेत जलाउने गर्दा बजारमा बस्नसमेत उकुसमुकुस हुने गरेको स्थानीयवासी नवराज दुलाल जानकारी दिए । 

    अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन । दीर्घकालीन सोचका साथ फोहर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए । उनले भने, “अस्थायीरूपमा भए पनि तत्काल केही गर्नुपर्छ भनेर नगरपालिका लागिपरेको छ ।”

    बाढीले बितण्डा मच्चाएको मेलम्चीमा पछिल्लो समय पिउने पानी, फोहरको व्यवस्थापन, स्वास्थ्य सतर्कता चुनौतीको विषय बनेको छ । समयमै यसतर्फ ध्यान नदिने हो भने कोभिड–१९ को सङ्क्रमण, पानीजन्य रोगको उच्च जोखिम हुन सक्ने बताइएको छ । 

    २०७८, भाद्र २ बुधवार०८:०९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार