यस्तो छ सुविधा सम्पन्न प्रधानमन्त्री निवास

यस्तो छ सुविधा सम्पन्न प्रधानमन्त्री निवास

२०७८, मंसिर २७ सोमवार

  • 1.5K
    SHARES

  • यस्तो छ सुविधा सम्पन्न प्रधानमन्त्री निवास

    काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुँदैछ ।

    बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएका छन् । एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो । निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवन निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।  

    विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा निर्माण भइरहेको दुईवटा भवनमध्ये प्रधानमन्त्रीको निजी निवास भवनको निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।  

    वास्तु पूजा भइसकेपछि प्रधानमन्त्री नयाँ भवनमा सर्ने कार्यक्रम रहेको छ । सार्वजनिक भवनको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । सो भवन चालू आर्थिक वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    दुवै भवन तीन-तीन तलाका छन् भने दुईवटै भवनमा लिफ्ट प्रणाली जडान गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको अहिलेको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पुर्याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले नयाँ भवन निर्माण गर्नुपरेको बताइएको छ । एक रोपनी क्षेत्रफलमा फैलिएको सो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा युनिट निर्माण गरिएका छन् ।

    पहिलो तलामा मुुख्य शयन कक्ष, परिवारका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कक्ष, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनीसहित १५ युनिट निर्माण गरिएका छन् । दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीनवटा शयन कक्ष, उहाँहरूको सुरक्षाकर्मीका लागि कक्ष, पाहुनाका सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबिसहित ११ युनिट निर्माण गरिएका छन् ।

    २०७८, मंसिर २७ सोमवार०८:४८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार