सांस्कृतिक सम्पदा संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

सांस्कृतिक सम्पदा संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

२०७७, मंसिर १५ सोमवार

  • 2.1K
    SHARES

  • सांस्कृतिक सम्पदा संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री राउत

    मंसिर १५, जनकपुरधाम ।

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशभित्रका धार्मिक, सांस्कृतिक धरोहरहरुको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको आइतवार शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आन्दोलनको बलमा स्थापित प्रदेश सरकार प्रदेशभित्रको धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए । 

    जानकी मन्दिरको सौन्दर्यीकरणबाट आफ्नो अभियान शुरु गरेको प्रदेश सरकारले विद्यापति डिह, छिन्नमस्ता भगवती, रौजा मजारलगायत धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार स्थापनाकालदेखि नै कार्य गर्दै आएको उल्लेख गरे । मुख्यमन्त्री राउतले लक्ष्मी सागरको सौन्दर्यीकरण विद्यापतिको बनौली प्रवासलाई तरोताजा गराउने उल्लेख गर्दै विद्यापतिको कृतिहरुको संरक्षणमा समेत प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे । 

    स्थानीय पण्डित प्राडा गोविन्द चौधरीको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुसवाहा, प्रदेशसभा सदस्य परमेश्वर साह, रानी शर्मा तिवारी, पूर्वकृषिमन्त्री एवं जसपा नेता हरिनारायण यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मुख्यसचिव अर्जुन पोखरेलले विद्यापतिको स्मरण गर्दै प्रदेश सरकारले सांस्कृतिक स्थलको संरक्षण प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

    कार्यक्रमको शुरुवातमा जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले भर्चुअल माध्यमबाट कार्यक्रम तथा आयोजना सफलताको कामना गरेका थिए । रु १२ करोड ७८ लाख लागतको सो योजनाअन्तर्गत पोखरी सौन्दर्यीकरण गर्न लागिएको हो । यो आयोजना तीन आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    २०७७, मंसिर १५ सोमवार०७:१८:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार