राजधानीमा दशैं लक्षित खोप अभियान शुरू

राजधानीमा दशैं लक्षित खोप अभियान शुरू

२०७८, आश्विन २१ बिहिवार

  • 1.1K
    SHARES

  • राजधानीमा दशैं लक्षित खोप अभियान शुरू

    काठमाडौं । राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ ।

    ललितपुर महानगरपालिकाले हिजो बुधबारबाट सबै वडामा तीन दिनसम्म खोप अभियान शुरु गरेको छ भने कामपाले असोज २२ देखि शुरु गर्ने भएको छ ।

    कामपा जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले तीनदिने अभियानमा यसअघि पहिलो मात्रा लगाउन नभ्याएका महानगरवासीलाई सहभागी हुन आह्वान गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ । 

    उनले भने – ‘यो दशैं लक्षित अभियान हो, तिहार र छठमा पुनः अभियान सञ्चालन गर्नेछौँ ।’ उनका अनुसार अभियान शुरु भएयता हालसम्म कामपाबाट करिब ८ लाख जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसकिएको छ ।

    विभागीय प्रमुख कुँवरले तीनदिने अवधिमा १८ वर्ष उमेरमाथिका करिब ८० हजार जनसंख्यालाई खोप लगाउने योजना रहेको बताउनुभयो । कामपाले यसअघि असोज ११ गतेदेखि तीन दिनसम्म अभियान सञ्चालन गरेको थियो ।

    कामपाले बढी भीडभाड हुने क्षेत्रका बासिन्दालाई खोप लगाउन आग्रह गरिरहेको छ । दशै शुरू भएलगत्तै असन, इन्द्रचोक, मखन, भोटाहिटी, न्युरोड, कालिमाटी, बल्खु, बानेश्वर, कोटेश्वर, बालाजु बसपार्कलगायतका क्षेत्रमा सयौं जनताकोे भीड बढ्न थालेपछि कामपाले स्थानीयलाई सार्वजनिक अपिल गरेरै खोप लगाउन आग्रह गरेको हो ।

    खोप अभियानअन्तर्गत ३२ वडाका ३४ सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनी गरी पाँचवटा अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ । कामपाले अनलाइन फारम भरेका र नभरेकालाई पनि खोप लगाइदिने भएको छ ।

    २०७८, आश्विन २१ बिहिवार०८:१०:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार