स्वाध्यायनबाट र विद्वत् जनहरुबाट प्राप्त गरेको बिबिध ज्ञानहरुले बेला-बखत किसिम-किसिमका कौतुहलता जगाई रहन्छ । तिनै प्रश्नहरुको उत्तर खोज्ने क्रममा पुस्तकहरुबाट अनुत्तरित जिज्ञासा र ज्ञानक्षुधा शान्त गर्न अग्रज, ज्ञानी, गुरू, पण्डित, विद्वान, ईष्ट-मित्र, टोल, छिमेक, घर-परिवारका सदस्य, सह-धर्मिणी र पढे लेखेका कनिष्ठ सदस्यहरु सबै सँग यदाकदा बिभिन्न खाले प्रश्नहरु गर्ने गर्दछु ।
कक्षा सात मा पढदाताकाको समयमा होला, डार्बिनको सिद्धान्त पढेपछि उत्पन्न कौतुहलता शान्त गर्ने उद्देश्यले एकपल्ट मेरा एक जानिफकार छिमेकी सँग प्रश्न गरेको थिएँ – “हाम्रा पुर्खाहरु त बाँदर थिए रे ! हगि ?” उतिबेला उहाँले दिएको जवाफले अहिले पनि मेरो दिमागको तन्तु झन्झनाई रहन्छ । उहाँले जवाफ दिनु भएको थियो – “खै ! तिमीहरुका पो थिए की ! हाम्रा त ब्राह्मण थिए ।“ त्यो बेला देखि ‘ब्राह्मण’ शब्दको अर्थ खोज्न र जान्न उत्कण्ठा जागेर आयो ।
माताको दर्शनगर्ने हेतुले एकदिन चण्डेश्वरी माताको मन्दिरमा जाँदा मन्दिर परिसरमा कोही भक्तजनले चढाएको अम्बा त्यहाँ देवीको नाउँमा छाडिएको बोकाले सुँघ्यो तर खाएन । साथै रहेकी सह-धर्मिणीलाई कटाक्ष गर्ने हेतुले मैले भनेँ – “खुब मीठो हुन्छ भन्छ्यौ । तर हेर त ! अम्बा त बोकाले पनि खाँदो रहेनछ ।“ तर प्रत्युत्तरमा उनले शान्त भावमा भनेकी थिईन् । “अँ ! बोकाहरु अम्बा खाँदैनन ।“
आफैँले आफुलाई निकै बाठो छु भन्ने ठानेर के गर्नु ? कहिलेकाँही त अति सरल प्रश्नको उत्तर समेत अति जटिल बनेर मानस-पटलमा घुमी रहँदो रहेछ । हिजो मात्रैको कुरा त हो ! नजिक रहेका थुप्रै साथी-भाई अनि अग्रजहरुलाई मैले सोधेँ – “हैन! हाम्रा देवताहरुले कुन भाषा बोल्थे होलान् ?” सबैको शीघ्र र सरल उत्तर थियो, सबैले समवेत् स्वरमा फ्याट्टै जवाफ दिए – “संस्कृत त हो नी !” तर उत्तर दिंदा ती सबैको म प्रति हाँस्यपूर्ण कटाक्षको भाव थियो ।
मानौँ मैले निकै मूर्ख प्रश्न पो सोधेँ की ? तर मेरो मन सन्तुष्ट भने भएन । कारण थियो हिन्दीमा प्रसारित भएका र हुने गरेका अति लोकप्रिय “रामायण”, “महाभारत” लगायतका टेली श्रृंखलाहरु र प्रतिदिन गुन्जने गरेका हिन्दी भाषाका कर्णप्रिय र बहु-प्रचारित मन्त्र अनि भजनहरु र बाल-बालिका लक्षित धार्मिक कथाहरुमा आधारित कार्टून चलचित्रहरु । यिनको लोकप्रियताको प्रभावमा परेर कतै अबको केही पुस्ता पछिकाहरुले “भगवानहरुले बोल्ने भाषा त हिन्दी थियो नी !” भनेर निर्धक्क जवाफ दिने पो हुन् कि ?
“सनातन धर्म” जसलाई आजभोली “हिन्दु धर्म” को नाउँमा धेरैले बुझ्ने गर्दछन् । यस सँग जोडिएको ग्रन्थहरुमा उल्लेखित आध्यात्मिक, व्यावहारिक, पराभौतिक, औषध तथा योग एवं गुप्त बिद्याहरुको ज्ञानको भण्डारलाई सोझै नकार्नु पर्ने कुनै कारण छैन । तर साक्ष, तथ्य, प्रमाण र तर्कहरुको पुष्ट्याइँ नै नखोजी बेद, बेदांग, पुराण र उपनिषद् लगायतका श्रुति-स्मृति परम्पराबाट सिर्जित धर्मग्रन्थहरुमा वर्णित सबैकुराहरुलाई यथावत् स्वीकार गर्ने कार्यलाई “धर्मान्धता” भन्दा अरु के मान्न सकिएला र ?
पढे लेखेका र विद्वान कहलिएकाहरुले समेत कुनै बैज्ञानिक तथ्य नै नखोजी “हिन्दु धर्म” र “संस्कृत” भाषालाई विश्वको सर्वप्राचिन धर्म र भाषा मान्ने: संस्कृत भाषालाई कम्प्युटरीकृत गर्दा उत्कृष्ट देखिएको तथ्य नासाद्वारा प्रमाणित भएको भन्नेस करोडौँ, लाखौँ र हजारौँ बर्ष पुरानो हिन्दु सभ्यता उतिबेलै उन्नत र बिकसित थियो भन्ने कुरा पत्याउने: भारत र श्रीलंका बीच “रामसेतु” रहेको तथ्य नासाद्वारा प्रमाणित भयो भन्ने जस्ता आधारहीन र तथ्यहीन कुरा पत्याउने/पत्याउन लगाउने अनि त्यस्तै हावादारी प्रचारमुखी कुरालाई नै पूर्णसत्य मान्ने विद्वानहरुको सामाजिक संजालहरुमा हिजोआज बाक्लै उपस्थिति देखिन्छ ।
आजभोली हाम्रासामु रहेका र हामीले पढ्दैआएका ग्रन्थहरुमा वर्णित बिषय-बस्तुहरु उपर ऐतिहासिक तथ्य र प्रमाणहरुका आधारमा द्वन्दात्मक ढंगले चिन्तन गर्ने भन्दा पुरातन भ्रमहरुलाई बौद्धिक ढंगले नयाँ स्वरुपमा पस्किएर वाहवाही बटुल्ने कार्यलाई नै श्रेयष्कर ठान्ने विद्वानहरुको जमात् बढ्दो देखिन्छ । कतै हाम्रा धर्मग्रन्थहरुमा वर्णित र केटाकेटी बेला देखि नै धर्मका नाममा हाम्रा मानसपटलमा कथा र ग्रन्थहरुको माध्यमबाट धार्मिकताका नाउँमा ठोसीएका भावना र बिचारहरुले निर्माण गर्ने चित्रहरुमा पनि यस्ता भ्रमहरु लुकेका त छैनन् यस्तै जिज्ञासाहरुको शमन गर्ने प्रयत्न यो र यसपछिका केहि लेखहरुमा गरिएको छ ।
ईश्वरको उदय :
सृष्टिको प्रारम्भ देखि नै प्रकृतिको अजेय शक्तिलाई मनुष्य जातिले देख्दै र अनुभव गर्दै आए । सृष्टिको प्रारम्भिक त्यो अति कष्टकर समयमा थुप्रै प्राकृतिक र मानवीय उथल–पुथलहरु भए । जतिबेला मनुष्यहरू यायावरी जीवन व्यतित गर्दै शिकार र पशुपालनमा निर्भर रहने गर्दथे त्यतिबेला जीवन जिउने क्रममा पक्कै पनि आफ्नो तर्क र सोचले नभ्याउने गरी अतिशय प्रतिकूल अवस्थाको उनीहरुले सामना गर्नुपरेको थियो ।
कतिपय अवस्थामा सहज त कतिपय अवस्था अति असहज परिस्थितिको अनुभवहरु पनि पक्कै भए । त्यस्ता घटना र परिघटनाहरु तत्कालिन मनुष्यहरुको समझ-बुझ भन्दा निकै परको थियो । भय–त्रास र आनन्दको अनुभूतिहरुले सबैको मन मस्तिष्कमा एक अज्ञात र अनिश्चित भय र रागको सृजना हुनु अनौठो पनि होइन । अत: प्रारम्भको ढुंगे र शिकारी युग देखि मातृसत्ताको युगमा आईपुग्दा सम्म प्राकृतिक एवं दैनान्दिनका बिपत्तिहरुको चिन्ताले मनुष्य जातिलाई एक अज्ञात शक्तिको परिकल्पना तर्फ डोर्याईसकेको हुनुपर्छ ।
आफूले जान्नबुझ्न नसकेको, दृश्य तर्क र प्रमाण भन्दा परका अनुकूल संयोग र प्रतिकूल घटनाक्रमहरुले मनुष्य जातिलाई अदृश्यशक्ति उपर आस्थावान हुन प्रेरित गरिरह्यो । जसलाई तिनले “ईश्वर” भने ।
प्रारम्भमा सानो होस् वा ठुलो, ज्ञात होस् वा अज्ञात, “भय” नै ईश्वरको अवधारणा सृजनाको प्रमुख कारण रहेको हुनुपर्छ । ढुंगे युग देखि मातृसत्तात्मक युगको प्रारम्भ सम्म आइपुग्दा पनि प्राचीन मानवहरु ढुंगाका हतियारहरुमै निर्भर रहेको र त्यसपछि क्रमश: ताम्र र फलामे युगमा प्रवेश गरेको देखिन्छ । फलामे युगको शुरुआत संगै ढुंगा र तामा भन्दा तुलनात्मक रुपमा निकै दह्रा र बलिया हात-हतियारहरुको बिकास भएको र यसले जंगल फँडानी गरी कृषि क्षेत्रको बिस्तार गर्न निकै महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।
फलामे हतियारहरुको प्रयोगमा भएको बृद्धिले नै तत्कालिन भारतीय उप-महाद्वीपमा सिन्धु नदि क्षेत्रमा सिमीत रहेको मानव सभ्यताको बिस्तार बन जंगलहरु फँडानी गर्दै क्रमश: गंगा र जमुना नदीको मैदानी भू-भाग तर्फ विस्तीर्ण हुँदै गएको देखिन्छ । पूर्णत: फलामे युगमा आईपुग्दा सम्म मनुष्यका थुप्रै गण, जाति र समुहहरुले कृषिकर्मको साथै सुरक्षित बसोबासका लागि ग्रामहरुको निर्माण गरिसकेका थिए । ती ग्रामहरु जीवन यापनका क्रममा बर्चश्वका लागि आपसमा दुर्दान्तरुपले संघर्षरत थिए । ग्रामहरु बिचको यहि सङ्घर्ष नै “संग्राम” कहलियो ।
हामी अहिले सु-संस्कृत, सभ्य र हाम्रो भाषा बुझ्ने र हाम्रै जस्तो भेषभूषा भएको तर हामीभन्दा हजारौं लाखौँ गुणा शक्तिशाली “ईश्वर” को परिकल्पना गर्छौं होला । जो हाम्रो प्रार्थना सुनेर तेजोमय स्वरूपमा पुरुषरुपमा प्रकट हुनेछन् । यदि “ईश्वर” को परिकल्पना कुनै स्त्रीले, कुनै गोरा अंग्रेजले वा एक निग्रोले, एक बालक वा एक बृद्धले, अघाएकाले वा भोकाएकोले........वा यस्तै भिन्न लिंग, रंग, उमेर, बर्ण वा स्थिति वा प्रार्थना अनुरुपनै “ईश्वर” को स्वरूप प्रकट हुने थियो होला ।
तर जीवन रक्षाको लागि प्रतिक्षण सङ्घर्ष गर्नुपर्ने र प्रतिक्षण “सु-संयोग” को कामना गर्नुपर्ने त्यो प्राचीन युगका मनुष्यहरूको परिकल्पनामा शारीरिक रुपले भयंकर आकृति वाला, थुप्रै हात र हरेक हातमा बिभिन्न प्रकारका हतियार र आयुधहरुले सुसज्जित पुरुष र यदाकदा स्त्री-रुप “ईश्वर” को कल्पना गर्नु अनौठो थिएन । तर कतैपनि धेरै खुट्टा वा चारपाऊ युक्त र नपुंसक लिंगी “सर्वशक्तिमान ईश्वर” को कल्पना गरिएको भने भेटिन्न ।
भर्खरै मात्र चारपाऊबाट दुईपाऊमा उभिन समर्थ भै अरु प्राणीहरु उपर श्रेष्ठता कायम गर्न सफल मानव जातिले त्यस्तो ईश्वरको कल्पना पनि किन गर्थ्यो होला र ? उतिबेला जसरी पनि अरुभन्दा शक्तिवान् हुने प्रयत्न बाहेकको विकल्प नदेखेको मानव मष्तिष्कमा उब्जिएको त्यहि अदृश्य शक्तिको कामनाले नै “ईश्वर” को अबधारणाको उदय गरायो भन्दा अत्युक्ति कसरी होला र ? मानव सभ्यतामा आएको परिष्कार संगै “ईश्वरीय आकार” को परिकल्पना पनि परिमार्जित हुँदै गएको हुनुपर्छ ।
अन्तत: साकाररूप ईश्वरको कल्पनालाई निरर्थक जानेर होला अहिले पनि कतिपय धर्मगुरुहरु निराकार “तेजोमय स्वरुप ईश्वर” को सत्ताको महिमा बर्णन गर्दछन् । अहिले पनि ब्रह्मकुमारी पन्थका माताहरु, कृष्णप्रणामी र अन्य थुप्रै धार्मिकपन्थका सन्त सद्गुरुहरुको प्रवचनमा तिनै तेजोमय शिव स्वरुप “ईश्वर”को निराकार स्वरुपको ब्याख्या सुन्न पाईन्छ ।
भगवानको जन्म:
अधिकांश हिन्दुग्रंथहरुमा मानव सृष्टिको उदगम् “ब्रह्माजी” लाई मानिएको छ । भनिएको छ कि प्रारम्भमा ब्रह्माजीका मानसपुत्र “सनकादी ऋषि” हरुले सृष्टि रचनामा कुनै रुची देखाएनन् । अत: ब्रह्माजीले आफ्नो शरीरबाट “का” र “या” नामका दुई अंश उत्पन्न गरे । उक्त दुई अंशबाट सृष्टि कालका आदि-मानव “स्वयम्भुव मनु” र आदि-माता “शतरुपा” को जन्म भयो । तिनै आदि-मानव र आदि-माताबाट सम्पूर्ण मानव जातिको सृष्टि भयो ।
यहि बर्णनलाई मान्ने हो भने पनि यौनिक क्रिया बाहेक अन्य कुनै प्रक्रियाबाट मानवको जन्म भएको कुरालाई तथ्यसिद्ध कसरी मान्न सकिएला ? अर्कोतर्फ मानब बिकासको इतिहासलाई हेर्ने हो भने प्रारम्भमा “मातृसत्ता” को युग नै रहेको तथ्यलाई स्वयम् “देवी भागवत्” ग्रन्थले समेत स्वीकारेको पाईन्छ ।
तर एकातिर सम्पूर्ण सृष्टिको श्रोत “प्रकृति” नै हो पनि भन्ने तर अर्कोतर्फ “ब्रह्मा” अर्थात् “पुरुष” लाई परमपिता मानेर सृष्टिको व्याख्यागर्ने हिन्दु धर्मग्रन्थकारहरुको सोच आफैमा विरोधाभासपूर्ण देखिन्छ । यसरी हिन्दु ग्रन्थकारहरु आफैमा पनि पितृसतात्मक र मातृसत्तात्मक सोचको विभाजनमा रहेको प्रष्ट हुन्छ ।
मनुष्य सभ्यताको प्राचीनतम इतिहासलाई नियाल्दा मातृसत्ता नै प्रारम्भिक व्यवस्था थियो भन्ने कुरामा सबै इतिहासकारहरु एकमत रहेको देखिन्छ । माताहरुनै सर्वशक्तिमान हुने त्यो युगमा सन्तानहरु पनि माताकै नाम-गोत्रबाट चिनिन्थे । मातृसत्ताको त्यो समयमा पनि शक्तिपुजा हुनेगरेको थियो भन्ने कुराको बर्णन हिन्दुग्रन्थहरुमा मात्रै नभई सबैजसो प्राचीन धार्मिक ग्रन्थहरुमा शक्तिको नाउँमा मातृशक्तिको पुजा हुने गरेको बर्णन यथेष्ट भेटिन्छन् ।
बैदिक वा हिन्दु परम्परामा पनि अजिमा वा आदिमाता वा अष्टमातृका र नव-दुर्गाको पुजा गर्ने प्रचलन अध्यापी रहेकै छ । उपरोक्त तथ्यहरुमा ध्यान पुर्याउने हो भने मनुष्यले प्रारम्भमा “ईश्वर” को रुपमा निराकार ईश्वर र “मातृशक्ति” को पुजा गरेको देखिन्छ । मातृसत्ताको संरक्षण गर्न गणमाताद्वारा बलशाली पुरुषहरुको जमात तैयार गर्ने गरिन्थ्यो । उक्त जमातले संकटका समयमा समुह वा गणलाई बाह्य आक्रमण र आन्तरिक संकटबाट जोगाउने दायित्व बहन गर्दथे ।
“माता” अर्थात् “स्त्री” शक्तिको “भग” अर्थात् “योनी” बाट जन्मिएको भन्ने अर्थमा गणका अति बलशाली योद्धा पुरुष “भगवान्” को रुपमा र त्यस्ता बलशाली र सामर्थ्यवान पुरुषलाई जन्मदिने माता “भगवती” को रुपमा पुजित र प्रशंशित हुने परम्परा चल्यो । अन्य कबिला समूह वा गणहरुबाट निरन्तर आक्रमण भईरहने त्यो युगमा बलिष्ठ शरीर र युद्धकौशल र युद्ध क्षमताको विशिष्टता भएका योद्धाको स्थान कति महत्वपूर्ण थियो होला भन्ने अनुमान लगाउन कठिन पनि छैन ।
सामुहिक बसोबास र सामुहिक उपभोगको त्यो समयमा त्यस्ता बलिष्ठ पुरुषहरुको धन वा “पुंजी” उपरको एकल स्वामित्व स्थापित भैसकेको थिएन, त्यसैले राज्यको उत्पत्ति पनि भएको थिएन । अतस्बाहुबली पुरुषहरुले नै कबिला समूह वा गणहरुलाई बाह्य आक्रमणबाट जोगाउने कार्य गर्दथे ।
युद्ध गर्ने शक्तिलाई नै राज्यको उत्पत्ति, बिस्तार र संरक्षणको मुख्य श्रोत मानिने त्यो युगमा शक्तिपूजाको महत्व र प्रभावमा भएको बिस्तार सँगै पुरुष शक्तिले पुंजी उपरको स्वामित्व स्थापना गर्न सफल भएसँगै क्रमश: मातृसत्ताको अवसान र पितृसत्ताको उदय क्रमशः शुरुभएको देखिन्छ । यसैसँग “भगवान्” शब्दको व्यापक उपयोग शुरुभयो । जसमध्ये “ब्रह्मा, विष्णु र महेश” प्रमुख शक्तिशाली भगवानहरु थिए । तसर्थ ब्रह्मा, विष्णु र महेश तीनैजना “भगवान” कहलिए ।
उतिबेला पिताको नामको प्रश्न उठ्ने परम्परा नै थिएन, अत: यी पितृसत्तात्मक युगमा आएर “अजन्मा” कहलिए । देवी भागवतमा माता भगवतीले ब्रह्मा, विष्णु र महेश तीनैजनालाई विमानमा राखेर अर्को लोकमा पुर्याएको र ती लोकमा पनि उस्तै “ब्रह्मा, विष्णु र महेश” रहेको प्रसंगले पनि यो कुरालाई पुष्टि मिल्छ । भगवान् शब्दको उपयोगको सम्बन्ध मुलत: मातृसत्ता सँगै रहेको थियो भन्ने कुरा त भगवान् गणेश र कार्तिकेय कुमारको सम्बन्धमा तिनका माताको नाम नै महत्वका साथ जोडिएर आज पर्यन्त उच्चारण हुँदै आएबाट पनि पुष्टि हुन्छ ।
आजभोली विद्वानहरुद्वारा “भगवान्” शब्दको अनेकन अर्थमा व्याख्या गर्नमा व्यस्त र पारङ्गत भएका छन् । तर जे सुकै भनीए पनि “आमा” शब्द भन्दा पहिले “आमाको महिमा” को व्युत्पत्ति भएको त पक्कै होइन ।
प्राचीन “गण” हरु बिच एकातिर बाह्य शक्तिसंघर्ष र अर्कोतिर मातृसत्ता र पितृसत्ता बिच पनि आन्तरिक शक्तिसंघर्ष चलिरहेको त्यो समयमा सु-संयोगलाई नै अदृश्य शक्तिको रुपमा कल्पना गरिनु वा त्यस्तो “सु-संयोग” को कामना गरिनु अनौठो पक्कै पनि थिएन । यसर्थ मातृसत्ताको युगको समाप्ती र पितृसत्ताको शुरुआत बिचको संक्रमणको समयमा नै ब्रह्मा, विष्णु र शिवको उदय भएको हुनुपर्छ।
यसको प्रथम तर्क त के हो भने यी तीनै जनालाई “भगवान” शब्दको प्रयोग गरिन्छ र दोश्रो तर्क के हो भने यी “अजन्मा” हुन् भनेर धर्मग्रन्थमा स्तुतिगान गरिएको छ । यिनै भगवानहरुको स्तुति परम्परा सँगै प्रारम्भमा शक्ति आर्जनका लागि छुट्टा-छुट्टै “पाठशाला” हरुको परम्परा बिकसित भएको र तिनै “पाठशाला” हरु नै कालान्तरमा “बिचार पाठशाला” हुँदै सुविचारित “धम्म” को रुपमा परिष्कृत मात्र भएन बरु “धर्म” परम्पराको उदयको श्रोत बन्न पुगे ।
हिन्दुग्रन्थहरु, बिभिन्न पुराण र श्री स्वस्थानी ब्रतकथामा समेत यिनै तीनवटा पाठशालाहरु बिचको द्वन्दको वर्णन प्रष्टै सँग खुट्याउन कठिन पनि छैन । पौरुश्य सोचले सिर्जित हिन्दुग्रन्थहरुले अन्तत: ती सबैलाई पितृसत्तात्मक सोच सहितको अवतारबादमा लगेर बिसर्जन गरिदिएको देखिन्छ । जसलाई पछिल्लो कालखण्डमा बहुप्रचारित “भक्ति धारा” ले मजबुत पार्ने मार्ग प्रशस्त गरिदियो।
...................इति..................