काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधिग्रहण गरिएको बालुवाटारको ललिता निवासभित्रको सरकारी जग्गा गैरकानुनी तरिकाले दर्ता गरी हिनामिना गरेको भन्दै सरकारी कर्मचारीलगायत विभिन्न व्यक्तिमाथि मुद्दा चलाएको छ ।
यो प्रकरणको अहिलेको मुख्य मुद्दा सुवर्णशमशेर राणा र कञ्चनशमशेर राणा दुई दाजुभाइको भागमा रहेको १ सय १४ रोपनी जग्गा जफत हो कि अधिग्रहण हो भन्ने रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
जफत कि अधिग्रहण भन्ने बारेमा पक्ष–विपक्षले प्रमाण जुटाउन थालेका छन् । वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवका अनुसार सरकार पक्षको भनाइ अधिग्रहण गरी मुआब्जा दिएको जग्गा फेरि व्यक्तिको नाममा ल्याएर किनबेच भयो भन्ने छ भने राणा पक्षको भनाइ जफत भएको जग्गा फिर्ता गरेर किनबेच भएको हो भन्ने छ । यदि जफत भएको जग्गा फिर्ता लिएको भन्ने प्रमाणित भए यो मुद्दा नै टुंगिन्छ ।
पछिल्लो समय ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री, मन्त्री, सरकारका उच्च ओहोदाका व्यक्ति समेतलाई जग्गा हिनामिनासम्बन्धी मुद्दा चलेपछि उक्त जग्गा जफत हो कि अधिग्रहण हो भन्ने बारेमा प्रमाणहरूको खोजी हुन थालेको छ ।
विसं १९८८ मा श्री ३ भीम शमशेरबाट लालमोहोर भएबमोजिम विभिन्न व्यक्तिका, राजगुठी र दुनियाँ गुठी, विर्ता, पोतालगतबाट करिब २ सय ८४ रोपनी जग्गा खरिद गरी चार किल्ला उल्लेख गरी ललिता निवास बनाएका थिए । त्यसपछि भीम शमशेरका छोरा हिरण्य शमशेर राणाले यो जग्गा भोगचलन गर्दै आएका थिए ।
उनको मृत्यु पश्चात् छोरा सुवर्ण शमशेर राणाले २०१६ सालमा विर्ता उन्मूलन भएसँगै सबै जग्गा रैकरमा परिणत गर्दा हालको नम्बर ४८६ कायम भएको थियो । २ सय ८४ रोपनी जग्गा हालसाविक गर्दा बढेर २ सय ८७ रोपनी कायम भएको थियो ।
अभिलेखअनुसार यो जग्गा सुवर्ण शमशेरले आफ्ना श्रीमती र अन्य छोराहरूलाई अंशवण्डा गरी दिई बाँकी जग्गा आफ्नो नाममा राखेका थिए । उनले दुई छोरा र एक श्रीमतीको भागमा ५८-५८ रोपनीका दरले भागवण्डा गरी बाकी जग्गा १ सय १४ रोपनी आफ्नो र भाइ कञ्चन शमशेर राणाको नाममा राखेका थिए ।
आफ्ना छोरा र श्रीमतीलाई जग्गा भागवण्डा गरी बाँकी जग्गा आफ्नो र भाइको नाममा राख्दा सुवर्ण शमशेर राणा नेपाली कांग्रेसका संस्थापक नेताका साथै बीपी कोइरालाको मन्त्रिपरिषद्का उपप्रधान एवं अर्थमन्त्री थिए ।