काठमाडौं । आइतवार रातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका करिब १ सय ठाउँमा बाढी पसेको छ । मध्यरातदेखि परेको मुसरलधारे पानीले काठमाडौंका खोलाकिनारमा रहेका बस्ती चुर्लुम्म डुबानमा परेका छन् ।
मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा मध्यरातबाटै उद्धार कार्य जारी रहेको उपत्यका प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।
गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो ।
नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।