धवलागिरि हिमाल आरोहीलाई सम्मान

धवलागिरि हिमाल आरोहीलाई सम्मान

२०७८, आश्विन १८ सोमवार

  • 841
    SHARES

  • धवलागिरि हिमाल आरोहीलाई सम्मान

    म्याग्दी । संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ ।

    धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गरेका थिए । 

    हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडौ जाने क्रममा बेनी आएकी पूर्णीमालाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र धौलागिरि पर्यटन परिषद्का तर्फबाट सम्मान गरिएको थियो ।

    म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्य, पत्रकार महासङ्घका शाखा सचिव सन्तोष गौतम, प्रदेश परिषद् सदस्य विक्रम बोगटी र धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले पूर्णीमा र पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट बेनीका सोवित गौचनलाई सम्मान गरेका थिए । 

    दुवै जनाले हिमाल आरोहणमा कीर्तिमान बनाएर म्याग्दीको पहिचान दिलाउन योगदान गरेकाले सम्मान गरिएको अध्यक्ष बानियाँले बताए ।

    काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर गएकी पूर्णीमा १७औँ दिनमा आज काठमाडौँ फर्किएकी छन् । 

    पूर्णिमा र पासाङले धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले बताइन् । धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेका थिएनन् । 

    त्रकार गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। टासी शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेका हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकार हुन् । 

    उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । प्रतिकूल मौसमका बाबजुद पनि धवलागिरि आरोहण सफल भएकामा खुसी व्यक्त गर्दै पूर्णिमाले अब नेपालमा रहेका आठ हजार मिटर भन्दा बढी उचाइ भएका सबै हिमाल आरोहण गर्ने योजना सुनाइन् ।

    यसैगरी २०७८ वैशाख २८ गते संसारको अग्लो सगरमाथा हिमालको सफल आरोहण गरेका बेनी निवासी पाइलट सोबित गौचनलाई आइतबार थकाली सेवा समिति बेनी क्षेत्रले सम्मान गरेको छ । हेली एभरेष्टका पाइलट गौचन सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट हुन् ।
     
    थकाली सेवा समिति नेपालले आयोजना गरेको ११आँै तोरन्ल्ह गोल्डकप प्रतियोगिताको समापन समारोहमा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, समितिका पूर्व अध्यक्ष कृष्णकुमारी शेरचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले सम्मानपत्र प्रदान गरेका थिए । 

    २०७८, आश्विन १८ सोमवार०१:४१:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार