झापा । झापा क्षेत्र नं.४ बाट प्रदेश सभामा निर्वाचित सांसद हिरा कुमारथापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम बुधवार नियुक्त गरेका हुन् । यससँगै भाद्र ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यको मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ ।
झापाको कनकाई निवासी थापा यस क्षेत्रका पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवका पूर्व सल्लाहकार एवम् एमालेका पुराना नेतामा गनिन्छन् । विद्यार्थी आन्दोलनबाट अघि बढेका थापा एमालेको मजदुर क्षेत्रमा नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएका हुन् ।
थापाले मजदुर विशेष जिल्ला कमिटी झापामा पहिलो र अन्तिम प्रमुख भएर काम गरेका थिए । कम्युनिष्ट आन्दोलनको क्रममा भूमिगत भएका थापाले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका छन् ।
सामान्य जीवनशैली र एमालेको राजनीतिमा इमान्दार नेताका रुपमा स्थापित थापाले आठौं महाधिवेशनपछि मेची अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी अहिले एमालेको प्रदेश १ कमिटी सदस्य छन् ।