काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनक सायदै कांग्रेस नजान्नेहरुका लागि पनि थप अध्ययनको विषय बनेको छ ।
सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्ण प्रसाद भट्टराई र आधुनिक प्रजातन्त्रका नेता गिरिजा प्रसाद कोइरालाको नाम सुनेपनि पछिल्लो पुस्ताले राजनीतिक साक्षात्कार गर्ने अवसर भने पाएन । कांग्रेस कस्तो छ त भन्दा रिसाएर उत्तर दिने सभापति शेर बहादुर देउवा छन्, जो ज्योतिषिको भविष्यवाणी पर्खेर बस्छन् तर देश बनाउने सवालमा कुनै चासो छैन, यो आरोप पछिल्लो युवा पुस्ताको हो ।
एकातिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसले पछिल्लो आधा दर्जन वर्ष एकछत्र शासन गरिरहेका छन् । युवा माझ 'केपी बा', वयष्क माझ 'भत्ता दिने प्यारा नेता' त प्रौढ माझ 'राष्ट्रवादी नेता' आदि, ईत्यादिले उनको लोकप्रियता झनै बढ्दै गएको देखिएको छ ।
२०७४ सालतिर अवस्था यस्तो थियो की ओली बोलेपछि कुनै पनि कांग्रेस नेताले प्रतिवाद समेत गर्ने सामर्थ्य गुमाएका जस्ता देखिन्थे । संसदीय भुमिकामा छिटपुट रुपमा सांसद गगन कुमार थापा बोले पनि पार्टीको मुखपत्र भएर बोल्ने नेताको अभाव देखिन्थ्यो ।
पार्टीमा एक से एक नेता भएता पनि सो कुराको अभाव महशुस गरेर नेता विश्व प्रकाश शर्मा जिल्लाबाटै कांग्रेसका धारणा राख्न थाले । देशै कम्युनिष्टमय देखिएका बेला पार्टीका लागि मोफसलबाटै बोल्ने नेता हुन् शर्मा । जुन पछि गएर शेर वहादुर देउवालाई समेत मन नपर्ने कुरै भएन ।
स्थानिय एवं संसदीय चुनावमा लज्जास्पद पराजय बेहोरे पश्चात रुझेको मुसो जस्तो हालतमा देउवा रहेका थिए । सहकर्मी लगायत चारैतिरको आक्रमणको पेलाइले देउवालाई परेको सकस ठम्याउन कुनै कठिनाई थिएन । वरिष्ठ नेताको जम्बो टिम कांग्रेसमा नभएको होइन तर सबैको हालत उही नै थियो ।
"तर शर्माको यहि निडरपन, शालिन, इमान्दारिता, प्रष्टबक्ता, विचारशिल जुझारु युवा देखेर पार्टी प्रबक्तामा पत्याएका देउवाले आज महामन्त्रीमा नपत्याउनु दुःखद अवस्था हो", निकै जोशिलो अनुहारमा देखिएका उनका समर्थकहरुको भनाई छ । त्यतिमात्र हैन कांग्रेस पार्टीको संजिवनीको रुपमा उदाएका शर्मालाई अर्का नेता शेखर कोईरालाले समेत समेट्न नचाहनु दुर्भाग्य नै हो भन्दा अतिशोयक्ति नहोला ।
"राजाको शासनकालमा कफन बाँधेर मैदानमा लडेका नेकपा एमालेका युवा विद्यार्थी नेता ठाकुर गैरेलाई महाधिवेशन प्रतिनिधिले विना प्यानल एक पटक र अहिले पनि भारि मत दिएर निर्वाचित गरे जस्तै विश्व प्रकाश शर्मालाई पनि महामन्त्रीमा जिताएरै छाड्ने छन्", भृकुटीमण्डव मतदानस्थलमा आफ्नो परिचयपत्र लुकाउँदै महाधिवेशन प्रतिनिधिले भनेका छन् ।
त्यसो त नेता कृष्ण प्रसाद सिटौलाबाट सँधै पछाडि पारिएका नेता हुन् विश्व प्रकाश शर्मा भनेर आरोप लगाउने प्रतिनिधिहरु पनि महाधिवेशन स्थलमा प्रशस्तै देखिए ।
जे होस्, पार्टी जिम्मेवारीमा रहेर पछिल्लो ४ वर्ष कांग्रेस पार्टीका लागि विशिष्ट अंक ल्याएका शर्माले मतदाता प्रतिनिधिमाझ परिक्षित हुन चाहेका छन् ।